केटीको चक्करमा चुर्लुम्मै डुबे कमरेड
प्रेम र प्रणयको त्यस्तो अवैध श्रृंखला, जसले एउटा शक्तिशाली देशको महत्वपूर्ण ओहोदामा रहेको मानिसलाई सर्वोच्च शिखरबाट एकैचोटि पातालमा पुर्याइदिन्छ । हाम्रै देशको उत्तरी छिमेकी मुलुक चीनमा अघिल्लो हप्ता यस्तो भएको हो ।
समाचारमा त हामीले सुन्यौं–पढ्यौं कि, चिनियाँ विदेशमन्त्री छिन गाङ पदबाट अपदस्थ भए, उनको ठाउँमा अघिल्ला विदेशमन्त्री वाङ यी फर्किए । यस्तो किन भयो ? यसबारे धेरै मानिस जानकार छैनन् । कारण हो, पदीय गरिमालाई बिर्सिएर विवाहेत्तर सम्बन्ध कायम राख्नु र राष्ट्रप्रमुखबाट गरिएको अति विश्वासमाथि अकल्पनीय घात गरिनु !
चीनको केन्द्रीय सरकारमा आठ जना सहायक विदेश मन्त्री हुन्छन् । पुनर्नियुक्त मन्त्री वाङ यी तिनै व्यक्ति हुन्, जसलाई सहायक मन्त्रीबाट ‘स्टेट काउन्सिलर’, अर्थात् उपप्रधानमन्त्री तहमा उक्लिन १० वर्ष लाग्यो । अहिले विश्वास र चरित्रमा एउटा मान्छेले घात गरिदिँदा उनी फेरि विदेशमन्त्री भएका छन् । अपदस्थ मन्त्री छिन गाङ तिनै व्यक्ति हुन्, जो अमेरिकाका लागि चिनियाँ राजदूत रहँदारहँदै ७ महिनाअगाडि दुई वर्षमै तानिएर विदेश मन्त्रीका रुपमा बेइजिङमा रहन थाले । मात्रै मन्त्री बनाइएन, एकैचोटि पार्टीको केन्द्रीय सदस्य र उपप्रधानमन्त्री दर्जाको ‘स्टेट काउन्सिलर’ सम्मको दर्जा दिइयो । अहिले तिनै व्यक्ति केटी काण्डमा परेर सम्पूर्ण दर्जाबाट बर्खास्त भएका छन्, नजरबन्दमा राखिएका छन् ।
राष्ट्रपति सि चिनफिङलाई उनको वाकपटुता र कार्यक्षमताप्रति भरोसा थियो । नत्र, चीनको कम्युनिष्ट पार्टीमा कोही मान्छे एकैचोटि स्टेट काउन्सिलर र पार्टी केन्द्रीय सदस्य हुनु चानचुने कुरा हैन । विश्वास, क्षमता र समर्पण नै त्यसको आधार मानिन्छ । जब विश्वासको पहाडबाट कोही मान्छे पातालमा झर्छ भने उसको हविगत कस्तो हुन्छ भन्ने कुराको एउटा उदाहरण बनेका छन्, छिन गाङ । यस्तो हुनुमा राष्ट्रपति सिलाई कुन कुरामा रिस उठ्यो होला ? चीनमा चरित्र, इमान, अनुशासन भन्ने विषयलाई कडिकडाउसाथ लागू गरिएको छ । त्यसमा विश्वासघात हुँदा सिले शून्य सहनशीलता अपनाउनुभएको बुझ्न गाह्रो छैन ।
केटी काण्ड, अर्थात् विवाहेत्तर सम्बन्धको मामिला भने यस्तो छ– हङकङमा मुख्यालय रहेको फोनिक्स टेलिभिजनकी वासिङ्गटन डिसीस्थित ४० वर्षीया संवाददाता फु स्याओतियानको तर्फबाट छोराको जन्म भयो । सन् २०२३ मार्च १८ मा आफ्नो छोरालाई उनले आइफोनबाट सामाजिक सञ्जालमा लेखिन् ‘लभ !’ अगाडि लेखिएको थियो, ‘ Dad went to his mission, so busy that didnt even have time for this Birthday. can only wish Dad happy Birthday.' अर्थात्, ‘तिम्रो बुबा आफ्नो काममा अति व्यस्त । आफ्नै जन्मदिन मनाउने फुर्सद छैन । हामी उहाँलाई शुभकामना मात्र भन्न सक्छौं ।’ उक्त लेखाइप्रति १ सय ३९ के, अर्थात् १ लाख ३९ हजार प्रयोगकर्ताको नजर परेको थियो । उक्त लेखाईमा नाबालकका बाबु को हुन् ? खुलाइएको छैन ।
फुले पटक–पटक छिनको अन्तर्वार्ता लिएकी थिइन्, वासिङ्गटन डिसीमा । त्यसपछि अमेरिकी संसद र राष्ट्रपति भवनलाई पृष्ठभूमिमा पारेर सँगै फोटो खिचाएको पनि क्रमशः फेला पर्न थाल्यो । यो काम उनै फुले गरिन् । छिनको आफ्नै परिवार, बालबच्चा छन् । यति हुँदा पनि फुसँगको विवाहेत्तर सम्बन्धबाट गत वर्ष नै छोराको जन्म भयो । संयोगको कुरा, एकदिनअघि बच्चाको जन्म भयो, भोलिपल्ट छिनको जन्मदिन थियो । यो कुरा फुले गत चैतदेखि सामाजिक सञ्जालबाट सार्वजनिक गरिन् । त्यसपछि दुर्भाग्यका दिनहरू शुरु भए । गल्ती गर्नेले सबुतहरू छोड्दै जान्छ भनेझैं ह्वाइट हाउसलाई पृष्ठभूमिमा पारेर लिइएको अन्तर्वार्तालाई फुले आफ्नो टेलिभिजन प्रस्तुतिको प्रवद्र्धनका रुपमा प्रयोग गरिन् । छिङले आफ्नो ट्वीटर अकाउण्टको पृष्ठभूमि तस्वीरका रुपमा पनि सोही दृश्य राखे ।
मार्च १९ का दिन त गर्नुसम्म गरिन् । उनले वेइबो नामक चिनियाँ सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना कसैप्रति समर्पित भएर लेखिन् । ‘आज र सधैं हरेक वर्षका लागि तिम्रा आँखाहरूमा उज्यालोपना आओस् । तिमी वरिपरि प्रेम मात्र छाइरहोस् । परिवारसँग पुनर्मिलन होस् ।’ उनले छिन ‘एउटा विशेष अभियानमा जाने’ भन्दै अर्को स्ट्याटस लेखिन् । अर्कोमा लेखिन्, ‘पदोन्नती र भविष्यका लागि सुखद् कुरा ।’ अर्थात्, कोही मान्छेको त्यति ठूलो र आकस्मिक पदोन्नतीमा उनी हर्षित थिइन् । फुले किन यस्तो लेखिन् ? अनुसन्धान शुरु भयो । एक महिनासम्म हिरासतमा राखी दुबैसँग बयान लिइयो । अन्ततः छिन बर्खास्तीमा परे ।
कोभिड महामारीबीच सन् २०२१ जलाई २८ का दिन राजदूतका रुपमा अमेरिका पुगे । २०२२ जनवरी २० मा फु गर्भवती भइन् । मार्च २१ मा छिनसँग अन्तर्वार्ता लिइन् । नोभेम्बर २३ मा बच्चाको जन्म भयो । डिसेम्बर २० मा छिन विदेश मन्त्री नियुक्त भए । २०२३ मार्च १२ मा फुले छोराको फोटो सार्वजनिक गरिन् र लेखिन्, महान विजय भएको शैलीमा । त्यही दिन छिङ स्टेट काउन्सिलर, अर्थात् उपप्रधानमन्त्री दर्जामा नियुक्त भए । २०२३ अप्रिल २१ मा फु र उनका छोराले लस एञ्जलस छोडे ।
एउटा जहाजमा चढे । त्यसपछि गायव भइन् । जुन २५ देखि छिन पनि सम्पर्क बिहीन भए । अर्को पनि अनुसन्धान भइरहेको छ कि, फु अमेरिका वा कुनै विदेशी एजेन्सीका निम्ति सुराकीको काम त गरिरहेकी छैनन् ? अचम्म के भयो भने, सन् २०१६ मा बेलायतको क्याम्ब्रिज युनिभर्सिटीले विन्स्टन कलेजको कम्पाउण्डभित्रै एउटा ठूलो बगैंचा बनाइदिएको थियो, ३३ वर्षकी फुको नाममा । भव्य उद्घाटन भयो । अहिले प्रश्न उठिरहेको छ– आखिर किन उनलाई बेलायतमा यति धेरै महत्व दिइयो ? उनले सोही कलेजबाट सन् २००८ मा स्नातकोत्तर उपाधी हासिल गरेकी थिइन् । त्यसको आठ वर्षपछि कलेजले बगैंचा बनाइदियो । बेलायत जस्तो देशमा बगैंचा बनाउन लाखौं पाउण्ड खर्च गर्न सक्ने, चन्दा दिने हैसियत उनले कसरी बनाइन् ? यी सन्दर्भ अनुसन्धानकै क्रममा छन् ।
टिप्पणीहरू