सुनकाण्डले उठाएका थप सवाल
सुन तस्करीमा भन्सारको ज्यादती कतिसम्म थियो भन्ने कुरा अनुसन्धानका क्रममा धमाधम फेला पर्न थालेका छन् ।
सुन ल्याउँदा विमानस्थलस्थित एक्सरे मेसिनमा देखियो, छेउमा नीलो । त्यो फलाम थियो । भित्र, अर्थात् बीचमा देखिनेचाहिँ कालो सुन हो । अर्थात्, त्यो सुन हो भन्ने कुरा देख्दादेख्दै छोडियो । तस्करीमा भन्सार कर्मचारीको प्रत्यक्ष मिलेमतो थियो भन्ने कुराको ठूलो प्रमाण हो यो । अर्को तथ्य हेरौं, पाँच सय डलरमा ती सबै सामान आएको भनियो ।
कुनै पनि सामानको स्याम्पल (नमुना) सामान आउँदा भाडा पनि लागत मूल्यभित्रै जोडिएको हुन्छ । तस्करीमार्फत ती सुन स्याम्पलका रुपमा भित्रिएको छ । पाँच सय डलरभन्दा माथिको सामान भयो भने टिटी वा एलसी खोल्नुपर्छ । पाँच सयभन्दा मुनिको सामान हुँदा कम्पनीले निःशुल्क भनी कच्चापदार्थ पनि पठाएको हुन्छ । भन्सारले पाँच सय डलरसम्मको सामानका हकमा टिटी, एलसी खोज्दैन । जबकि अन्तिमपटक आएको १ सय ५० केजी ब्रेकसुको भाडामात्रै करिव ३ सय डलर देखाइएको छ ।
जब भाडा नै ३ सय डलर हुने भएपछि त्यत्रो ब्रेकसु डेढ सय डलरमा कसरी आउँछ ? भन्सारको मूल्यांकन अधिकृत आफैंले ५ सय डलरभन्दा कमको सामान हो भनेर प्रमाणिकरण गर्नुपर्छ । तर, यसचोटि हरेक पटक सामान नहेरिकन प्रमाणीकरण गरिएको छ । र, तेस्रो प्रमाण हो, यत्रो सामान ल्याउने कम्पनी भ्याटमा दर्ता छैन । भनिन्छ, ‘सीधै ताण्डव नृत्य मच्चाउने शैलीमा काम भएको छ ।’ यही तरिकाबाट कहिले ब्रेकसुभित्र, कहिले दाह्री काट्ने मेसिनमा, कहिले पानी तान्ने मोटरभित्र हालेर यसअघि २९ पटक सुन आएको रेकर्डमा देखिएको छ । राजस्व अनुसन्धानले भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सुराकीलाई राम्रोसँग सोधखोज गर्ने हो भने सबै कुरा त्यहीँबाट खुल्ने अवस्था छ ।
उक्त सुन यदि सुराकीबाट समातिएको हो भने सुराक दिने मान्छेलाई पनि केही न केही पक्कै थाहा हुनुपर्छ । किनभने, सुराकी दिने मान्छे कमिशन लिन त पक्कै आउँछ । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङेले भनेजस्तो सय केजी सामानमा कसैले दुई केजी आफ्नो हाल्यो भने त्यो दुई मान्छे पनि कारोबारमा साझेदार हुन्छ । ऊ आफैं त्यसमा संलग्न भएपछि सबै कुरा थाहा हुने नै भयो । उसले आफ्नो दुई केजी सामान माया मारेर सुराकी दियो भने १० प्रतिशतका दरले पाँच केजीभन्दा बढीको पैसा त कमिशनबापत नै पाउँछ ।
टिप्पणीहरू