दावाको नागरिकता काण्ड प्रहरीले कसरी दबायो ?
राजनीतिक पहुँचका आधारमा अनुसन्धान भएर पनि कारवाहीमा नपरेका दावा छिरिङ भनिने बेल्जियन पासपोर्टधारी चिनियाँ नागरिक निमा तामाङमाथि जिल्ला प्रशासन कार्यालय काभ्रेमार्फत एक वर्षअघि नै अनुसन्धान सकिएको थियो ।
२०७९ असार २९ गते सिडिओ कार्यालयले नमोबुद्ध नगरपालिकालाई पत्र पठाउँदै उनका नाममा जारी भएको नागरिकताका आधारमा तीनपुस्ते विवरण खुलाई पठाउन निर्देशन दिएको थियो । नमोबुद्ध नगरपालिकाले २०७९ साउन १६ गते वडा नम्बर ११ लाई पत्र लेख्दै विवरण माग गर्यो । वडाले साउन १७ गते निमा तामाङ भन्ने ब्यक्ति त्यहाँ नभएको तथा जन्म दर्ता, सिफारिस र नागरिकतामा उल्लेखित निमा र बाबु कायम गरिएका पेमा तामाङसमेत नरहेको ब्यहोरा अवगत गरायो । सिआइबीको टोली पनि छानबिनका लागि नमोबुद्ध ११ पुगेको थियो । त्यतिबेला शुरु भएको छानबिनलाई बीचैमा ढिसमिस पारियो ।
नागरिकता कसरी दिइयो ? वडाको सिफारिसबिना अनुसूची कसरी भरियो ? वा अनुसूची नै भरिएन ? नागरिकता वितरण गर्ने क्रममा जुटाइएका कागजात पनि मेटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा कुनै रेकर्ड छैन । छ त गृह मन्त्रालयको सफ्टवेयरमा भएको विवरण मात्रै । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट मात्रै यस्ता अवैध २ सयभन्दा धेरै नागरिकता वितरण भएको श्रोतले बतायो ।
तत्कालीन प्रजिअ हुमकला पाण्डेले नागरिकता वितरणमा कडाइ गर्नुभयो । उहाँकै कार्यकालमा १७ वटा मुद्दा दर्ता गर्दै नागरिकता खारेज गरियो । पुण्यविक्रम पौडेलको कार्यकालमा यस्ता ११ वटा मुद्दा दर्ता भएका छन् । ६ महिनाको अवधिमा यो उल्लेख्य हो । तत्कालीन समयका केही कर्मचारीलाई हुमकला पाण्डेले निलम्बन र सरुवा गरिसक्नुभएको थियो ।
मुद्दा शाखामा रहेका चिरञ्जीवी पोखरेललाई धरौटी रकम गोजीमा राखेको, सेवाग्राहीसँग धेरै असुलेर धरौटी थोरै राखेको तथ्य फेला परेसँगै कारबाही गरिएको थियो । करारका कर्मचारी त्यतिबेला बर्खास्त भएका थिए । ललिता निवास प्रकरणमा पक्राउ परेका तत्कालीन प्रजिअ सुधीरकुमार शाहको कार्यकालमा भने नागरिकता सम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको पाइन्छ । शिवराम पोखरेलको पालामा एउटा मुद्दा दर्ता हुँदा पछिल्लो एक वर्षमा मात्रै २३ वटा मुद्दा परेका छन् ।
नागरिकता किनेर तस्करी
एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतियन नागरिक दावा छिरिङले काभ्रेबाट २०७४ पुस २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकता बारे ‘एक वर्षअघि सिआइबी अनुसन्धान गर्न आएको थियो । तीनपुस्ते विवरण र निमालाई पनि खोजविन गरेको थियो’– तत्कालीन वडाध्यक्ष कृष्णबहादुर लामाले भन्नुभयो–‘वडाबाट निमा तामाङलाई नागरिकता बनाउन सिफारिस नै नगरिएकाले विवरण फेला पर्ने कुरै भएन ।’ २०७९ साउन १७ गते वडा कार्यालयले नगरपालिकामार्फत सिआइबीलाई सबै विवरण खुलाएर पठाए ।
नागरिकता लिएको एक महिनामै उनले माघ ११ गते नेपाली राहदानी निकाले । नेपाली नागरिकता र राहदानीमा जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्छन् । बेल्जियमको राहदानीमा जन्ममिति २०४० चैत ३ गते राखिएको छ भने ठेगाना लिथाङ उल्लेख छ । लिथाङ तिब्बतमा पर्छ । नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म र बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ । उनको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ३०–१–७४–११८६८ रहेको छ । तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले नागरिकतामा हस्ताक्षर गरेका छन् ।
दावामार्फत नेपाल छिरेको चिनियाँ गिरोहले पछिल्लो समय ‘लोन एप’ मार्फत ऋणको जालोमा फसाएर अवैध असुली गर्दै आएको थियो । ०७८ साउनमा नेपाल प्रहरीले काठमाडौंको सिनामंगल र रूपन्देहीको तिलोत्तमामा छापा मारेर दावा समूहका चिनियाँ र नेपाली गरी १५ जनालाई समाती मुद्दा चलाएको थियो । त्यसबेला पनि प्रहरीले दावामाथि अनुसन्धान नै गरेन । ०७८ फागुनदेखि साउनसम्मको ६ महिनामा मात्रै प्रहरीले देशभर आधा दर्जन ठाउँमा छापा मारेको थियो । २०७६ पुसमा प्रहरीले काठमाडौंबाट १ सय २२ चिनियाँलाई अनलाइन जुवा, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू