करोडौं लगानी, हजारमा आम्दानी
करोडौं लगानी, लाख र हजारमा आम्दानी । बर्सेनि उही घाटाको व्यापार गर्न किन अग्रसर छन्, निर्माताहरू ? अनि घाटाको व्यापारका लागि हरेक वर्ष लगानी गर्न हिम्मत र साहसचाहिँ कहाँबाट आउँछ ?
अर्काेतिर कस्तो विरक्तलाग्दो स्थिति छ भने नेपालीभन्दा हिन्दी फिल्मकै बढी बर्चश्व । दक्षिणबाट ल्याइएका ७८ वटा सिनेमा प्रदर्शन हुँदा ५७ वटा मात्र स्वदेशी । विदेशी चलचित्रले ७९ करोड ४३ लाख ४ हजारको व्यापार गर्दा नेपाली सिनेमाको व्यापार ७६ करोड ७२ लाख ५७ हजार । त्यसमध्ये दीपक–दीपाको एउटै फिल्मको व्यापारको हिस्सा छ, १६ करोड ९४ लाख ३४ हजार ६ रूपैयाँ । अघिल्लो आर्थिक वर्ष छक्का पञ्जासहित आधा दर्जन बढी चलचित्रले मात्र आम्दानी गरेका छन् । चार दर्जन बढी सिनेमाका निर्माता डुबेका छन् । तैपनि घाटाको उद्योगका रूपमा परिचित सिनेमा नगरीमा लगानी गर्न किन होडबाजी चलिरहेको छ ?
स्थायी भनिएका निर्माता भागिरहेका छन्, चौधरी, खेतान समूहजस्ता व्यापारिक घरानासमेत टिक्न नसकेको यो क्षेत्रमा हचुवामा लगानी गर्छन् र डुबेर जानेहरू हरेक वर्ष बढ्दै छन् । चलचित्रमा करोडौं रोपिसकेका निर्माताहरू अन्त्यमा ‘हात लाग्यो शून्य’भन्दै छन् । फेरि पनि यो क्षेत्रमा दीपक मनांगे, प्रभुसमशेर राणाजस्ता व्यक्ति किन हरेक वर्ष लगानी गर्न तम्सिँदै छन्, कतै कालो धनलार्ई सेतो बनाउन लगानी गर्ने ठाउँ त बनिरहेको छैन, नेपाली सिनेमा क्षेत्र ? यो पेचिलो प्रश्नको विषय हो । नियामक निकायको खोइ यहाँ ध्यान पुगेको ?
०७९ साउनदेखि असार मसान्तसम्ममा ५७ वटा नेपाली सिनेमा रिलिज भएछन् । तीमध्ये केहीले पोष्टरको पैसा पनि उठाउन सकेनन् । करोडौं लगानी डुब्दा दर्जनौं निर्माता÷निर्देशक जोगी बनेर हिँड्नुपर्ने हो । तर, स्थिति त्यस्तो छैन, तिनै निर्माता बर्सेनि नयाँ–नयाँ फिल्म बनाउन तम्सिरहेछन्, कहाँबाट ओइरिरहेछ सिनेमा क्षेत्रमा लगानी ? चलचित्र विकास बोर्डको तथ्यांकअनुसार लाखौं लगानी गरेर बनाइएका केही फिल्मले तीन सयको टिकट बेच्न सकेका छन्, पचास लाखमा बनेका केही फिल्मले २ लाखसम्म उठाएको भेटिन्छ । चलचित्र विकास बोर्डले बक्स अफिस लागू गरेसँगै सिनेमा क्षेत्रमा ‘आलु खाएर पेडाको धाक लगाउने’को रुवावासी भएको छ । कसको हैसियत के भन्ने छर्लंग भएको छ ।
जस्तो : खड्का फिल्मसको ब्यानरमा निर्माण भएको ‘सिवानी’ ले जम्मा पाँच वटा टिकट बेचेर पाँच सय २० रूपैयाँ कमाएछ । चन्द्र पन्तले निर्माण गरेको ‘रण’ ले ४२ वटा टिकट बेचेर तीन हजार पाँच सय ९६ खुद आम्दानी गर्दा यस टु क्रियसनको ब्यानरमा सुनिल श्रेष्ठले निर्माण गरेको नरसिम्हाले ४९ टिकट बेचेर चार हजार आठ सय ३२ कमाएछ । आर सोनम मोक्तान र लंकामाया मोक्तानका अलावा करणबहादुर विष्टहरूको लगानीमा बनाइएको चोर र पुलिसले एक सय चार टिकट बेचेर १८ हजार सात सय २५ आर्जन गरेको विकास बोर्डले जानकारी दिएको छ । यस्तै खेमराज अधिकारी र रोजिता तामाङको लगानीमा बनेको सरी ममले २३ हजार सात सय ५२ लगानी उठाउँदा मौनता श्रेष्ठले बनाएको आँधी तुफानले २८ हजार चार सय मात्र कमाएको देखिन्छ ।
सुवर्ण थापाको लगानीमा बनेको म ले २ लाख ९० हजार आठ सय ४९ को आम्दानी गरेको देखिन्छ । साउनदेखि चैत्रभित्र प्रदर्शन भएकामध्ये कबड्डी–४ ले २१ करोड ३८ लाख १३ हजार चार सय ६२, दीपक दीपाको छक्का पञ्जा ४ ले १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४, ‘प्रेम गीत’ ले दुई करोड २७ लाख २९ हजार तीन सय ६७, महापुरुषले सात करोड ३८ लाख ९० हजार ६ सय ७० आर्जन गरेको विकास बोर्डले जनाएको छ । वर्षभरीमा सयौं चलचित्र बन्ने, तीमध्ये एकाधबाहेक अरूले लगानी नै उठाउन नसक्ने विरहलाग्दो स्थिति नेपाली सिने क्षेत्रमा देखिन्छ ।
एक जना चलचित्र निर्माताले जनआस्थालार्ई बताएअनुसार चलचित्रको ‘च’ समेत नबुझेका र मोजमस्तीका लागि सिनेमामा लगानी गर्न आउनेहरू फस्दै गएका छन् । उनका अनुसार ऋण लिएर सिनेमा बनाउने धन्दामा लागेका मधुसूदन सिलवाल प्रहरी खोरमा पुगे । उही र उस्तै बाटोबाट शिशिर राणा फन्दामा परे । यस्तो धन्दामा पुरुष निर्माता मात्र होइन, केहीअघि प्रज्ञा जोशीसमेत परिन् । लामो समयदेखि ढुकुटीमा सक्रिय जोशी जग्गा कारोबार गर्दा चेक बाउन्स भएपछि प्रहरीको हिरासतमा पुगेकी थिइन् । उस्तै अप्ठ्यारो झेल्दै छन् निर्माता सुवास थापा ।
टिप्पणीहरू