कमरेडहरूबीच जतासुकै कटाक्ष
कमरेड माओले पार्टी सञ्चालन सम्बन्धमा लेखेका थुप्रै महत्वपूर्ण लेखमध्ये अन्तरविरोध र व्यवहारबारे उत्कृष्ट मानिन्छन् । एक हिसाबले यसलाई सिद्धान्त र व्यवहारको तालमेल भन्दा पनि फरक पर्दैन ।
अध्यक्ष माओ कैयौं कमरेडको विरोध हुँदाहुँदै पनि सातौं महाधिवेशनको केसमा वाङ मिङलाई राख्न तयार हुनुहुन्थ्यो भने अर्कोतिर गलत तत्वलाई छुट दिनुहुन्न भन्दै फङ द ह्वाई जस्ता जर्नेललाई कठोर दण्ड दिन पनि पछि पर्नुहुन्नथ्यो । लुसान कन्फ्रेन्समा लिन प्याओपन्थीहरू एकदमै लुकेर अचानक हमला गर्न आएका थिए, त्यो बेला माओ भन्नुहुन्थ्यो, ‘लुसान सम्मेलनपछि मैले तीन तरिका प्रयोग गरेँ । पहिलो– ढुंगा हान्नु थियो, दोस्रो– माटोमा बालुवा मिसाउनु थियो र तेस्रो– पर्खालमा सुरुङ बिच्छ्याउनु थियो ।’ यसरी दुईलाइन संघर्षमा द्वन्द्ववादको प्रयोग गर्दा उहाँ कहिले निकै कडा, कहिले निकै नरम, कहिले बांगोटिंगो मोडको रफ्तारसँगै निकै बक्र र घुमाउरो पनि बन्ने गर्नुहुन्थ्यो । परन्तु, सिद्धान्त र कार्यदिशाको प्रश्नमा दृढ रहँदै भन्नुहुन्थ्यो– ‘कार्यदिशा र सिद्धान्तका प्रमुख प्रश्नमा मैले कुनै छुट दिइन ।’
कमरेड मोहन वैद्य ‘किरण’ले सिद्धान्त र संगठनात्मक प्रश्नमा देखा परेका नेपाली कम्युनिष्ट आन्दोलनका समस्याको समाधान गर्ने द्वन्द्ववादी तरिका के हुन सक्छ ? भन्ने विषयमा कतै चर्चा गर्नुभएको छैन । के यसप्रकारका समस्या यहाँ नभएको कारण उहाँले नउठाउनु भएको हो ? वा उठाउन नमिल्ने भएको कारणले ? यो कुरा स्पष्ट नभएको कारण यसको वारेमा पैदा भएको आशंकाको चित्तबुझ्दो जवाफ दिने जिम्मा उहाँलाई नै दिँदा उपयुक्त होला । तर ठोस रूपमा यति भनिन्छ कि माओकालीन चिनियाँ कम्युनिष्ट पार्र्टीका भन्दा अझै ठूला र जटिल समस्याहरूको चक्रव्यूहबाट यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन गुज्रिरहेको छ ।
कमरेड किरण हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाली कम्युनिष्ट आन्दोलनकै श्रद्धेय नेता पनि हुनुहुन्छ । यो हिसाबले नेपाली कम्युनिष्ट आन्दोलनभित्र देखापरेका समग्र सैद्धान्तिक, वैचारिक र दार्शनिक तथा संगठनात्मक समस्याको साथसाथै आफ्नै पार्टीभित्रका वैचारिक, राजनीतिक तथा संगठनात्मक समस्याबारे प्रष्ट ढंगले बोल्न सक्नुपर्छ । पार्टीभित्र देखापरेका दर्शनका समस्या, सिद्धान्त र विचारसँग जोडिएका समस्या, कार्यदिशा र कार्यक्रमका समस्या तथा नेतृत्व र संगठनात्मक प्रणालीको क्षेत्रमा देखिएका समस्याको बारेमा उहाँको स्पष्ट धारणा के हो ? यस विषयमा बोल्नुपर्दैन ?
नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता सम्पन्न भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बनाउने नाममा उहाँको नेतृत्वमा राजनीतिक कार्यदिशा र सामरिक कार्यदिशामा सम्झौतापरस्त दृष्टिकोण अपनाईएको छ । राजनीतिक कार्यदिशाबाट नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्ने व्याख्या गरेर नयाँ जनवादी क्रान्तिबाट समाजवादी क्रान्तिको आधार तयार पार्ने जनताको संयुक्त जनवादी अधिनायकत्व (नयाँ जनवाद) हटाइएको छ भने सामरिक कार्यदिशामा जनविद्रोहको आधार निर्माणको लागि गरिने भन्दै आएको जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षबाट जनसंघर्ष, प्रतिरोध संघर्ष र जनविद्रोह भनेर वर्गसंघर्षको अनिवार्य पक्षलाई खारेज गरिएको छ । कार्यदिशाको रणनीतिक प्रश्नमा कमरेड किरणको अगुवाइमा गरिएको यसप्रकारको सम्झौतापरस्त दृष्टिकोण के मालेमावादको रणनीतिक दृढताभित्र पर्छ ? नयाँ जनवादी क्रान्ति गर्दै समाजवाद स्थापना गर्ने प्रश्न माकेले लामो समयदेखि भन्दै आएको नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादमा जाने भन्ने लाइन भन्दा तात्विक भिन्न छैन भन्ने कुरा कमरेड किरणले नबुझेको भन्न सकिन्छ ? सामरिक कार्यदिशाबाट वर्गसंघर्ष झिक्नुमा ज्ञानको सीमा हो भन्न मिल्छ ? यदि त्यो भन्न सकिँदैन भने उहाँको सम्झौतापरस्त चिन्तन र दृष्टिकोणको समस्या हो भनेर किन भन्न नसक्ने ?
पार्टीभित्र बेग्लाबेग्लै समयमा भिन्नाभिन्नै ढंगले देखापर्ने दार्शनिक, सैद्धान्तिक, राजनीतिक एवं संगठनात्मक समस्याबारे हाम्रो लामो समयदेखि मतभेद रहदै आए पनि पार्टीभित्रबाटै अन्तरसंघर्षको उचित वातावरण हुँदासम्म त्यसलाई दुईलाइन संघर्षको प्रक्रियाबाट हल गर्न सकिन्छ भन्ने बलियो बुझाइप्रति कमरेड किरणको दृष्टिकोण किन सही ढंगले आउन सकेन ? वादविवाद, संवाद, छलफल, बहस, निश्कर्ष तथा एकता, संघर्ष रूपान्तरणसम्बन्धी मालेमावादी अन्तरपार्टी संघर्ष र जनवादको प्रयोग कमरेड किरणबाट किन हुन सकेन ? पार्टीमा मतभेद राखेकै भरमा, संगठनात्मक अनुशासनका विषय उठाएकै भरमा, पार्टीभित्र, अनुशासन, गोपनीयता र संगठनात्मक प्रणालीका कुरा उठाएकै भरमा सम्बन्धित विषयमा कुरा उठाउने कमरेडहरूमाथि स्पष्टीकरणसम्बन्धी विधानले व्यवस्था गरेको प्रावधानलाई समेत अवमूल्यन गरेर कारबाहीको डण्डा चलाउनु विपरीतहरूको एकत्व हो ? अन्तरपार्टी संघर्ष र जनवादको मालेमावादी मान्यताले अध्यक्षलाई यो छुट दिन्छ ? यसले एकको दुईमा विभाजन र दुईको एकमा संयोजनसम्बन्धी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको विपरीत धारणाको काम गरेन ? अध्यक्षलाई पार्टीभित्र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताविपरीत जाने अधिकार कसले दियो ? के कमरेड किरणको यो व्यवहार चीनको सातौं महाधिवेशनमा कमरेड माओले वाङ मिङ र लि लिसानसँग एकताको लागि फङ दह्वाइसँगको संघर्ष र लुसान कन्फ्रेन्सको बेलाको लिन्पियाओपन्थीहरूसँगको एकता–संघर्ष–रूपान्तरणसम्बन्धी मान्यतासँग मेल खान्छ ? हामीले विषयहरू उठाउनका लागि मात्र हैन समाधानको लागि राख्नुपर्छ, विषयहरू विश्लेषणमा मात्र सिमित नभएर संश्लेषणको अन्तर्वस्तुको आधारमा हल हुनुपर्छ । समग्रमा नेतृत्वले विश्लेषणमा ध्यान दिदै संश्लेषणमा जोड दिनुपर्छ । तर व्यवहारिक रूपले कमरेड किरणले मालेमावादी सिद्धान्तको यो दृष्टिविन्दुलाई पक्रन सक्नुभएको देखिँदैन ।
संगठनात्मक प्रश्नमा देखापरेका समस्यालाई छलफल, बहसको माध्यमबाट निश्कर्षमा पुर्याउनुपर्ने मालेमावादी मान्यतालाई कमरेड किरण आफैँले उल्लंघन गर्न पुग्नुभएको छ । पार्र्टीका जिम्मेवार, नेतृत्वदायी कमरेडले पार्टी अनुशासनविपरीत कार्य गरेको, पार्र्टीको च्येन अफ कमाण्ड मिचेको, कार्यकर्ताको चरित्र हत्या गर्दै हिँडेको तथा आन्तरिक गोपनीयताको प्रश्न विरोधी सत्तापक्षका प्रतिक्रियावादी पार्टी का कार्यकर्तासमक्ष चुहावट गरेको लगायतका विषयलाई सम्बन्धित निकायमार्फत केन्द्रीय कार्यालयमा जानकारी भएको तीन महिनासम्म यति गम्भीर विषयमा छलफल नचलाउने मात्र होइन उल्टै आरोपित कमरेडको बचावमा निवेदकलाई स्पष्टीकरण लिनु अन्तरपार्टी अन्तरसंघर्षको कुन द्वन्द्ववाद हो ? पार्टीभित्र संगठनात्मक अराजकता मच्चाउने, नेतृत्वको विरुद्धमा आवाज उठाउनेप्रति केन्द्रीय कार्यालयको तर्फबाट भएको पक्षपात र अपमानविरुद्ध पार्टी केन्द्रीय समितिबाट राजीनामा दिइसकेका जिम्मेवार कमरेडहरूलाई राजीनामा गोप्य राखेर विधानतः स्पष्टीकरणको मौकासमेत नदिई कथित कारबाही गर्नु र कारबाही गरिएको कुरा विभिन्न माध्यमबाट हल्ला चलाएर सम्बन्धित कमरेडलाई आजका मितिसम्म जानकारीसमेत नदिनु जनवादी केन्द्रीयताको कुन संगठनात्मक सिद्धान्तको प्रयोग हो ? नयाँ ढंगको पार्टी निर्माणमा अन्तरसंघर्षको विषय उठाइरहँदा कमरेड किरणले यस प्रकारका व्यावहारिक पक्षबारे बोल्नुपर्दैन ?
यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर समस्याबाट गुज्रिरहेको छ । विचार, सिद्धान्त र कार्यदिशामा भयंकर गडबडी पैदा हुँदै गइरहेको छ । पार्टीको भूमिगत सांगठानिक प्रणाली ध्वस्त भएको छ । अराजकता, गतिहीनता, अकर्मण्यता दिशाविहीनता संस्थागत बन्दै गइरहेको छ । उत्पादनका लागि संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगको कुरालाई एकादेशको कथाजस्तो बनाइएको छ । पार्टीका आन्तरिक संगठनात्मक प्रश्न र गोपनीयताका कुरा छरपस्ट हुने प्रवृत्ति मौलाउँदै गइरहेको वर्तमान परिस्थितिमा यहाँका यी व्यावहारिक समस्यालाई समाधान कसरी गर्ने ? भन्ने कुराको वस्तुगत समीक्षा र खोजी नगरी विषयको उठान र अग्रजहरूको अनुभवहरूको व्याख्याले हामीलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको होइन अनुभववादको दलदलमा फसाउँछ । मालेमावादले अनुभवबाट शिक्षा लिने कुरालाई अस्वीकार गर्दैन तर त्यसका साथसाथै अनुभववादी बन्न मार्गदर्शन पनि गर्दैन । मालेमासम्बन्धी यो मान्यतामा टेकेरै हामीले नेपाली कम्युनिष्ट आन्दोलनका आजका समस्यालाई यहाँको विशिष्टताको आधारमा हल गर्न सक्छौं । यसप्रति सबैको ध्यान जान जरुरी छ ।
(लेखक क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
टिप्पणीहरू