महिलाले नै थुनाए बलात्कारी बाबा र उनकी सेविकालाई

महिलाले नै थुनाए बलात्कारी बाबा र उनकी सेविकालाई

अब ललिता निवास प्रकरणको मुद्दाले केही फरक मोड लिने भएको छ । साउन २१ गते सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश आएसँगै यसको अनुसन्धानका क्रममा थप केही हाइप्रोफाइलसँग सोधपुछ र सम्बन्धित कागजात झिकाउने काम अगाडि बढ्ने अवस्था छ । 

उक्त प्रकरणमा मुछिएका योगराज पौडेलद्वारा दायर बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र डा.कुमार चुडालको इजलासले ०६६ चैत २९, ६७ वैशाख ३१ र साउन २८ तथा ०६९ असोज १८ का मन्त्रिपरिषद निर्णयका सम्बन्धमा थप अनुसन्धान अबिलम्ब गर्न आदेश दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) बाट चलिरहेको अनुसन्धानका क्रममा तत्कालिन मन्त्रिपरिषदको निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुने र मन्त्रालयस्तरबाट उक्त निर्णयनिम्ति किटानी प्रस्ताव गर्नेसहित त्यसमा संलग्न माथिल्लो तहका अधिकारीमाथिसमेत अनुसन्धान हुने भएको छ ।

यसक्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग सोधपुछ गरिने भएको छ । सिआइबीले पाएको अनुसन्धानको म्याद ३०–४० दिन मात्रै गुज्रिएको छ । यसको हदम्याद ६० दिनको हुन्छ । बाँकी दिनभित्रै २ पूर्वप्रमसहित तत्कालिन विभागीय मन्त्री, मुख्यसचिव र सचिवहरूसँग सोधपुछ गरिने बताइन्छ । 

उता, लामो समयदेखि बिथोलिँदै आएको महेन्द्रनगरको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणलाई नयाँ जुक्तिका साथ अगाडि बढाइँदैछ । अनुसन्धानका पुराना तरिका, जनशक्ति, स्रोत र साधन पर्याप्त नभएका कारण नयाँ ढंगले अनुसन्धानकार्य अगाडि बढ्न लागेको हो ।

यता ‘शिवसुतक गौरीभक्त’ भनिने पुरुषोत्तम काफ्ले ठगी अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् । सिआइबीले उनीसहित उनका तीन ‘सेविका’ विरुद्ध ३ करोड ६२ लाख नगद र २७ तोला सुनका गहना ठगी गरेको भनी जिल्ला अदालत काठमाडौंमा मुद्दा पेश गरेको थियो । त्यसमध्ये दोलखा जिल्लाको साविक झुले निवासी, हाल भक्तपुरको लोकन्थलीस्थित नागरिक अस्पतालसँगै घर बनाएका पुरुषोत्तमसहित सिन्धुपाल्चोक, बाणेगाउँकी ४४ वर्षीया लक्ष्मी न्यौपाने जेल चलान भएका हुन् । तीबाहेक काभ्रे, चौरीदेउराली गाउँपालिकाकी कान्छीमाया लामा र हेटौंडा– ४ की निशा तिवारी ३५–३५ हजार धरौटीमा रिहा भए ।

पीडित महिलाहरूले ‘पुरुषोत्तम बाबा’ को मागबमोजिम यी तीन महिलाको खातामा पैसा जम्मा गरेका थिए । पीडितहरूकै सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । तर, समातिएलगत्तै ती महिलाले पनि आफूहरू उनैबाट पीडित भएको बताएका थिए । आफ्नो रकम उठाउनका निम्ति उनले अरुबाट लिएको रकम आ–आफ्नो खातामा जम्मा गर्न लगाएको बयान उनीहरूले दिएका थिए । तर, तीन महिलामध्ये लक्ष्मी न्यौपानेको सम्बन्ध घनिष्ठ थियो । आर्थिक र गरगहना लिने र व्यवस्थापन गर्नेमा सक्रियता प्रमाणित भएका कारण उनी पुर्पक्षका लागि जेल गएकी हुन् ।  

सिआइबीबाटै अनुसन्धान चलिरहेको शिव शिखर सहकारीको ठगी मुद्दा अनुसन्धानको अन्तिम चरणमा पुगेको बताइन्छ । एक लाख निक्षेपकर्ताबाट १४ अर्ब हिनामिना गरेको उक्त सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा, लेखा समितिका रमेश खैंजु, शिवप्रसाद पौडेल र कर्मचारी रसना शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ३६ वटा शाखा स्थापना गरेको उक्त सहकारी २०७० सालमा स्थापना भएको हो । ६० दिनको अनुसन्धान म्यादअन्तर्गत आज ४५ दिन पुगेको छ । अर्को साता उक्त मुद्दा अदालतमा पेश गरिने सिआइबी स्रोतले जनाएको छ ।
 

टिप्पणीहरू