बालेन त्यसपछि गृहमन्त्रीसँग बोलेनन्

बालेन त्यसपछि गृहमन्त्रीसँग बोलेनन्
सुन्नुहोस्

बालेन अटेरी भइदिँदा ‘बूढाहरु’ बेखुश, ‘बूढाहरु’ कै बीचमा कुरा बाझिंदा अर्कातिर बिचल्ली ! मामिला हो, राप्रपाको ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा राप्रपाका एक हुल नेता पुगे । गुनासो थियो, सामान सार्ने म्याद पनि नदिई काठमाडौंका मेयर बालेन साहले धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउन थालेको । कुरा सुनेपछि नारायणकाजीले बालेनको हटलाइनमा फोन डायल गरे ।

तर, कल रिसिभ भएन । अर्कोपटक गर्दा उठ्यो, तर बालेन बोलेनन् । उनका सहयोगीले भने, ‘मेयर सा’बले अहिले कुरा नगर्ने रे !’ बिजुलीको हाइटेन्सन लाइनको मुनि अवस्थित उक्त भवन भत्काउन साउन १५ गते सोमबार महानगरको टोली डोजरसहित त्यहाँ पुगेको थियो । बिनासूचना भवन भत्काइँदा भित्र रहेका महत्वपूर्ण कागजात र जिन्सी नष्ट हुने भन्दै निश्चित समयको म्यादका लागि नेताहरु मन्त्रालय पुगेका थिए । त्यहाँ जानुअघि नै उक्त पार्टीका नेता निरञ्जन थापा र कार्यालयका मुख्यसचिव केदार अधिकारी महानगर पुगिसकेका थिए ।

तर, बालेनले तिनलाई भेट दिएनन् । नेपाल सरकारको सचिवबाट अवकाश पाएका अधिकारी आफैं पनि सोही महानगरपालिकामा केही समय कार्यकारी अधिकृत रहिसकेका व्यक्ति हुन् । मेयरसँग भेट्न नसकेपछि उनीहरुले भवन भत्काउनुको कारणबारे जिज्ञासा राख्दै यदि भत्काउनै परे निश्चित समय दिनुपर्ने माग राखेका थिए ।

तर, महानगर प्रशासनले राप्रपाको पत्र चित्तबुझ्दो नभएको भन्दै १५ गते डोजर लिएर राजु पाण्डेको टोलीलाई त्यहाँ पठायो । टोली पुग्दा पार्टी कार्यकर्तासहित स्थानीयले घेरा हाली कार्यालय भत्काउन दिएनन् । नेताहरु गृह मन्त्रालय पुगे । त्यहाँबाट बालेनलाई गरिएको फोन रिसिभ भएन । त्यसपछि गृहले भवन भत्काउनका लागि आवश्यक पर्ने प्रहरी सहायताको टोली रोकिदियो र भवन तत्काल भत्किनबाट जोगियो । 

कतिपय काममा शून्य सहनशीलता अपनाउने मेयर बालेनको बानी छ, निश्चित समय उनी आफ्ना शौखहरु पूरा गर्नेतिर लाग्छन् । भनिन्छ, जब उनी आफ्नो अम्मलमा मग्न हुन्छन्, तब उनीसँग कसैको केही चल्दैन । न भेट्न, न बोल्न– केही गर्न पाइँदैन । राप्रपाका नेताहरुले अनुमान गरेका छन्, ‘शायद उनी त्यस्तै केही काममा मग्न थिए ।’ यो कुरा अरुले भन्दा राप्रपाका नेताहरुले बढी बुझेका हुन्छन् । किनभने, उनीहरु राजा–रजौटाको संगतबाट गुज्रिएर आएका हुन् ।

तत्कालिन युवराज दीपेन्द्रदेखि पारससम्मले नशामा कुन व्यवहार देखाउँथे भन्ने जानेका उनीहरुले बालेनको ज्यादतीलाई पनि त्यही रुपमा लिएको बताउने गरेका छन् । नत्र, संघीय सरकारको उपप्रधान तथा गृहमन्त्रीले गरेको फोनको रेस्पोन्स छैन । भेट्न गएका, पहिला त्यहीँ कार्यकारी अधिकृत भइसकेका व्यक्तिको वास्ता छैन ।

खासमा राप्रपाको नियमित काम त्यहाँस्थित शशिकला भवनबाट चल्ने गरेको छैन । चावहिलस्थित चारुमति मन्दिरको छेउमा रहेको कार्यालय राप्रपाको नियमित काम हुने कार्यालय हो । दिलविकास राजभण्डारीले दानमा दिएको उक्त भवनभित्र दिवंगत पत्नीको मूर्ति बनाएका छन् । र, त्यहाँ पार्टीका केही कागजात तथा जिन्सी सामान भएका कारण त्यसलाई जोगाउन खोजिएको थियो ।

अर्कातिर, राप्रपालाई एमाले अध्यक्ष केपी ओलीको चंगुलबाट मुक्त पार्ने एकथरि ‘बूढाहरु’ को प्रयासमा अर्काथरिले भाँजो हालेका छन् । त्यसका लागि बुद्धिमान तामाङसहितका नेताले पार्टीलाई अहिलेकै सत्ता गठबन्धनमा सामेल गरी अगाडि बढाउने र केही मन्त्रीसहित सरकारमा सामेल हुने लाइन अगाडि सारे । यो कुरामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनदेखि प्रधानमन्त्री प्रचण्डसम्मलाई तयार पार्ने काम भयो ।

तर, बाधक बनिदिए, डा.प्रकाशचन्द्र लोहनी, धवलसमशेर राणा, रवीन्द्र मिश्रसहितका नेता । उनीहरु विपक्षी बेञ्चमै बसेर अगाडि बढ्दा जनताको बीचमा आफ्ना एजेण्डाहरु लैजान सजिलो हुने अडानमा रहे । एउटा बैठकमा बुद्धिमानले भने, ‘मन्त्री नै नहुने भए किन राजनीति गरेको ? किन चुनाव लडेको ?’

केन्द्रमा यस्तो विवाद भए पनि कोशी प्रदेशको हकमा राप्रपाले मध्यावधि निर्वाचन हुने कुरामा एमालेलाई साथ नदिने भएको छ । अर्थात्, अहिलेको सरकारलाई राप्रपाले अन्तिममा विश्वासको मत दिन्छ । यही नाममा त्यहाँ राप्रपाले सरकारमा भागबण्डा मागेको छैन । सत्तारुढ गठबन्धनले शुरुमै राप्रपालाई सरकारमा सहभागी हुन आग्रह गरेको थियो । तर, केन्द्रको नेतृत्वले स्वीकारेन । 

उता, अर्को खेमाको राप्रपा चलाइरहेका कमल थापासँग लिङ्देन पक्षको कुनै संवाद छैन । तर, पूर्वराजा ज्ञानेन्द्रसँग भने नियमित संवाद भएको बताइन्छ । 
 

टिप्पणीहरू