पुराना काण्डको पनि पटाक्षेप गरौं
ललिता निवास र भुटानी शरणार्थी काण्डलगायतमा हाई प्रोफाइल विभिन्न दलका नेता तथा उच्च तहका ब्युरोक्रयाट्सलाई प्रहरीले समातेको र अनुसन्धानको दायरामा ल्याउन लागेको छ ।
यी काम सम्पन्न गर्दै जाँदा देश र जनताको मनमस्तिष्कमा बसेका, मुटु छुने र संवदेना विष्फोट हुने घटना अरु धेरै छन्, जस्तै : नाबालिका निर्मला बलात्कार तथा हत्याकाण्ड : यस्ता घटना ओझेलमा पर्नु हुँदैन । यो गुत्थी सुल्झाउनका लागि राज्यले करोडौं खर्च गरेको छ, जनशक्ति अझै परिचालन गरिरहेकै छ । सिआइबीको टोली अपराधीको खोजीमा कञ्चनपुरमै अड्डा जमाएर बसिरहेको छ तर प्रगति भने शून्य छ । यदि पीडित बालिका अहिले जिउँदो हुन्थिन् भने बालिग उमेरको भइसक्थिन्, नागरिकता पाइसक्थिन् ।
तर, अझै उनले न्याय पाएकी छैनन् । अहिले सिआइबी महिलाकै नेतृत्वमा छ, राष्ट्रियसभा र प्रतिनिधिसभाका उपप्रमुखसिहत ३ जना मन्त्री महिला छन् । यस्तो बेला मानवीय संवेदनालाई छुने यस्ता घटनाको पनि रहस्य सुल्झिन सके राम्रो हुने थियो । यतातिर गृह प्रशासन नचुकोस् ।
हामीले अनुभूत गरेको कुरा हो– ३३ केजी सुन काण्डको अनुसन्धान गर्ने दिवेश लोहनीसहित केही प्रहरी अधिकृतको जागिर गयो, कोही निलम्बित भए, कोही जेल परे । यसैगरी, निर्मला बलात्कार तथा हत्याकाण्डमा छानबिन गर्न खटिएका अंगुर जिसी र डिल्ली विष्टहरूलाई उल्टो निरुत्साहित गरी फसाइएको थियो । पछि भलै तिनले न्याय पाए होलान् ।
अहिले पनि जोखिम मोलेर चुनौतीका साथ कतिपय घटनाको छानबिन गर्न अघि सर्नुपर्ने अवस्था छ तर नेपालीको बानी भनेको नयाँ काण्ड आउनेबित्तिकै पुराना काण्ड बिर्सने हो । तैपनि पुराना घटनाको गुत्थी सुल्झाउन जरुरी छ । सस्तो लोकप्रियताका निम्ति भ्रष्टाचारको केश पल्टाइँदै छ भन्ने छाप जनतामा पर्नु हुँदैन ।
ठूला माछा पनि समात्दै छन् भन्ने पारेर संवेदनशील पुराना घटनालाई सहादत गर्न कोही अघि नसरुन् भन्ने कामना छ । एकादुई घटनाको छानबिन गरी वाहवाही बटुल्ने, छानबिन गरेका विषयको अन्तिम किनारा पनि नलगाउने अनि आफ्नो स्वार्थअनुरूप घटनाहरूलाई तुरूपका रूपमा चाल्ने चलनले देश र जनता कसैको हित गर्दैन । सरकार सस्तो लोकप्रियताका पछि मात्र दगुर्नु हुँदैन । साँच्चै न्याय दिएको वा काम गरेको अनुभूत गराउनका लागि यस्ता घटनाको फाइल खोलेर अन्तिम किनारा लगाउनै पर्छ ।
हुन त यो देशलाई सतीले सरापेको देश पनि भन्दै सती जानेकै हुर्मत लिने चलन छ । सतीलाई दोष लगाएर गलत काम गर्न र अन्याय दुवै सहन प्रेरित गर्ने चलन पनि छ । भ्रष्टाचारी, चोर, डाँका र बदमासहरूले जहिले पनि आपूmलाई सफा नै देख्छन् र अरुका अघि देखाउन भन्छन्– यो सतीले श्राप दिएको देश हो । अनि विना कसुर, नखाएको विष लागेका सिधासादा मान्छे पनि भेटिन्छन् । तिनले पनि यसै भनेर उच्छवास छाड्छन् ।
र, अहिले मुलुकमा एकले अर्कोलाई दोष देखाएर पानीमाथिको ओभानो हुने प्रयास पनि निरन्तर चलेकै छ । तसर्थ भीम मल्लकी श्रीमती अर्थात् सतीलाई दोष देखाएर पन्छिने वा पन्छाउने चलन त्याग्नु पर्छ । नयाँ काण्डको खोजी गर्दै जाँदा पुराना काण्डहरू पनि सुल्झाउँदै जान तयार हुनुपर्छ ।
टिप्पणीहरू