छिमेकी महिलाद्वारा टोलकै दुई महिलाको हत्या !

छिमेकी महिलाद्वारा टोलकै दुई महिलाको हत्या !

रुकुम पश्चिममा दुई जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । गत बिहीबार मुसिकोट नगरपालिका १, निवासी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी महिलाले पाँच वर्ष अघिपनि सोही स्थानमा अर्की महिलाको हत्या गरेको तथ्य खुलेको छ ।

२०७५ असार १० गते ४६ वर्षीया आईती बुढाको घरमै हत्या भएको थियो । उनको हत्यामा संलग्न हत्याराबारे हालसम्म पनि कुनै पत्ता लाग्न सकेको थिएन । बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी स्थानीय २३ वर्षीया सिर्जना बुढा बोहराले नै ती दुबैको हत्या गरेको रहस्य खुलेको प्रहरीको भनाई छ ।

साउन १८ गते बुढाथोकी र २०७५ असार १० गते मारिएकी आईतीको हत्या बोहराले नै गरेको अनुसन्धाबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायपव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । बोहराले दुबैको हत्या आफूले गरेको स्वीकारेकी छन् । 

डिएसपी भट्टराईका अनुसार हस्तकली र आइतीको हत्या सिर्जनाले नै गरेको आरोपीको बयान, प्राप्त सबुत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट खुलेको छ । पाँच वर्षअघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि अर्को हत्या गरेको बयान आरोपीले प्रहरी समक्ष दिएकी छन् । 

दुबै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै रहेको प्रहरीको भनाई छ । गहना र रकम लुट्ने उद्देश्यले दुई जनााको हत्या गरिएको हो । हस्तकलीलाई सुतेको अवस्थामा ढुङ्गा लोेरोले कञ्चटमा हानेर हत्या गरेपछि सिर्जनाले उनको मोबाइल, नगद र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिइन् । 

डिएसपी भट्टराईका अनुसार यस्तै उद्देश्य र प्रकृतिको पाँच वर्षअघि बुढाको हत्या गरिएको हो । त्यो बेला बुढालाई बोहराले सुरुमा पिर्काले टाउकोमा प्रहार गरेकी थिइन् । बेहोसीमा रहेकी आईतीले प्रतिकार गर्न खोजेपछि सिर्जनाले खाटमुनि रहेको बञ्चरो र बाउसो निकालेर अन्धाधुन्ध प्रहार गरेको तथ्य अहिले खुलेको हो । हत्यालगत्तै गरगहना लुटेर कोठा बाहिर ताला लगाएर सिर्जना राति नै आफ्नो घर गएकी थिइन् । 

गत बिहीबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राति मात्र घरभित्र शव रहेको पत्ता लागेको थियो । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा महिला मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा, कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठ अनुसन्धान अधिकृत रहेको टोली र प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा रहेको विशेष प्रहरी टोलीले घटनाको विशेष अनुसन्धान गरेको थियो । 

प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरेपछि अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ । हत्या गरिएका दुबै जनाको गहना सिर्जनाले खलङ्गा बजारमा रहेका दुई वटा सुनचाँदी पसलमा बिक्री गरेको समेत खुलेको छ । 

बिल नभएको गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना सुन व्यवसायी समेतलाई पक्राउ गरेको छ । राप्ती सुनचाँदी पसलका शोभाकुमारी सुनार सोनी र नारायणी सुनचाँदी पसलका कृष्णबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पनि अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान गर्न थालिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू