झापा एमालेमा आफैंभित्र झमेला
पार्टीमा कसैलाई पनि गुटबन्दी गर्न दिन्न भनेको केही दिन नबित्दै अखिलको चुनाव भयो । स्पष्ट दुई गुटमा विभाजित भएर विद्यार्थी चुनावमा होमिए । परिणाम उल्टो आयो । पार्टीद्वारा आधिकारिक रूपमा तोकिएकाले हारे र विद्रोही दश बुँदे पक्षधरले जिते । यो खबर नेकपा एमाले झापाको हो ।
कानुनवेत्ता अग्नि खरेलको बहिर्गमनपछि झापा पठाइएका खोटांगे विशाल भट्टराई अहिले झापा एमालेको इञ्चार्ज छन् । झापा आउनेबित्तिकै एउटा भेलामा माथिको भनाइ कडाइसाथ राखेका उनलाई तत्कालै दाँतमा ढुंगा लागेको छ । पार्टीले तोकेका अध्यक्षका उम्मेदवारलाई खासै नचिनेका विद्यार्थी नेताले हराइदिए । त्यसअघि अनेमसंघको जिल्ला अधिवेशन आयोजना गरियो । लामो समयसम्म अधिवेशन स्थगित गरियो र टीका लगाएर नेतृत्व चुनियो ।
तत्कालीन एमाले जिल्ला उपसचिव चन्द्रा श्रेष्ठलाई पाखा लगाउन पवित्रा पाठकलाई अगाडि सारियो । त्यसअघि युवा संघको नेतृत्वमा नामै नसुनेका फुर्वा लामालाई ल्याइयो । त्यसविरुद्ध युवाहरूले नै विद्रोह गरे । केपी ओलीको गृहजिल्ला भएका कारण पार्टीभित्र एउटा समूहले अर्को समूहलाई छेउ नै पर्न नदिनेसम्मको कसरत हुन्छ । एक जना एमालेमै रहेर लडिरहेका जिल्लास्तरका नेताको भनाइ हो यो । एमालेले भर्खरै जिल्ला इञ्चार्जलगायतको नेतृत्व परिवर्तन गर्याे । त्यसपछि झापा आएका विशाल भट्टराई यहाँ कुहिरोको कागजस्तै भएका छन् ।
त्यसअघिसम्म इञ्चार्जको जिम्मेवारी पाएका अग्नि खरेललाई हटाएर उनी झापा त आए, तर यहाँ आएपछि पार्टीको काम फेद न टुप्पो जस्तो भयो । तिनै एमाले नेताको भनाइलाई आधार मान्ने हो भने माधवकुमार नेपालको पार्टीमा जाने कार्यकर्ताभन्दा पनि आफ्नै कार्यकर्ताका कारण एमाले कमजोर बन्दै गएको छ । अलिक अगाडिसम्म झापामा स्थापित नेताका रूपमा चिनिएका रबिन कोइरालालाई यतिबेला पेण्डुलम बनाइएको छ ।
चितवनबाट केपी ओलीको लिष्टमै परेर केन्द्रीय सदस्य भए पनि तत्कालै उनको झापा इञ्चार्ज खोसियो । त्यो ठाउँमा अग्नि खरेललाई ल्याइयो र उनलाई सह इञ्चार्जमा घटुवा गरियो । अझ गत आम निर्वाचनमा खरेलले लगानी गरेको क्षेत्रबाट हटाएर पूर्वतिर पठाइयो, तब झन् समस्या बल्झियो । परिणामतः झापा १ मा टिकट पाएका खरेलले पनि हारे र सांसदको आकांक्षी सोही क्षेत्रका नेता रविन कोइरालालाई प्रदेशमा उठाइयो, उनले पनि जितेनन् । झापा २ बाट चुनाव लड्न नै भनेर अग्नि खरेलले बिर्तामोडमा घर र जग्गा किने । तर, अहिले त्यो घर सुनसान छ । त्यो चुनाव हारे पनि अग्नि खरेललाई खासै औपचारिक कार्यक्रमतिर देखिँदैन ।
चुनाव जितेर सभामुख बन्ने सपना देखेका खरेललाई सांसद बन्ने रुचि नै नभएका देवराज घिमिरेले बालकोटमा धर्ना कसे, त्यसपछि कसैको केही लागेन । ओलीको गृहजिल्लामा को उनको विश्वासप्राप्त बन्ने भन्ने होडबाजी छ । नजिकै हुन लागेको जिल्ला अधिवेशनका लागि अहिले यस्तैखाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको सुन्न सकिन्छ । ओली पक्षकैहरूबीच यस्तो खेल भएको छ । जिल्ला अध्यक्ष हुनका लागि प्रेम गिरीले दौडधुप गरिरहँदा शिव ढुंगेल पनि बालकोट परिक्रमा गरिरहेका छन् । यस्तै परिक्रमाको परिणाम हात पारेको प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल भर्खरै परिवार नियोजन संघमा पराजित भए ।
एमालेको कोशी प्रदेश कमिटी सदस्य रहेका पोखरेलले आफूलाई सचिव मनोनित गर्ने तत्कालीन अध्यक्ष लोकनाथ भट्टराईविरुद्ध मार्चा कस्न सफल भए, तर परिणाम निकाल्न सकेनन् । केपी ओलीले गरेको संसद् विघटनको विपक्षमा उभिएका भट्टराई पनि एमाले नै हुन् । तर, पार्टीलाई प्रभावित पारेर उनलाई कारबाही गर्न लगाइयो । नेतृत्वमा आफू पुग्न अनेक हर्कत गरिन्छ । अर्को आफूभन्दा क्षमतावान कोही छ भने उसको बेलैदेखि तेजोबध गरिन्छ । तिनै एमाले नेताको थप टिप्पणी छ, यस्तै गतिविधिका कारण झापामा पार्टी कमजोर बन्दै छ । यसैपालि त राप्रपासँग तालमेल गरेर केही ठाउँ जितियो । तर, ०८४ मा बिजोग हुने खतरा छ ।
टिप्पणीहरू