स्वास्थ्यमन्त्रीले धुरुक्कै रुवाए सञ्चारकर्मीलाई

स्वास्थ्यमन्त्रीले धुरुक्कै रुवाए सञ्चारकर्मीलाई

ठूल्ठूला कुरा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई पनि धुरुक्कै रुवाएको खबर प्राप्त भएको छ । निर्वाचनताका बाहुबली कार्यकर्ता मार्फत एक सञ्चारकर्मीको क्यामरा फुटाउन लगाई क्षतिपूर्ति नदिएपछि पत्रकारले जागिरबाट हात धुनु परेको छ । ग्यालेक्सी टेलिभिजनका लागि सिन्धुपाल्चोक संवाददाता विजय नेपालको क्यामरा निर्वाचनताका मन्त्री बस्नेत र बागमति प्रदेश, भौतिक विकास मन्त्री युवराज दुलालका कार्यकर्ताले फुटाइ दिएका थिए । 

गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा मन्त्री दुलालको गृहक्षेत्रस्थित सिद्धिगणेश मावि मतदान केन्द्रमा गठवन्धनका कार्यकर्ताले फर्जी मत हाल्दै गरेको भन्दै नेपाल क्यामरा तेस्र्याएर त्यता हान्निएका थिए । क्यामरा भुइँमामा बजारिदिएको त्यसैमा हो । घटनालगत्तै बस्नेत र दुलालले फोन गरेर क्षतिपूर्तिबापत रु. दुई लाख दिने बचन दिएका थिए । झण्डै दुई महिनापछि दुलालले रु. एक लाख नगद दिए पनि बाँकी एक लाख बस्नेतले हालसम्म नदिएको नेपालले गुनासो गरे केही महिनाअघि फोन गर्दा बस्नेतले पैसा लिन आऊ भनेपछि उनी काठमाण्डौं गएका नेपाललाई भेटमा भनियो “तिम्ले मलाई भोट दिएको हैन रहेछ, त्यही भएर म पैसा दिन सक्दिन, लौ हो कि हैन भन” ? 

फेरि पनि ल ठीकै छ भन्दै बस्नेतले ५० हजार मात्र दिन्छु भनी रित्तै हात फर्काइदिएको र त्यसो भनेको पनि पाँच महिना कटिसकेको नेपालले बताए । पचास हजार भए पनि देलान् कि भनेर फोन गर्दा रिसिभ नगरेको उनको कथन छ । नेपालले एक महिना जति त साथीहरुको क्यामेरा मागेर भए पनि काम चलाए तर सघैँ यसरी नचल्ने भएपछि काम नै हापि दिए । 

त्यसो त क्षेत्रमा टिकट नपाएर २ नम्बरबाट जितेका बस्नेतले सिन्को नभाँचेको जनगुनासो पनि बढ्न थालेको छ । मेलम्ची बाढीले क्षतिग्रस्त फट्टेमा पुल बनाउन चासोसम्म पनि नदेखाएपछि अहिले मेलम्ची नगरपालिका आफ्नै स्रोत र साधनमा कस्सिएको छ । बस्नेत मन्त्री नबन्दै सरकारले मेलम्ची, नवलपुर जोड्ने पुल निर्माण सम्पन्न गरिसकेको छ । 

बस्नेतले अस्ति भर्खर मात्र पनि चौतारा अस्पताललाई शब वहान हस्तान्तरण गरेर अचम्मकै नाटक देखाए । जुन गत साउन १४ गते बागमति प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नै अस्पतालका सुपरिटेन्डेन्ट त्रिभुवन झालाई हस्तान्तरण गरिसकेका थिए । 

आत्महत्या र लागुऔषधमा मुछिए सैनिक

मुलुककै अनुशासित र पारदर्शी संस्था मानिने सेनाका अधिकृतहरु विभिन्न कसूरमा मुछिन थालेका छन् । सहकर्मीमाथि यौन दुब्र्यवहार, कीर्ते, लागुऔषध सेवन तथा ओसारपसार, आर्थिक लेनदेनलगायतका यिनीमाथि लाग्दै आएको छ । सेनाले दुई आर्थिक वर्षमा यस्ता तीन दर्जन बढी सक्कलदर्जालाई कारबाही गरेको छ र पनि अपराध घटेको हैन । यसवीच अनुशासन तथा आचरण अवज्ञा, हातपात, धम्की र मापसेसम्बन्धी कसूरमा एक जना अधिकृत कारबाहीमा परेका छन् । 

त्यस्तै, पाँच जना पदिक तथा २८ जना अन्यदर्जाका सैनिकलाई कारबाही गरिएको छ । कीर्ते, झुठ्ठा व्यहोरा, सक्कली प्रमाणपत्र कसूरमा ९ जना परेका छन् । तीमध्ये पाँच जना अधिकृत, एक जना पदिक र तीन जना अन्यदर्जाका छन् । भगौडा चार अधिकृतलाई कारबाही गरिएको पनि सेनाले जानकारी दिएको छ । सोही कसूरमा मुछिएका चार जना पदिक र आठ जना अन्यदर्जाले सजायँ भोगेका छन् । 

यौन दुब्र्यवहारसम्बन्धी कसूरमा एक जना अधिकृत, एक जना पदिक र आठ जना अन्यदर्जा दण्डित भएका छन् । साइबरसम्बन्धी कसूरमा १६ जनालाई सजायँ दिइएको छ । सजायँ पाउनेमा एक जना पदिक र १५ जना अन्यदर्जाका छन् । सम्पत्तिसम्बन्धी कसूरमा एक जना अधिकृत र १० जना अन्यदर्जाले कारबाही भेटेको बुझिएको छ । 

लागुऔषध सेवन र ओसारपसार, आत्महत्या प्रयास र बर्जित आर्थिक लेनदेन कसूरमा भने अन्यदर्जाका सैनिक मात्र मुछिएका छन् । लागुऔषधमा चार, आत्महत्या प्रयासमा दुई र बर्जित आर्थिक लेनदेन कसूरमा एक जना कारबाहीमा परेका छन् । 

आर्थिक वर्ष २०७८–७९ को तुलनामा आर्थिक वर्ष २०७९–८० मा कारबाहीमा पर्नेको संख्या कम छ । ०७८–७९ मा अनुशासन तथा आचरणसम्बन्धी कसूरमा २७७ जनाले सजायँ भोगेका थिए । जबकि अघिल्लो आर्थिक वर्षमा २४३ जनालाई सेनाले सो कसूर अन्तर्गत कारबाही गरेको छ । त्यस्तै, कीर्ते तथा झुठ्ठा विवरण पेश गरी जागिर खानेको संख्या भने बढेको छ । 

सेनाले आर्थिक वर्ष ०७८–७९ मा यस्ता दुई जनालाई कारबाही गरेकोमा गत वर्ष बढेर ९ पुगेको छ । दुवै आर्थिक वर्षमा २३० जना भएको बुझिएको छ । यौन दुर्व्यवहारसम्बन्धी कसूरमा कारबाहीमा पर्नेको संख्या क्रमशः २१ र १३ रहेको छ । आर्थिक वर्ष ०७८–७९ मा साइबरसम्बन्धी कसूरमा २१ जना दण्डित भएका थिए । 

अघिल्लो वर्ष यो संख्या घटेर पाँचमा झरेको छ । सम्पत्तिसम्बन्धी कसूरमा सजायँ पाउनेको संख्या आधा भएको छ । ०७८–७९ मा १८ जनाले सजाय पाएकोमा गत वर्ष ९ मा झरेको छ । लागुऔषधसम्बन्धी कसूरमा दण्डित हुने सैनिकको संख्या भने बढेको देखिन्छ । सेनाले अघिल्लो आर्थिक वर्ष यस प्रकरणमा संलग्न १० जनालाई कारबाही गरेको थियो । जबकि त्यसअघिको आर्थिक वर्षमा ६ जना मात्र दोषी ठहरिएका थिए । आत्महत्या प्रयास गर्नेको संख्या दुईबाट चार पुगेको छभने बर्जित लेनदेनमा दुई जना मुछिएका छन् । 
 

टिप्पणीहरू