यसकारण नेपाल टेलिकमकाे नाफा घट्याे
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिका वर्षमा नाफा ७.८६ प्रतिशतले घटेको बताइएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार नाफा कमाएको थियो ।
कम्पनीले नाफा हुनुको केही कारण पनि औंल्याएको छ । कम्पनीका अनुसार सस्तो दरका डाटा प्याकेजहरु बढ्दै गएको तथा ओटीटी सेवाको प्रयोगमा वृद्धि भएकाले अन्तरआबद्धता आयमा करिब ६८ करोड ३७ लाखले कम भएको उल्लेख छ ।
त्यस्तै, मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको अथवा आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा तुलनात्मक कमी आएको कम्पनीले जनाएको छ ।
टेलिकमले कोभिड–१९ को कारण विगत केही वर्षदेखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रम यो वर्ष सञ्चालन हुनु र गत वर्ष कर्मचारीको तलबमा भएको वृद्धिका कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएकोले पनि नाफा घटेको बताएको छ ।
विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एंव नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुगेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेकोले नाफामा गिरावट आएको उल्लेख गर्दै कम्पनीले राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढेको जनाएको छ ।
नेपाल टेलिकमका अनुसार कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी घटेपनि वित्तीय आम्दानीमा वृद्धि हुँदा कुल आम्दानी सामान्य बढेको बताएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ३७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी भएकोमा गत आर्थिक वर्षमा ३६ अर्ब ८० करोड ४० लाख रुपैयाँ मात्र आम्दानी भएको छ ।
तर, वित्तीय आम्दानी भने ५ अर्ब ९० करोड ७४ लाखबाट बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यसले कम्पनीको कुल आम्दानी ४४ अर्ब ३७ करोड ४५ लाखबाट बढेर ४४ अर्ब ८६ करोड ८७ लाख पुगेको छ ।
टिप्पणीहरू