विदेशी विनिमय सञ्चिति साढे २६ प्रतिशतले बढ्यो

विदेशी विनिमय सञ्चिति साढे २६ प्रतिशतले बढ्यो

केही वर्षदेखि लगातार घट्दै गएको विदेशी विनिमय सञ्चिति गतवर्ष २६.६ प्रतिशतले वृद्धि भएको छ । 

मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको जानकारी दिएको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले बढेर १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९-८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

 

टिप्पणीहरू