शुल्क बढाउने निर्णयबाट पछि हट्यो सिटिईभिटी

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) शुल्क बढाउने निर्णयबाट पछि हटेको छ ।
सिटिईभिटीको हिजो बसेको बैठकले प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा र फार्मेसी कार्यक्रममा गरिएको शुल्क वृद्धिको निर्णय रद्द गरेको हो ।
गत असार १ गते बसेको सिटिईभिटीका पदाधिकारीहरुको बैठकले स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका निजीस्तरका शिक्षण संस्थाका लागि शुल्कवृद्धि गर्ने निर्णय गरेको थियो । जसअनुसार पीसीएल नर्सिङ्गतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसीतर्फ ८६ हजार ६६० रुपैयाँ बढाइएको थियो ।
आर्थिक वर्ष २०८०–८१ देखि लागू हुनेगरी बढाइएको शुल्क चौतर्फी विरोधपछि सिटिईभिटीले फिर्ता लिएको हो । सरोकारवालासँग पर्याप्त छलफल र ठोस कानुनी आधारबिना शुल्क बढाइएको भन्दै आलोचना खेप्नुपरेपछि आज सूचना जारी गर्दै उक्त निर्णय नै रद्द भएको जानकारी दिइएको छ ।
‘परिषद्बाट सम्बन्धन–स्वीकृति प्राप्त गरी निजीस्तरमा प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा र फार्मेसी कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाहरुले यस परिषद्को कार्यालयको मिति २०८०–३–१ को निर्णयबमोजिम शैक्षिक सत्र २०८०–८१ देखि लागु हुने गरी गरिएको शुल्क समायोजन (शुल्कवृद्धि) को निर्णय रद्द गरिएको व्यहोरा परिषद् कार्यालयको मिति २०८०–४–३२ गतेको निर्णयानुसार सम्बन्धित सबै सरोकारवाला सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।
टिप्पणीहरू