अमेरिकी अधिकारी यही बेला नेपाल किन आए ?
नक्कली भुटानी शरणार्थीदेखि अनेकन विषयका भ्रष्टाचार, तस्करी र भन्सारको लापरवाही ! अहिले नेपालबारे विश्वव्यापी रुपमा चर्चा भइरहेका विषय हुन् । र, यही मेसोमा अमेरिकी राष्ट्रपतिबाट सीधै नियुक्त भ्रष्टाचार विरोधी उच्चस्तरीय सरकारी पदाधिकारी काठमाडौं उत्रिएका छन् ।
गत साउन २५ गते बिहीबारका दिन अमेरिकाको कोअर्डिनेटर अन ग्लोबल एन्टी करप्सन (सिजेएपी) का प्रमुख रिचर्ड नेफ्यु दुईदिने नेपाल भ्रमणमा आए । उनले अख्तियार प्रमुख प्रेमकुमार राई र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) की प्रमुख, एआइजी किरण बज्राचार्यसँग भेटेर पछिल्लो समय नेपालमा भएका केही आर्थिक अपराध, भ्रष्टाचार तथा त्यसमा संदिग्ध समूहको संलग्नताबारे छलफल गरे ।
उनी सम्बद्ध कोअर्डिनेटर अन ग्लोबल एन्टी करप्सन (सिजेएपी) भनेको त्यहाँको ‘अख्तियार’ भनेजस्तो भ्रष्टाचारका विरुद्धमा काम गर्ने नयाँ संस्था हो । त्यसका निम्ति राष्ट्रपतिबाटै नियुक्त भएका हुन् । विश्वव्यापी रुपमा भ्रष्टाचार, सम्पत्ति निर्मलीकरण, आतंककारी गतिविधिबारे विश्वका विभिन्न राष्ट्रसँग मिलेर काम गर्न अमेरिकाले यस्तो संयन्त्र बनाएको हो । उनले भेटघाटका क्रममा नेपालको अवस्था कस्तो छ ? अख्तियारको काम, कारवाही कस्तो छ भन्ने विषयमा बढी चासो राखेका थिए ।
नेपालसँग सूचना आदानप्रदान, भ्रष्टाचारलाई निरुत्साहित गर्न उनको आग्रह थियो । अख्तियार प्रमुख प्रेम राईले नेपाल पनि संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरोधी संस्था अनक्यापको सदस्य नै भएका कारण एकापसमा सहकार्य गर्न सहज रहेको बताए । उनको भ्रमण सम्पत्ति शुद्धिकरणको मामिलासँग सीधै सम्बन्धित त थिएन, तर अघिल्लो महिना क्यानाडामा भएको छलफलकै लयमा कुरा भएको छ । उनले नेपालमा भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थाहरुको एकीकृत कार्यशैलीबारे पनि चासो राखे । नेपालमा फरक–फरक ऐनबाट अलग–अलग संस्था चले पनि सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विषय आयो भने अनुसन्धान गर्न सकिने गरी विधेयकको मस्यौदा भइरहेको जानकारी अख्तियार प्रमुख राईले दिए ।
नेपालमा सुनकाण्ड, ललिता निवास, नक्कली भुटानी प्रकरण आइरहेको बेला अमेरिकाले यस्तो चासो राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेफ्यु विभिन्न दक्षिण एशियाली देश घुम्दै आएका हुन् । काठमाडौंबाट सीधै भारत गए । सिआइबी प्रमुख किरण बज्राचार्यसँगको भेटमा पनि भ्रष्टाचारविरुद्ध संयुक्त रुपमा लडाइँ लड्नुपर्ने उनको मान्यता थियो । ‘भ्रष्टाचारको स्वरुप फरक भएको छ, आन्तरिकबाट वाह्य सञ्जालको विकास भएको छ । सबै देशले सूचनाहरु सहज रुपमा उपलब्ध गराउने वातावरण बनेमा भ्रष्टाचार नियन्त्रणमा आउनसक्छ’, भेटका क्रममा अख्तियार प्रमुख राईको भनाइ थियो ।
अहिले सहज रुपमा सूचना प्राप्त नभएको कारण भ्रष्टाचार नियन्त्रणमा कठिनाई आएको उनको भनाइ थियो । जस्तोकि, पृथ्वीबहादुर शाहले अमेरिकामा ठगेर सम्पत्ति ल्याए भने नेपालका पवन कार्की यता बैंक ठगी गरेर अमेरिकामा हराए । यसमा सूचना आदानप्रदानको कमजोरी रहेकोबारे सिआईबीसँग भेटमा चर्चा भयो । पवन कार्कीले यहाँ भएको घटनाभन्दा अघि अमेरिकामा ग्रीनकार्ड लिइसकेका रहेछन् । अपराध हुनुअघि नै अमेरिकी नागरिक भएको कारण उनीबारे केही कुरा अगाडि बढेन । सिआइबी प्रमुख बज्राचार्यले नेफ्युसँगको भेटमा नेपालमा आर्थिक अपराधको अनुसन्धान गर्न अलग्गै व्युरोको आवश्यकता रहेको बताइन् ।
टिप्पणीहरू