विद्याको अगाडि नआउने वचन

विद्याको अगाडि नआउने वचन

आशलाग्दो, जगमगाउँदो पार्टी एमालेबारे त्यहीँभित्रका कार्यकर्ता के भन्छन् ? प्रष्ट रूपमा खुलेर भन्न नसकेपछि भित्रभित्रै उनीहरूबीच के चर्चा चल्ने गर्छ ? त्यसको बान्की प्रस्तुत गरिएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सम्पूर्ण अधिकारलाई महासचिवमा केन्द्रीकरण गर्नुभएको छ । त्यो भनेको उपमहासचिव विष्णु रिमालको कम्प्युटरबाट पार्टी चल्ने हो । पार्टीको सम्पूर्ण सांगठानिक शक्ति महासचिव शंकर पोखरेलमा छ भनिए पनि चलाउने विष्णुले नै हो । अरू नेताको पद जेसुकै भनिए पनि भूमिका केही छैन । सौराहा महाधिवेशनमा आफूले पेश गरेको सूची जस्ताको तस्तै अनुमोदन गर्न ओलीले सारा बुद्धि, बर्कत, समय, स्रोत परिचालन गर्नुभयो । तर, आफैँ निर्विरोध हुन सक्नुभएन । उहाँलाई भीम रावलले चुनौती दिए । उपाध्यक्षमा घनश्याम भुसालको चुनौती सामना गर्नुपर्‍यो । सचिवमा भीम आचार्यले प्रतिस्पर्धा गर्न चाहे । अर्थात्, निर्विरोध हुने अवस्था भएन ।

शंकर पोखरेल महासचिव उठ्न चाहेपछि विष्णु पौडेललाई उपाध्यक्षमा थन्क्याइयो । ओलीसँग पंगा लिएर विष्णुलाई जानु नै कहाँ थियो र ? विभिन्न प्रदेशको नामकरण र राजधानी तोक्ने कुरामा अन्यत्र केही भएन । लुम्बिनीको हकमा राजधानी नै दाङमा लगियो । सबैले बैठक र प्रशासनिक कामका लागि लुम्बिनीभरिका मानिस भालुवाङ पुग्नुपर्छ । यी सब दुःख एक जना शंकर पोखरेलका निम्ति गरियो । यति गर्दा पनि ०७९ को चुनावमा दाङबाट उनैले हार व्यहोरे । उनै शंकरले भृकुटीमण्डपमा सम्पन्न नवौं महाधिवेशनमा उपमहासचिव हारेपछि ओलीले एकैचोटि स्थायी कमिटीमा मनोनीत गर्नुभयो र त्यसपछिको महाधिवेशनबाट महासचिव पनि बनाउनुभयो । बुटवलबाट सचिवमा जितेकोबाहेक शंकरसँग पार्टी र बाहिरको चुनाव जितेको बिरलै इतिहास छ । कांग्रेसको अवस्था हेरियो भने गगन र विश्वप्रकाशले पार्टी र संसदीय निर्वाचनमा पनि शानदारसँग जिते । एमालेमा जित्नेको भन्दा हार्नेको पहुँच, प्रभाव बढी देखिन्छ । 

अर्कातिर, कर्ण थापाहरूले विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकियो भने सबै गोलबन्द हुने स्थिति छ भनेर असन्तुष्टि पोख्ने गरेका छन् । शंकरको नेतृत्वप्रति विष्णु, गोकुलहरूको असन्तुष्टि छ । आलोचनाको नाममा ‘अ’ पनि सुन्न मन नपराउने ओलीकै सामुन्ने हालै सम्पन्न पाँचौँ बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले खरो र तितो टिप्पणी गरेका छन् । 

एमालेमा कांग्रेस, माओवादीबाट कोही नगए पनि समाजवादीबाट घर फर्किने नाममा केही गएका छन् । यो पाँच वर्ष विभिन्न उपभोक्ता समिति, विकास समितिहरूमा बाहिरै बस्नुपरे एमालेको हविगत के होला ? त्यसैले कांग्रेस र एमाले नमिली सुख छैन भनेर एमालेको तर्फबाट सन्देश पठाइँदै छ । विद्याले ‘देखिने वा नदेखिने गरी आफू पार्टीको भूमिकामा पछाडिबाट सक्रिय हौँला तर पर्दाअगाडि आउँदिन’ भन्नुभएको छ । उहाँलाई महेश बस्नेत, कर्ण थापाहरूले सक्रिय हुनुपर्‍यो भनी उकासिरहेका छन् ।

अनि, उत्तरतिरको यात्रा

भारतलगत्तै चीन जाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इच्छा अन्ततः पूरा भएन । अब उहाँ अमेरिकाबाट सीधै बेइजिङतिर लाग्नुहुने भएको छ ।

सेप्टेम्बर २३ मा चीनको हाङ्चौमा एसियन गेमको उद्घाटन समारोह छ । त्यही सन्दर्भमा चीन जाने उहाँको योजना थियो । तर, त्यसअघि त्योभन्दा जरुरी काम अमेरिकामा परेपछि भ्रमण सूची संशोधन भएको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सेप्टेम्बर १८ मा आयोजित बैठकमा भाग लिन उहाँले १७ तारिखभित्र त्यहाँ पुगिसक्नुपर्ने भएको छ । उक्त बैठक सिध्याएर २१ तारिखको राति उहाँले न्युयोर्क छाड्नुहुने भएको छ । त्यसरी उहाँ काठमाडौं नआई सीधै चीन जाने तयारी भएको हो । 

 

टिप्पणीहरू