सुन तस्करी काण्डको थप कथा श्रृङ्खला

सुन तस्करी काण्डको थप कथा श्रृङ्खला

नाप–जाँच कहिले–कहिले, हल्ला चल्छ पहिल्यै ! यो हो, हाम्रो देशको नियति । सुनकाण्डमा यस्तै भएको छ । विमानस्थल भन्सारबाट पार भई कारोबारीको हातमा पुगिसक्दा बरामद भएको सुन कति थियो ? यकिन तथ्यांकबिनै हल्ला चल्यो, क्विन्टल भनेर । पहिले राजश्व अनुसन्धान र अहिले प्रहरीबाट भइरहेको अनुसन्धानका क्रममा त्यो परिमाणमा सुन पाइन्छ भन्ने टुंगो छैन । क्विन्टल त नपुग्ने नै भयो ।

तर, यसबीच चल्नुसम्म हल्ला चलिसक्यो । राजश्व अनुसन्धानले पनि परिमाणबारे यकिन गरेको छैन । जति समातिएको थियो, त्यो सुन नेपाल राष्ट्रबैंकमा दाखिला गरिएको छ । त्यहाँबाट उक्त सुन पछि भन्सारमै जान्छ र भन्सार ऐनअनुसार मुद्दा चल्छ । यही काम राजश्व अनुसन्धानले नगरेर प्रहरीले गरेको भए यस्तो हुँदैन थियो । बरु सुन सोझै राष्ट्रबैंकमा दाखिला हुन्थ्यो र त्यसबराबरको रकम निकासा हुन्थ्यो । अहिले राष्ट्रबैंकबाट भन्सार गए पनि हुनेचाहिँ त्यही हो, अन्तिममा राष्ट्र बैंकले सुनको मात्रा जोख्छ, सुन राख्छ र त्यसबराबरको पैसा दिन्छ । एउटा कसुरको अनुसन्धान गर्ने नाममा अनेकन कानुन र निकाय हुँदा यस्तो भएको हो ।

राजश्व अनुसन्धानले बरामद गरेपछि प्रहरीको सहयोगमा कारवाही अगाडि बढाइयो । अब त्यही मामिलालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हेर्न बाँकी नै छ । खासमा नभेटिएको सुन खोज्न सम्पत्ति शुद्धिरकणले काम गर्नुपर्ने हो । भारत लगेको हो भने कसले, कसरी भन्ने कुरा पत्ता लगाउनुपर्छ । यदि यहाँ समात्न सकिएन भने भारतले समातेर सघाउनुपर्छ । त्यसैका लागि पारस्परिक कानुनी सहायता ऐनअनुसार विदेशीसँग समन्वय हुनुपर्छ भनिएको हो ।

एक अर्को देशमा गएको दुई नम्बरी धनका बारेमा सूचना संकलन गर्नसकिने नियम नै छ । जफत भएको सामान जहाँबाट ल्याएको हो, त्यहाँ प्रशासनिक खर्च कटाएर फिर्ता दिने व्यवस्था पनि छ । तर, भारतको पृथकतावादी आन्दोलनमा संलग्न भई नेपालबाट पक्राउ परेका निरञ्जन होजाईको हकमा उनीबाट बरामद भएको रकम भारतले पाएको छैन । बिडम्बना के भने, सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग त खडा गरेको छ । तर, त्यहाँबाट सम्पत्तिसम्बन्धी अनुसन्धान गर्ने ज्ञान, सीप र कला भएका कर्मचारी तयार पारिएको छैन । सामान्यतया त्यस्तो अनुसन्धानकार्य प्रहरीले गर्छ भन्ने मान्यता राखिन्छ । तर, नेपालका प्रहरीले अरु सबै अनुसन्धान राम्रोसँग गर्न जानेका छन् ।

तर, आर्थिक मामिलाको अनुसन्धान गर्नमा भने प्रहरी संगठनलाई निकै कमजोर मानिँदै आएको छ । अनुसन्धानका विधि पनि फरक छन् । राजश्व अनुसन्धानको मान्यता हुन्छ, मान्छे बरु छुटोस्, माल समातियोस् । तर प्रहरीको प्राथमिकता रहन्छ माल बरु ल्याउँदै गरौंला, पहिला मान्छे ल्याएर बयानचाहिँ सिध्याइहालौं । मान्छे ल्याइसकेपछि फोरेन्सिक परीक्षण र सम्पर्क सूचीका आधारमा थप विवरण आउँछ भन्ने आशा प्रहरी अनुसन्धानले गर्दछ । अहिलेको सुन प्रकरणमा पनि राजश्व अनुसन्धानले सबै अनुसन्धान गर्‍यो । तर, फोरेन्सिक परीक्षण र सिडिआर (फोन विवरण) अध्ययन गर्न उसका अनुसन्धानकर्मीले नसक्दा प्रहरीको सहायता आवश्यक पर्‍यो ।  

भन्सारबाट पार भएको सुन समातिनाले त्यसको नेटवर्क छिन्नभिन्न भएको राजश्व अनुसन्धानसम्बद्ध कर्मचारीहरु बताउँछन् । गेटमा समातेर उक्त सुन भन्सारलाई दिएको भए भरियामात्रै समातिन्थे । त्यसपछि पनि सामान त आउँथ्यो, मात्रै सामान ल्याउने तरिका फेरिन्थ्यो । तर, यसचोटि श्रीलंकामा लिट्टे सकिएजस्तै भयो, यो गिरोहको नामोनिशान मेटियो । राजश्व अनुसन्धानले सुन तस्करीमा संलग्न व्यक्तिहरु बसेको वेश्यालयमा समेत पुगेर समात्यो । त्यसक्रममा ६ सय ठाउँको सिसिटिभी फुटेज संकलन गर्नुपर्ने ठहर भयो ।

काठमाडौंमा तस्करहरु हिँडेको क्षेत्रको फुटेज संकलन गर्नु पर्ने भएको हो । यो काम पुरा नहुँदा उनीहरुले त्यसरी ल्याएको सुन कहाँ–कहाँ दिए भन्ने पत्ता लगाउन सकिएको छैन । गाडी जहाँ–जहाँ रोकिन्थ्यो, त्यहाँबाट सुन लुकाउँदै हिँडेको अनुमान गरिएको छ । त्यसक्रममा टोखामा सुनको बिस्कुट बनाएर क–कसलाई दिए भन्ने कुरा पत्ता लगाउन बाँकी छ । सुन दिने क्रममा उनीहरुले गाडीको स्टार्ट बन्द नगरी हाताहाती दिएको फुटेजमा देखिन्छ । अब त्यसरी पत्ता लागेका मान्छे समात्न बाँकी छ । 
 

टिप्पणीहरू