रोडाढुंगाको नाम, तनाव दिने काम
स्थानीय तहको अधिकारक्षेत्रभित्र रहेको दाबी गर्दै प्राकृतिक स्रोतमा आधारित खानीजन्य सामग्री उत्खननको विषयले नयाँ खालको विपद् र तनाव सिर्जना हुने अवस्था निर्माण भएको छ । ललितपुरको दक्षिणी भेकमा वर्षाको बेला बस्ती नै विनाश हुने गरी बाढी जाने गरेको अवस्थाले बर्सेनि विस्थापितको संख्या बढेको छ । स्थानीय तहको आन्तरिक आम्दानी वृद्धि नगर्ने हो भने आन्तरिक स्रोततर्फका कर्मचारीलाई तलब खुवाउन नसकिने भएको भन्दै बस्तीको अवस्थालाई उपेक्षा गर्दै ढुंगा–गिट्टी उत्खननको काम अगाडि बढाएका गाउँपालिका थप विवादमा परेका छन् ।
ललितपुरको काँठ क्षेत्रको गोदावरी नगरपालिका र दक्षिणका बागमती, कोन्ज्योसोम र महांकालमा नदीजन्य पदार्थको न्यून मूल्यमा उत्खनन भइरहेको छ । प्राकृतिक स्रोतमा आधारित उत्खनन गरिएका रोडा, ढुंगा तथा बालुवा गोदावरी नगरपालिकाको मुख्य आम्दानी रहेको छ । यस वर्ष पनि २५ करोड रुपैयाँमा निकासी कर ठेक्का गरिएको छ ।
तर, यतिधेरै आन्तरिक आम्दानी जुन क्षेत्रबाट गरे पनि नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयलाई लाभ हुने कुनै काम नगरेको, वातावरण संरक्षणका नाममा छिटफुट कार्यक्रमबाहेक नभएको र प्राकृतिक स्रोतको संरक्षणमा ध्यान नदिएको आरोप छ । प्राकृतिक स्रोत उत्खनन प्रभावित क्षेत्रका विद्यालयमा बालबालिका अध्ययन गर्नै नसक्ने ध्वनि प्रदूषण हुँदा र नख्खु खोलाको पानीमा बालुवा मिसिएर छम्पी, लेले, डुकुछाप क्षेत्रका खेत मरुभूमीकरण हुँदासम्म नगरपालिका मौन बसेर गैरजिम्मेवार भएको आरोप छ ।
बालुवा वासिङको नाममा बागमती गाउँपालिकाका पूर्व वडाध्यक्ष विष्णु तिमल्सिनाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरूसँगको मिलेमतोमा सर्वदलीय सहमति बनाएर बागमती ३ भट्टेडाँडामा बालुवाखानी नै चलाइरहेका छन् । उनकै समूहले वडा नं ५ इकुडोलमा पनि ढुंगा–गिट्टी तथा बालुवा खानी सञ्चालन गरिरहेको छ ।
वडा नं ३ मा चलाइएको बालुवाखानीले काठमाडौँ–हेटौंडा जोड्ने कान्तिलोकपथ प्रत्यक्ष प्रभावित भएको छ भने पहिरोका कारण त्यस क्षेत्रका बस्ती विस्थापित हुने क्रम बढेको छ । वडा नं ३ र ५ मा सञ्चालन भएको बालुवाखानीका कारण स्थानीय खेतीयोग्य जमिनमा समेत बालुवा प्रवेश गरेर मरुभूमीकरण बढेको छ भने इकुडोलमा रहेको हाइड्रोपावरमा वर्षको ४ देखि ५ पटकसम्म लेदो जमेर बिजोक भएको हाइड्रोपावर सञ्चालकहरूको गुनासो छ ।
यस्तै, यस वर्षबाट कोन्ज्योसोम गाउँपालिकाको वडा नं १,२ र ३ अर्थात् चौधरे, शंखु र दलचोकीमा ढुंगागिट्टी तथा बालुवा उत्खनन तथा संकलनका लागि प्रक्रिया शुरु गरिएको छ । ढुंगा–गिट्टी उत्खनन तथा संकलनको प्रस्ताव कार्यपालिका बैठकमा आउँदा अध्यक्ष कृष्णमान लामाको समेत पूर्ण सहमति नभएको अवस्थामा कसरी पास भएर प्रक्रिया अगाडि बढ्यो रहस्यमय छ भन्दै गाउँपालिकामा गाइँगुइँ चलेको छ ।
गाउँपालिका उपाध्यक्ष राजन घिमिरेलाई रोडा ढुंगा तथा बालुवा व्यवसायीले प्रभावमा पारेको भन्दै एउटा समूहले घिमिरेको आलोचना गर्न थालेको छ भने नेकपा एमालेसम्बद्ध नेताहरूको स्वामित्वमा चौघरेमा पहिल्यै ढुंगा खानी दर्ता गरिएको अवस्था र अन्यत्रबाट प्रस्ताव आउँदा एमालेको मौनतामा काम गर्न सजिलो हुने विश्लेषण गरिएको हुन सक्ने बताइएको छ ।
टिप्पणीहरू