एयरपोटैमै आइलागेको आपत

एयरपोटैमै आइलागेको आपत
सुन्नुहोस्

एक जना तिब्बतीयन नागरिकलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको छ । पारिवारिक भेटघाटका लागि नेपाल आएका उनी विमानस्थल सुरक्षा कार्यालयको हिरासतमा छन् । 

कुबेत एयरवेजको उडान नम्बर केयु ३९३ मार्फत २७ गते शनिवार नेपाल आएका सोनाम छिरिङलाई अध्यागमन कार्यालयले रोकेको थियो । सय किलो सुन विमानस्थलबाट समातिएपछि मुलुकमै तहल्का मच्चिएको बेला अर्का एक जना तिब्बती पक्राउ पर्नुले प्रश्न खडा हुनु स्वाभाविकै हो । 

यद्यपि, अध्यागमनले भने यो विषयमा छुट्टै व्याख्या गरेको छ । भिसा छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको अध्यागमनले जनाएको छ । उनको साथबाट अमेरिकी सरकारले जारी गरेको ट्राभल डकुमेन्ट र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासबाट जारी भएको भिसा मात्रै फेला परेको अध्यागमन स्रोतले बतायो । ट्राभल डकुमेण्ट नम्बर ४०१४३२५६६ भएका उनले बिना पासपोर्ट कसरी भिसा पाए शंकास्पद छ ।

उनीसँग न नेपालको राहदानी छ न त अमेरिकाको । सुरक्षा कार्यालयले सोधपुछ गर्दा उनले आफूसँग कुनै पनि मुलुकको राहदानी नभएको स्विकारेका छन् । मात्र ट्राभल डकुमेण्टका भरमा नेपाल छिरेका उनलाई समाउनुको कारण यही मात्र भएको स्रोतको दाबी छ । अध्यागमन विभागले ट्राभल डकुमेण्टमा अहिलेसम्म भिसा जारी गरेको छैन र गर्दा पनि गर्दैन । 

विभागले अप्ठेरो परेको अवस्थामा भने बाधा–अड्काउ फुकाउने काम गर्दै आएको छ । प्रक्रिया नबुझेकालाई सहजीकरण गर्न विभागले सो नीति लिएको हो । सोनामको जस्तो समस्यामा परेकालाई विभागले सोही नीतिमार्फत सहयोग गर्ने गरेको छ । अध्यागमनले सोनाममाथि छानबिन सकाइसकेको छ । सोनाम नेपालमा ‘अनअराइभल’ भिसा पाइने भन्ठानेर ट्राभल डकुमेण्टमा आएको स्रोतको जिकिर छ ।

यद्यपि, अध्यागमनले ट्राभल डकुमेण्टका आधारमा ‘अनअराइभल’ भिसा दिँदैन । सोनामलाई बाधा–अड्काउ फुकाउ नीतिमार्फत छोडिने अध्यागमनले जनाएको छ । अध्यागमनका हाकिम हाल बिदामा भएकाले उनी थप केही दिन सुरक्षा कार्यालयको निगरानीमा बस्नुपर्ने भएको छ । स्रोतका अनुसार सोनामलाई ग्यारेण्टी र फर्किने टिकटको आधारमा एकाध दिन नेपाल बस्न दिइन्छ । त्यसपछि उनी अमेरिका फर्किनै पर्नेछ ।

‘उहाँले नेपालमा रहँदाको योजना, फर्किने टिकटलगायत सबै डकुमेण्ट बुझाइसकेपछि छोड्छौं । टिडी होल्डर भएकाले धेरै समय यहाँ बस्न पाउनुहुन्न । दुई चार दिन बसेर फर्किनुपर्नेछ’, स्रोतले भन्यो ।

 

टिप्पणीहरू