एउटा दुःखीको अकल्पनीय अन्त्य
भनिन्छ, दुःखीलाई दुःखले नै खान्छ ! सशस्त्र एसपी सुमन थपलियाले दुःखै दुःखमा जिन्दगी बिसाए । पत्नीलाई फोनमा ‘गाह्रो भयो !’ भन्दाभन्दै ढलेका सुमन फेरि उठेनन्, सधैंका लागि ढलिरहे ।
भदौ २ गते, शनिवार पर्सास्थित १३ नं. गणमा कार्यरत उनले अरुभन्दा फुर्सदिलो दिनको सदुपयोग गरे, साइक्लिङबाट । बिहानैदेखि गणबाट निस्किएका उनी बाराका विभिन्न जंगली बाटोहरु पार गर्दै केही घण्टामा फर्किए, थकानसहित । कसैसँग केही भन्न भ्याएनन् । अप्ठेरो हाउभाउमा पसिना पुछ्दै कोठाभित्र छिरेका उनको अर्को हातमा मोबाइल थियो । पोखरामा रहेकी पत्नीसँग आफूलाई परेको अप्ठेरो सुनाइरहेका थिए । तर, न सुमनले पत्नीलाई सुनाउनुपर्ने जति कुरा सुनाउन पाए, न त पत्नीले नै भन्नुपर्ने कुरा भन्न पाइन् ! किनभने, बोल्दाबोल्दै एक्कासी बोलि रोकियो । धेरै बेर नबोलेर फोन खसेको आवाज सुनेपछि पत्नीले अफिसको सञ्चारलाई भनिन्, ‘उहाँ बोल्दाबोल्दै बोल्नै छोड्नुभयो । के भएको होला ?’ त्यसपछि अफिसका स्टाफहरु हेर्न गए । सुमन ढलिसकेका थिए । त्यहाँबाट सीधै अस्पताल पुर्याइयो । पुग्नासाथ चिकित्सकले भने, ‘हि इज नो मोर !’ (उहाँ जीवित हुनुहुन्न !)
आफूले कमाण्डो तालिम गरेकोमात्र नभई अरुलाई उक्त तालिम गराउनमा पनि सिपालु मानिने सुमनको आदत थियो, व्यायामको । फुर्सद हुनासाथ शारीरिक सुगठनमा ध्यान दिने उनी प्रायः लामो साइकल यात्राबाट आनन्द लिने गर्थे । साइक्लिङलाई व्यायामक्रियामा पूरै शरीर प्रभावित हुने अभ्यास मानिन्छ । तर, मौसम, रक्तचाप र शरीरमा पानीको सन्तुलन बिग्रियो भने यस्तो व्यायाम जोखिमपूर्ण हुने गरेको छ । यस्तै हुँदा नेपालगञ्ज निवासी प्रहरीका तत्कालिन एसएसपी राजेन्द्रमान श्रेष्ठ धरानमा व्याडमिन्टन खेल्दाखेल्दै ढले । आठ वर्ष भयो, होस खुलेको छैन । बेलाबेला शारीरिक सन्तुलनमा गडबडी हुँदा सुमन त्यसअघि पनि ढल्ने गरेका थिए । त्यसैले उनलाई शुभचिन्तकहरुले बढी व्यायाम नगर्न सुझाव दिन्थे । उनले भने व्यायामलाई नशाकै रुपमा लिए । नुवाकोट पुख्र्यौली थलो र काठमाडौंको नेपालटार बस्ने उनी काठमाडौंमा हुँदा नागार्जुन जंगल, ओशोतिर साइक्लिङमा रमाउँथे । सशस्त्र मुख्यालयभित्रैको फिटनेश सेन्टरमा बाँकी व्यायाम गर्ने उनले सरुवा भएर वीरगञ्ज गएपछि पनि यस्तो क्रम जारी राखे ।
गणको कमाण्ड गर्नुपर्ने कारण सधैं समय कम हुँदै थियो । शनिवारको छुट्टीमा भने लामो दूरीको साइकल यात्रा रोज्थे । भनिन्छ, उनलाई मौसम र स्वास्थ्य सन्तुलनले साथ दिएको थिएन । बारा–पर्सा भनेको सामान्यतया काठमाडौंको तुलनामा ८ देखि १० डिग्री तापक्रम बढी हुने ठाउँ हो । पसिनाको अत्यधिक बहावले शरीरमा शिथिलता आउनुका साथै मुटु र फोक्सोको बीचको सम्पर्कलाई अवरुद्ध पार्ने खतरा बढी हुन्छ । किनभने, पसिना बगेसँगै शरीरमा पानीको कमी भइरहेको हुन्छ । चिकित्सकहरुले अत्यधिक थकानकै स्थितिमा पानी पिउने कार्यलाई खतरापूर्ण मान्ने गरेका छन् । अनुमान छ– या त प्यास खप्न नसकेर कतै सुमनले थकित स्थितिमै पानीको अत्यधिक सेवन गरे, जसले गर्दा मुटु र फोक्सोको नियमित क्रियालाई अवरोध पुर्याउने सम्भावना रहन्छ । या, शरीरमा पानीको चरम अभाव हुँदा फोक्सोले मुटुलाई दिनुपर्ने जति अक्सिजन पुर्याउन सकेन । त्यसैले उनी ढले, उठ्न सकेनन् । त्यहीबीचमा मुटु अवरुद्ध भयो । ढल्ने क्रम सुमनको हकमा पहिलो थिएन । त्यसअघि पनि समय समयमा ढल्ने र उठ्ने गरेका थिए । दक्षिण सुडानको मिशनमा हुँदा त्यसरी नै ढले । तत्कालै उपचार पाएका कारण ज्यान जोगियो । शनिबार भने उठेनन्, सारा हितैषीलाई रुवाएर बिदा भए ।
लाइबेरिया मिशनमा हुँदा सशस्त्रकै एकजना हाकिम फुटबल खेल्दाखेल्दै ढलेका थिए । बेलैमा अस्पताल लगेपछि सुरक्षित भए । खनाल थरका इस्पेक्टर दुवाकोटमा व्याडमिन्टन खेल्दाखेल्दै त्यसरी नै ढले । उनको पनि समयमै उपचार भयो, बाँचे । सुमनले भने समयमा उपचार पाएनन् । किनभने, उनी ढलेको अनुमान कसैले गर्नै सकेन । जतिबेला देखिए, ढिला भइसकेको थियो । अनुमानहरु जे–जस्ता भए पनि सुमनका जीवनमा दुःख नै दुःख थिए । दाइले नेपालटारस्थित तीन तले घर धितोमा राखे । बैंैकको ऋण खाएर बेपत्ता भए । सुमनको जागिर थियो, जीवन जसै चलेकै थियो । पत्नी पोखरा बस्छिन्, सन्तान छैनन् । भाइ थिए, गत वर्ष हृदयघातका कारण निधन भयो । जागिरको दुःखबाट आर्जित रकमले नेपालटारमा आफ्नै स्वामीत्वको घर निर्माण गरिरहेका थिए । घर त जसोतसो बन्ला, तर त्यहाँ सुमनको बास नहुने नै भयो ।
उनले पोखराको लाम्पाटनमा कमाण्डो तालिम गरेका हुन् । सेनाको माउण्टेन वारफेयर कोर्ष मुस्ताङको कैसाङ्गमा गरे । रक क्लाइम्बिङको तालिम लाम्पाटनपछाडिको भीरमा गराए । पछि त्यो टोली झापा, इलाम गयो, जनकपुर, वीरगञ्ज हुँदै फर्कियो ।
वीरगञ्ज जानुअघि हल्चोकस्थित महानिरीक्षकको सचिवालयमा थिए । वीरगञ्ज समस्याग्रस्त भएपछि उनलाई पठाइएको हो । उनी आफ्नो व्याचबाट पहिलो लटमा एसपी हुनेभित्र पर्छन् । शुरुमा १७–१८ जनाको बढुवा हुँदैमा उनी पर्दै आएका थिए । हल्चोकमा उनका सहकर्मीहरु भन्छन्, ‘वीरगञ्ज नाका टाइट गरेपछि केही पत्रकार उनीदेखि असाध्यै आगो भएका थिए । त्यसको प्रकटरुप तिनका समाचार नै हुन् । सुमनको असामयिक निधनमा तनावको भारी बोकाइरहने चौथो अंगको पनि ठूलो योगदान छ ।’
टिप्पणीहरू