इमरान खानले सिकाएको र भोगेको पाठ
पाकिस्तानी क्रिकेटर इमरान खान उमेर ढल्कने र सत्ताको भूत चढ्ने भएपछि राजनीतिक मैदानमा ओर्लिएर सबैलाई गाली गर्न थाले । नवाज सरिफहरूलाई ‘चोर र भ्रष्ट’ भन्दै तीर हाने । नेताजति सबै ‘भ्रष्ट’ हुन् भन्दै आफैँ नेता भए । राजनीतिमा चोर र भ्रष्टको मात्र बोलवाला भएकाले विसंगति पखाल्न आफू आएको उद्घोष गरे । भ्रष्टाचार, हिंसा र हत्या, कुशासन, बेथिति, विकृति र राजनीतिक अस्थिरताले पिल्सिएका पाकिस्तानी जनताले क्रिकेटरको नारा पत्याए । पाकिस्तान अब सदाका लागि भ्रष्टाचारबाट मुक्त हुने सोचे । सैनिक निरंकुशता, दमन र अत्याचार, भ्रष्टाचार र विकृतिबाट आजित भएका जनताले खानलाई भ्रष्टाचारविरोधी र सच्चा नेता ठाने । निर्वाचनमा खानको बहुमत आयो । केही समय सत्तामा बसेर फेरि पुराना दल तथा पार्टीलाई चोर भन्दै गालीको आगो ओकले । नौटंकी, जोकरी र स्टन्टवाजी गर्न खप्पिस खानले पाकिस्तानलाई बदल्ने भने । उनी अहिले आफैँ भ्रष्टाचारमा अदालतबाट दोषी भएर जेल गए । उनीमाथि दर्जनौं मुद्दा छन् ।
नेपाली राजनीतिमा पनि अहिले इमरान खानका भ्रुण र भुराहरूको जन्म भएको देखिन्छ । अनेक कानुनी–गैरकानुनी धन्दा र हर्कत गरेर अकुत कमाएकाहरू क्रान्ति, संघर्ष र योगदानलाई केही होइन भने जस्तो गरी इमरान शैलीमा ‘चोर र भ्रष्ट’ भन्दै लोकतन्त्र र गणतान्त्रिक संघर्षको इतिहास भएका दललाई हिलो छ्याप्दै छन् । सारमा यी र यस्ता प्रवृत्ति राजावादी हर्कत हुन् । राजनीतिक दल खोलेर पनि नामचाहिँ स्वतन्त्र राखेको पार्टीले इमरान खानकै शैली पक्डेको देखिन्छ । आफ्नो र परिवारको नाममा सहकारी र अन्य संस्थाबाट ठगी गरिएका अनेक आरोप लाग्दै छन् । जोकरी पनि कस्ता–कस्ता ? सभापति ११ कक्षा पढेको, केन्द्रीय सदस्यचाहिँ एमए पास चाहिने । अरुलाई गाली गर्नुदेखि बाहेक राजनीतिमा एउटा पनि योगदान, भूमिका र त्याग नभएकालाई नेता मान्नुपर्ने कस्तो अवस्था ?
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन (१८०९–१८६५) ले लोकतन्त्रलाई ‘जनताले, जनताको लागि, जनताद्वारा’ ल्याइएको शासन भनेका थिए । लोकतन्त्रको विकल्प अझ जनआधारित, पारदर्शी र सुशासनमा आधारित प्रणाली हो तर नेपालमा देखिएका इमरान खानका प्रतिलिपिले राजनीतिलाई खेलाँची र ठट्टा गर्दै लोकतन्त्रलाई बदनाम बनाउँदै छन् ।
यसबीच पाँच वर्षमा जनतालाई एक दिन लोकतन्त्र आउने, बाँकी समय टालाटुली खालका इमरानहरूलाई रमाइलो खेल्ने माध्यम बन्न थाल्यो राजनीति । विश्वका २८ मुलुकले मात्र संघीयता अपनाएको भए पनि ठूला भूगोल, जनसंख्या र अनेकौं विविधता भएकामा संघीय शासन लागु भएको देखिन्छ । अमेरिका, रुस, भारत, द.अफ्रिका, अष्ट्रेलिया, क्यानाडालगायत मुलुकमा संघीय शासन छ । युरोपको कतिपय कम जनसंख्या भएका मुलुकमा पनि संघीय शासन छ । स्विजरल्याण्ड, नर्वेजस्ता मुलुकले अपनाएको संघीयतालाई उत्कृष्ट मानिएको छ । नाइजेरिया, इथियोपिया, पाकिस्तान, इराकजस्ता मुलुकमा लागू भएका संघीयताचाहि“ बदनाम छन् ।
फ्रान्सेली दार्शनिक जिन ज्याक रुसो (१७१२–१७७८) ले निरंकुशता र व्यक्तिको शासनले नागरिक तथा राज्यबीच द्वन्द्व सिर्जना गर्ने भन्दै सन् १७६२ मा ‘द सोसल कन्ट्रयाक्ट’ नामक पुस्तक लेखे र ‘सामाजिक करार’ मा जोड दिए । मन्टेस्क्यु (१६८९–१७५५) ले राज्य सञ्चालनमा एक व्यक्ति र संस्थाको नियन्त्रणले शासनमा निरंंकुशता हुने भन्दै शक्तिपृथकीकरणको सिद्धान्त प्रतिपादन गरे । नेपालको संविधानमा शक्तिपृथकीकरणको उचित प्रबन्ध गरिएको भए पनि व्यवहारतः कार्यकारी अधिकार भएको सरकार अदालत र संसदमा हावी हुँदा प्रणालीमाथिका ठट्टा बढ्दै गएका हुन् । नेपालमा विधिको शासन कमजोर छ ।
इमरान खानले जस्तै नेपाली राजनीतिमा तीव्र रूपमा आरोप, प्रत्यारोप, आक्षेप र हिलो छ्यापाछ्यापको कुसंस्कृति यसरी बढाइयो कि भन्नेलाई भन्दा सुन्नेलाई चाहिँ लाज लाग्ने अवस्था छ । आर्थिक, सामाजिक मात्र होइन फौजदारी प्रकृतिका गम्भीर आरोप–प्रत्यारोपले समाज नै दूषित बन्दै छ । पार्टी र गुटको हिसाब नमिल्नेबित्तिकै जस्तो पनि आरोप लाग्ने–लगाउने गरिएको छ । डा. बाबुराम भट्टराईले गोरखामा प्रचण्डलाई अरबौंको भ्रष्टाचार गरेको तथ्य–प्रमाण आफूसँग भएको घोषणा गरेका थिए । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रत्येक दिन एक नेताले अर्काे नेता वा दललाई लगाउने आरोप–प्रत्यारोप सुन्दा लोकतन्त्रमाथि ठट्टा–मजाक गरेझैँ लाग्छ । नयाँ इमरान खानरूपी दल र व्यक्तिको एउटै काम भनेको सामाजिक सञ्जालमा गाली गर्नु मात्र भएको देखिन्छ ।
भ्रष्टाचारमा जेल बसेर फर्कंदा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको गलामा दर्जनौं माला लागे । शरणार्थी मुद्दामा प्रहरीले पक्राउ गर्दा टोपबहादुर रायमाझीले विजयी मुद्रामा हात हल्लाए । भ्रष्टको शीर निहुरिनुपर्नेमा ठाडो भयो । स्विजरल्याण्डमा राजनीति र सत्ता सञ्चालकमध्ये थोरैलाई राज्यबाट तलब–भत्ता हुन्छ । आर्थिक उपार्जनको लागि आफ्नै पेशा–व्यापार गरेर राजनीतिलाई सकेको सेवा दिने संस्कृति छ । नेपालमा राजनीतिलाई पूरै पेशा–व्यापार जस्तो बनाएर परिभाषित काम केही नगर्ने तर ठूलो आर्थिक हैसियत तथा खर्च गर्ने संस्कृति छ । सवारी चालक प्रमाणपत्र लिन वर्ष दिन लाइन लाग्नुपर्ने किन ?
टिप्पणीहरू