पार्टी एक, नियुक्ति अनेक
एमालेको भृकुटीमण्डपमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपालसङ्ग अध्यक्षका निम्ति प्रतिस्पर्धा हुँदा केपी ओलीको निम्ति सचिवालयमा रहेर डाटा प्रशोधनमा खटिएका थिए खोटाङ्गका कल्याण रोक्का । उनलाई पहिले नै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जीएम बनाइएको थियो । त्यसपछि तत्कालीन एमाले अध्यक्ष र उपाध्यक्ष विद्यादेवी भण्डारीको पहलमा उच्च अध्ययनको लागि भन्दै चीन पठाइयो । उनले के विषयमा पीएचडी गरे केही खुलाइएको छैन ।
तर,एकाएक भदौ १ गते सोमवारको क्याबिनेट बैठकबाट उनलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा राज्यमन्त्रीसरहको सुविधा प्रदान गर्नेगरी नियुक्ति दिलाइएको छ ।
सञ्चार मन्त्रालय मातहतका निकायमा ५७ वटा नियुक्ति एक्लौटी ढङ्गले गरिएको पूर्वमाओवादी खेमाको गुनासो छ ।
पूर्व एमाओवादीनिकट मन्त्रीहरूले सम्हालेका मन्त्रालय मातहतका नियुक्तिहरू सबै रोकिएको छ । वन मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोषको नेतृत्व लामो समयदेखि रिक्त छ । प्रधानमन्त्रीले चासो नदिँदा कर्मचारीबाट कामचलाउ मात्र भएको छ । वन मन्त्रालयअन्तर्गतकै टिम्बर कर्पोरेशन र राष्ट्रपति चुरे कार्यक्रमका रिक्त पदमा पनि नियुक्ति नगरी अड्काइएको छ ।
ऊर्जा मन्त्रालयमातहत विद्युत नियमन आयोगको अध्यक्षमा पनि मन्त्रीले प्रस्ताव गरेभन्दा फरक व्यक्तिलाई नियुक्त गरियो । उता सञ्चार मन्त्रालय मातहतका निकायमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र हालका मन्त्री युवराज खतिवडासहितबाट ५७ वटा नियुक्ति एक्लौटी ढङ्गले गरिएको पूर्व माओवादी खेमाको गुनासो छ । भूमिसुधार मन्त्रालयको प्रस्तावमा बनाइएको भूमि ब्यवस्था आयोगमा अध्यक्षलगायत पाँचै जना बालुवाटार पक्षधर राखियो । नेपाल रेडक्रस,समाज कल्याण परिषद्,बाल संगठनमा गरिएको पछिल्लो पुनर्गठनमा पनि अरुले चियाउनसमेत पाएनन् । यसरी एक्लौटी ढङ्गले गरिएको नियुक्तिको फेहरिस्त छलफलको लागि नेकपा कार्यदलमा पुगिसकेको बताइएको छ ।
हिजो एउटा टेलिभिजनमा बोल्दै पूर्व सञ्चारमन्त्री बाँस्कोटाले महाधिवेशनअघि प्रचण्डलाई अध्यक्ष पदको तमसुक गरेर दिन नसकिने बताएका थिए । बाँस्कोटाको कथन र सरकारले गरेको एकपक्षीय नियुक्तिले महाधिवेशनको व्यवस्थापन र सेटिङ्गको प्रारम्भ भइसकेको अनुमान त खुमल्टारले गरेको छ तर बालुवाटार जाने,कराउने र त्यसपछि कुरै हराउने प्रचण्डको विशेषता नै हो ।
टिप्पणीहरू