एमालेमा राजा–रानी र प्रधानमन्त्रीको खोजी

एमालेमा राजा–रानी र प्रधानमन्त्रीको खोजी

एमालेभित्र फाँटिरहेको धाँजा लुम्बिनी प्रदेशको अधिवेशनले झन् बाक्लो बनाएको छ । अध्यक्ष केपी ओलीले उद्घाटनदेखि बन्दसत्रसम्म बसेर सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिनुभयो । तर, पार्टीभित्र विकास हुन थालेको दुई ध्रुवीय संघर्ष पटाक्षेप हुने गरी चुनाव भयो । 

शुरुदेखि केपी ओलीसँग नजिक रहेर पाल्पामा सोम पाण्डेदेखि ठाकुर गैरेसम्मलाई टिक्न नदिने राधाकृष्ण कँडेल एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा छानिएका छन् । उनी ओलीप्रति आशक्त भए पनि उहाँले नै छानेर बनाउनुभएका महासचिव शंकर पोखरेल पक्षका भने हैनन् । लुम्बिनी प्रदेशमा एमालेभित्रै एकथरि शंकरपक्षीय र अर्काथरि विष्णु पौडेलपक्षीय हुने क्रममा उनी विष्णुतिर देखिएका हुन् । त्यही कारण शंकरले प्युठानका हरि रिजाललाई अध्यक्षमा उठाएका थिए ।

उनको मुख्य चिन्ता हो, प्रदेशमा आफ्नो साधनस्रोत परिचालन गर्ने र त्यसका लागि पार्टी इञ्चार्ज बन्ने, प्रदेश राजधानी सार्नेदेखि मुख्यमन्त्री हुँदा अर्थ मन्त्रालय आफैंले राख्नेसम्मको काम गरे । यस्तै ‘अति’ गर्दा चुनावमा आफ्नो र चुनावताका ठूलो फोटो राखेर भावी प्रधानमन्त्री, पार्टीको भावी अध्यक्ष भनी प्रचार गराए ।

यस्तो भएपछि मेयर तथा पोलिट्व्युरो सदस्य नरुलाल चौधरीले कुनै एउटा भेलामा दिइएको भाषणको अडियो क्यासेट बालकोटलाई बुझाएका थिए । त्यसैमा ओलीले शंकर र सुजिताको जोडीप्रति कटाक्ष गर्दै भन्नुभयो– ‘यिनीहरुले त राजारानी नै घोषणा गर्छन् कि क्या हो ?’ यस्तै ‘अति’ का कारण शंकरले स्थानीय तहमा राम्रो परिणाम ल्याएको दाङमा पराजय व्यहोर्नुपरेको थियो । अध्यक्ष ओलीले एकदिन नरुलालहरुको कुरा सुनेपछि शंकरतिर घोचपेच गर्नुभयो– ‘कहाँको प्रधानमन्त्री हुने रहेछ, दाङको हो कि क्या हो ?’

हरि रिजाल लामो समयदेखि वामदेवपक्षीय कार्यकर्ता हुन् । सोही पक्षबाट प्यूठानमा पार्टी अध्यक्ष पनि भए । पछि शंकरको क्याबिनेटमा मन्त्री भएपछि वामदेवको साथ छाडे । गत वर्ष सम्पन्न प्रदेशसभा निर्वाचनमा सूर्य थापाकै योजनाअन्तर्गत हराइए र त्यो क्षेत्रबाट कांग्रेसका रोज राणाले जिते । भनिन्छ, रोजबाट सूर्यले कांग्रेस मत लिने र त्यस भेगको एमाले मत दिने समझदारीभित्र हरि सहिद भएका हुन् । अहिलेको प्रदेशसभा अधिवेशनमा पनि सूर्य हरिको पक्षमा थिएनन् । हरि प्यूठानमा राम्रो जनाधार भएका व्यक्ति मानिन्छन् । 

शंकरले चुनावमा आफ्नो फोटो झुण्ड्याएको दृष्टान्त पार्टीको केन्द्रीय बैठकसम्म प्रस्तुत भयो । विष्णु पौडेलले फोटो टाँस्ने सम्बन्धी मापदण्ड बनाउनुपर्छ भनेपछि अध्यक्ष ओलीले जिवित नेतामध्ये आफ्नोमात्रै फोटो राख्ने गरी निर्देशन जारी गर्नुभयो । दिवंगत तीन नेता (मदन, आश्रित, मनमोहन) को मात्रै फोटो राख्ने भन्दा पनि हुन्थ्यो । तर, तीनजनाको सानो र आफ्नो ठूलो फोटो राख्ने गरी सर्कुलर जारी भयो । 

लुम्बिनीको अधिवेशनमा गोकर्ण विष्ट, पद्मा अर्याल, छविलाल विश्वकर्माहरु राधाकृष्णको पक्षमा थिए । हरिको पक्षमा शंकरसहितका केही नेता लागे । दाङकै नरुलाल शंकरतिर लागेनन् । 

टिप्पणीहरू