कान समात्नुपर्नेलाई नेता कमरेड

कान समात्नुपर्नेलाई नेता कमरेड

संसद्भित्र कमरेडहरूका पाँचवटा जति पार्टी छन् । संसद् बाहिरका कमरेडहरूलाई झन् ठूलो दुःख छ । एउटै उद्देश्य र समान राजनीतिक दर्शनमा आधारित पार्टीहरूको केन्द्रीकरण, ध्रुवीकरण र एकता राम्रो कुरा हो । हामीजस्तो पराइभूमिमा बसेर देशप्रती माया साँच्नेहरूका लागि त झन् हर्षको कुरा हो । तर एकताको नाममा पदका लागि राजनीतिक इतिहास नै बिर्सनुचाहिँ लाजमर्दो कुरा हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालसम्बद्ध घटक पार्टीहरूको विगत माओवादी जनयुद्धसँग अविच्छिन्न रूपले जोडिएको छ । ०६९ असारमा प्रचण्डसँग सम्बन्धविच्छेद गरेर ड्यास माओवादी निर्माण गर्दा मोहन वैद्य किरण सर्वमान्य नेता थिए । सिपी गजुरेल, बादल, देव गुरुङ र विप्लव त्यसपछि सोपान क्रममा रहे । 

बूढाहरूको नेतृत्वमा क्रान्ति सम्पन्न हुँदैन भन्दै विप्लव बटारिएर हिँड्ने बेला पोलिटब्युरोका सदस्य धर्मेन्द्र बाँस्तोला उनलाई कन्भिन्स गर्ने भनेर गएका थिए, पछि विप्लवले उनैलाई कन्भिन्स गरे । अहिले बाँस्तोलाले पार्टी एकताको नाममा किरणपछिको स्थान दाबी गर्दै आइरहेको एउटा विज्ञप्तिमा गजुरेलभन्दा अगाडि नाम राखेकोले नै प्रष्ट पार्छ । जबकि त्यो पार्टीमा सिपी गजुरेल मात्रै हैन, रामसिंह श्रीस, परि थापाजस्ता लामो समयसम्म मुख्य नेतृत्व सम्हालेर एकता प्रक्रियापछि समाहित भएका नेताहरूको ठूलै पंक्ति क्रियाशील छ । 

सुदर्शन लामो समयसम्म प्रचण्डकै नेतृत्वमा रहेर वैद्य/विप्लवभन्दा पछि प्रचण्डबाट अलग भएका हुन् । उदयबहादुर चलाउनेबाहेक हिजो संयुक्त पार्टी हुँदा मुस्किलले जिल्ला इञ्चार्जसम्म भएका देखि इलाका इञ्चार्जसम्म भूमिका निर्वाह गर्नेहरू नीति निर्माण तहमा पुर्‍याइएका छन् । 

अहिले धेरै हदसम्म वैद्य र केही मात्रामा बाँस्तोलाको पार्टी कार्यकर्तालाई पार्टी एकतामा नजाने गरी प्रभावित पारेको छ । क्रान्तिकारी माओवादीभित्र अध्यनशील मानिएका अशोक शर्माहरू नयाँ जनवादी मोर्चा नामका छुट्टै संयन्त्र गठन गर्दै हिँडेका छन् । चितवन जिल्लाको पूर्वसचिव रहेका शर्मा आफूभन्दा जुनियर मान्छे बहुमतबाट ल्याएर सिनियर बनाइएको कारण विद्रोहमा उत्रिएका छन् । उनलाई मकवानपुरका पूर्वसचिव दिनेश बर्तौला, गोरखाका नेता कृष्ण कट्टेललगायतले साथ दिएका छन् । बहुमततर्फ राजकुमार तिम्सेना, पुरण राई, दलबहादुर कुमाल लगायतले पुरानो नेकपा बहुमत नै क्रियाशील रहेको जनाएका छन् । त्यही समूहका बिरु तामाङले लालबहादुर बिसीलाई चितवनको एकता अधिवेशनमा कालोमोसो दलेका थिए । पार्टी प्रतिबन्धका बेला बिसीका सहयोगी स्टाफ रहेका तामाङले भूमाफियास“ग मिलेर बिसीले आफूलाई सुकुम्बासी बनाएको बताउने गर्दछन् । 

पार्टी प्रतिबन्धित रहेको बेला अकुत चन्दा उठाउनेभन्दा बढी केही काम नगरिकन हिजोका जुनियरहरू आज कसरी सिनियर भए भन्ने प्रश्न आज पूर्व क्रान्तिकारी माओवादी वृत्तमा चासोको विषय बनेको छ । खुरुखुरु क्रान्तिका पक्षमा काम गर्नेहरू सधैं तल परिरहने र भड्काउमा लाग्नेहरू ठालु पल्टिरहने यो पुरानै समस्या हो । 

हिजो संयुक्त पार्टी हुँदा राज्य इञ्चार्ज भएर काम गरेका नेताहरूले आज पार्टी एकताका नाममा आफ्नै मातहतका जिल्ला नेताहरूभन्दा जुनियर भएर बस्नु परेको छ । जुनियर सिनियर भन्ने कुरा क्रान्तिले उलटफेर गर्दिन सक्छ । गर्छ पनि । त्याग गर्नेले क्रान्तिका लागि भनेर गर्छन् पनि । तर कमरेड, तपाईंंहरूलाई अलिकति लाज हुँदैन र ? के कारणले म सिनियर भएँ भनेर सोच्ने कि नेता भइहालें भनेर मक्खै पर्ने हो ? वर्ग संघर्ष र अन्तर्संघर्ष केमा जित्नुभो र ? 

१.    विचारधारात्मक हिसाबले ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा तपाईंहरू आफैंले खारेज गरेर आउनुभयो, नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै नेपाली क्रान्तिको आधारभूत सिद्धान्त हो भन्ने कुरामा अब दुई मत रहेन । 

२.    सामाजिक अन्तरविरोध फेरिएको र क्रान्तिको चालक शक्ति पनि फेरिएर सर्वहारा हैन अब मध्यम वर्ग नै मुख्य शक्ति हो भन्ने कुरा इतिहासमै पत्याउन नमिल्ने कुरा थियो । केही दिन पत्याउनुभयो कमरेड । अब त भ्रम साफ भयो होला ।

३.    पार्टी विभाजनपछि क्रान्तिकारी माओवादीले राष्ट्रियता र जनजीविकाका मुद्दासँग जोडेर वर्गसंघर्षलाई आफ्नै ढंगले सञ्चालन गरिरहेको थियो । तपाईंंहरूका केही गतिविधि केही समय भूमिगत ढंगले सञ्चालन भयो । थुप्रै सहादत पनि भयो । ज्यान गुमाउने ती महान् शहीद र अंग गुमाउने घाइतेहरू प्रति उच्च सम्मान छ । तर अहिले नेतृत्व गर्ने तपाईंंहरू पार्टी केन्द्रीय कार्यालयका सदस्यदेखि जिल्लास्तरका नेतासम्म सिडिओ कार्यालयमा आत्मसमर्पण गर्दै पाँच हजार धरौटी बुझाएर निस्किनेहरूकै जमात ठूलो छ । 

४.    बुढाको नेतृत्वमा क्रान्ति हुँदैन भन्ने उट्पट्याङ तर्कको पछाडि यसरी कुद्नुभयो, मानौं कागले कान बुच्चै पारेर लगिदिएको होस् । क्रान्तिको निम्ति क्रान्तिकारी दृढता र दृष्टिकोण पहिलो शर्त हो, उमेर दोश्रो तेस्रो चौथो कुरा हो भन्ने बिर्सिनुभयो । क्रान्तिमा विचार–राजनीति र कार्यदिशा मुख्य हुन् भन्ने कुरा जहिल्यै ख्याल राख्नुपर्छ । अन्ततः तन्नेरी छोडेर फेरि बूढाकै नेतृत्वमा आइपुग्नुभयो । 

कमरेडहरू, धेरै जुनियर क्रान्तिका दौरान वर्गसंघर्षमा आफ्नो श्रेष्ठता सावित गरेर सिनियर हुने कुरा जायज हो । तर, वर्गसंघर्ष र अन्तरसंघर्ष कतै पनि श्रेष्ठता हासिल नगरी नेता बन्नु भनेको बुँख्याचा बन्नुबाहेक केही हैन । कान समाएर उठबस गराउनुपर्ने मान्छेहरूलाई वैद्य कमरेडले नेता बनाइदिनुभएछ ।  क्रान्तिकारी एकता – जिन्दावाद । तपाईंंहरू सबैको – भलो होस् ।

रितेश शर्मा, झापा (हाल : मुम्बई)

टिप्पणीहरू