नेपालभरि होला त कमरेडी निर्वाचन ?
सौराहा महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने चाहनामा भीम रावल चुनौती बनेपछि केपी शर्मा ओलीले अन्तिम घडीमा खल्तीको नाम खल्तीमै राखेर बाक्सा थाप्नुपर्यो । संस्थापक नेताहरूको ठूलो पंक्तिले एमाले छोडेपछि विरोधी शून्य पार्टी चलाइरहनुभएका उहाँलाई गणितीय हिसाबले रावलको चुनौती केही पनि थिएन । परिणाम पनि त्यस्तै आयो । तर, अध्यक्षमा प्रतिस्पर्धा नै नगराएर पार्टीमा आफू सर्वस्वीकार्य बन्ने प्रयास भने सफल भएन ।
एमालेमा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको वकालत गर्ने स्वयं केपी ओली नै हो । नवौँ महाधिवेशनबाट नेतृत्वमा आउनुभएका उहाँ त्यसअघि नै चुनावबाट नेता छान्ने प्रणालीको पक्षमा हुनुहुन्थ्यो । आठौँ महाधिवेशनमा झलनाथविरुद्ध उठेर पराजित हुनुभएका उहाँ भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनबाट माधव नेपालसँगको प्रतिष्पर्धामा बाक्सा थापेरै अध्यक्ष चुनिनुभयो । तर, चितवनको दशौँ महाधिवेशनमा भने खल्तीको नाम पारित गराएर उठ्ने तयारीमा हुनुहुन्थ्यो । भीम रावल, घनश्याम भुसाल र भीम आचार्य बाधक हुँदा त्यो सम्भव भएन । यी तीन भाइकै कारण आन्तरिक लोकतन्त्र निमोठिन नपाएको कतिपय एमाले कार्यकर्ताको टिप्पणी आज पनि सुनिन्छ ।
यतिबेला एमाले प्रदेश अधिवेशनमा छ । लुम्बिनीको अधिवेशन सम्पन्न भएको छ भने अरु प्रदेशमा क्रमशः हुनेगरी मिति तय भइसकेको छ । तर, आफू सर्वसम्मत अध्यक्ष हुन नसके पनि प्रदेशमा चुनाव गर्न नदिने प्रयासमा भीम रावलजस्तै बाधक बनेका छन्, तलका नेता–कार्यकर्ता । लुम्बिनी प्रदेशमा अध्यक्षसहित अधिकांश पदाधिकारी निर्वाचनबाट छानिएका छन् । यसले अब बाँकी ६ प्रदेशमा पनि चुनावी प्रक्रियाबाट नेता चयनको बाटो मात्र खोलेको छैन, नेतृत्वलाई दबाबसमेत बढाएको छ । अध्यक्ष ओलीले भने सार्वजनिक मञ्चबाटै लुम्बिनीमा चुनाव नगराउन निर्देशन दिनुभएको थियो ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत संस्थापक नेताहरूको बहिर्गमनपछि पार्टीमा एकलौटी नेतृत्व गरिरहनुभएका ओलीलाई प्रदेशमा नेता चयन गर्न आन्तरिक प्रतिष्पर्धा हुँदा के फरक पर्छ ? चुनावका नाममा नयाँ गुट जन्मिने र त्यसले कालान्तरमा आफैँलाई चुनौती दिनसक्ने खतरा देखेरै ओलीले सर्वसम्मतका नाममा आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नदिने नीति लिएको कतिपयको विश्लेषण छ । त्यसमा एमालेकै केही नेता सहमत छन् । औपचारिक कुराकानीमा अध्यक्षविरुद्ध बोल्न नसक्ने एक नेताले अनौपचारिक संवादका क्रममा भने, ‘चुनावले गुट बढ्छ भनिएको छ तर उहाँ स्वयं चुनावबाट नै अध्यक्ष हुनुभएको हो । सायद उहाँले पार्टीमा आफू प्रतिकूल परिस्थिति नबनोस् भन्ने चलाखी गर्नुभएको होला ।’
एमालेमा अहिले ओलीको उत्तराधिकारीका रूपमा आफूलाई अघि सार्ने होडबाजी छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल त्यसमा सबैभन्दा अगाडि छन् । लुम्बिनीको अध्यक्षमा भएको प्रतिष्पर्धालाई त्यहाँका नेता–कार्यकर्ताले विष्णु भर्सेज शंकरका रूपमा नै हेरेका थिए । नेक टु नेक प्रतिष्पर्धा भएको लुम्बिनीमा परिणाम विष्णुको पक्षमा आएको छ ।
यता, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको लडाइँ छ । अहिलेका अध्यक्ष नवराज शर्मालाई नै निरन्तरता दिने पिएसको तयारीमा खगराजले चुनौती दिने निश्चित रहेको बताइन्छ । म्याग्दीको पूर्व सांसदसमेत रहेका शर्मा अध्यक्ष उठे खगराजले कृष्ण थापालाई अघि सार्ने तयारी गरेको चर्चा छ ।
कोशी प्रदेशतिर पनि अध्यक्षमा तीन जनाको नाम चर्चामा छ । पूर्वराष्ट्रपति विद्या भण्डारी निकट भनिएका विनोद ढकालले तयारी गरिसकेका छन् । ओलीको पक्षबाट हुँदा अहिलेका अध्यक्ष संखुवासभाका तुलसी न्यौपानेको बढी सम्भावना रहेको बताइएको छ । मोरङका पूर्वसांसद घनश्याम खतिवडाले पनि भित्रभित्रै तयारी थालिसकेको चर्चा गरिन्छ । बाग्मतीमा भने ओली समूहबीचमै प्रतिष्पर्धा हुने अनुमान छ । यहाँ लुम्बिनी, कोशी र गण्डकीमा जस्तो पदाधिकारी तहका दुई टाउका आमनेसामने हुने अवस्था नरहेको बताइन्छ ।
त्यसो त, लुम्बिनीको नतिजा हेरिसकेपछि ओलीले चुनाव गर्न दिनुहोला त भन्ने आशंका पनि छ एमाले पंक्तिमा । ‘म लड्छु भनेर कोही मैदानमा उत्रिएको अवस्थामा रोक्न मिल्छ र ? कि पार्टीबाट निकाल्न पर्यो’, एक नेताले भने, ‘त्यसैले सबै प्रदेशमा चुनाव हुन्छ ।’
लुम्बिनीको नतिजाले एमालेमा दीर्घकालीन गुट जन्माउने कतिपयको बुझाई छ । अहिलेसम्म विष्णु पौडेल र शंकर पोखरेलका रूपमा माथिल्लो तहमा चर्चा भए पनि लुम्बिनीबाहेक अन्यत्र तल्लो पंक्तिसम्म त्यसको प्रभाव छैन । तर, प्रदेशमा चुनाव हुँदा कार्यकर्ता मूलतः यी दुइटाको छातामा बाँडिने अवस्था देखिन्छ ।
यता, काठमाडौँ जिल्ला कमिटीलगायत कतिपय ठाउँमा ठीकै स्थिति रहेको पूर्वराष्ट्रपति भण्डारीको छुट्टै गुट बन्ने देखिँदैछ । तर, उहाँ आफैँले गुटको नेतृत्व गर्ने सम्भावना नरहेको निकटहरूले बताएका छन् । विगतमा यौटै समूहमा रहेकाले ओली र विद्याको प्रष्ट गुट नछुट्टिए पनि भित्रभित्रै भने नेताहरू पक्ष–विपक्षमा बिस्तारै खुल्न थालेका छन् । भलै त्यो प्रकटीकरणको तहमा पुगिसकेको छैन, जसरी विष्णु र शंकरको अहिलेसम्म खासै खुलेको थिएन ।
टिप्पणीहरू