सिरहाको गुन तिर्न प्रचण्डलाई सास्ती

सिरहाको गुन तिर्न प्रचण्डलाई सास्ती
सुन्नुहोस्

-सन्तोष बराइली

स्वर्गीय कांग्रेस नेता प्रदिप गिरीको शालिक अनावरण गर्दै माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सिरहा जिल्लाले आफूलाई लगाएको गुन तिर्न नसकेको अभिव्यक्ति दिएका छन् । ०७० सालको चुनाव जिताएर दोश्रो पटक आफूलाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको स्मरण गर्दै उनले सिरहाले लगाएको गुन कुनै न कुनै हिसाबले तिर्नुपर्छ भन्ने लागेको बताए । प्रधानमन्त्री दाहाल गिरीको प्रथम वार्षिकीमा सहभागी हुन शुक्रवार सिरहाको लहान आएका थिए ।

शालिक अनावरणपछि आयोजित शोकसभालाई संबोधन गर्दै तेश्रो पटक प्रधानमन्त्री बनेका दहालले भने, ‘सिरहा जिल्ला र लहान मेरालागि अपरिचित छैन, सुपरिचित छ । तपाईंहरूले लगाएको गुन पूरै तिर्न सकेको छैन । यस पटक भने कुनै न कुनै हिसाबले तिर्नुपर्छ भन्ने लागेको छ ।’
लहानमा सडक र नेता गिरीको स्मृतिमा हस्पिटल बनाउने प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाए दहालले । 

काठमाडौं फर्कने हतारमा रहेकाले नेता गिरीको मुक्तकण्ठले प्रशंसा गरे । ‘प्रदिप गिरी नेपालको राजनीतिक, सामाजिक रूपान्तरणको मौलिक र विलक्षण चिन्तनका धनी हुनुहुन्थ्यो’ दहालले भने, ‘उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने आफ्नै नजरिया र मौलिक चिन्तन थियो ।’ 

नेता गिरीसँग शान्ति प्रक्रियामा आउनुअघिदेखि नै अप्रत्यक्ष संवाद हुने गरेको बताउँदै भने, ‘किनभने उहाँ त्यतिबेलाको विद्रोहलाई, युद्धलाई एउटा राजनीतिक आन्दोलनका रूपमा आत्मसात् गर्ने चिन्तक हुनुहुन्थ्यो । जसले हामीलाई त्यतिबेला आतंककारीको रूपमा टाउकाको मूल्य तोक्दा पनि यो राजनीतिक समस्या हो, यसको समाधान राजनीतिक रूपमा गर्नुपर्छ भन्नुहुन्थ्यो ।’ 

सेनाको हेलिकोप्टरमा आएका उनले गिरीको पुस्तकालय निरीक्षण गरे । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउदले पनि संबोधन गरेका थिए । त्यस्तै मधेश प्रदेश सरकारका उद्योग वाणिज्यमन्त्री सुनिता यादव, माओवादी नेता मातृका यादव, अजयशंकर नायक, कांग्रेसका केन्द्रीय सदस्य पदमनारायण चौधरीलगायतले पनि श्रद्धाञ्जलीसभालाई संबोधन गर्दै स्वर्गीय गिरीको राजनीतिक यात्राबारे प्रकाश पारेका थिए । 

श्रद्वाञ्जलिसभामा २ हजारको हाराहारीमा गिरीका अनुयायीहरूको सहभागिता थियो । वार्षिकी कार्यक्रम प्रदिप गिरी फाउण्डेशनले आयोजना गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । कडा सुरक्षा घेराबीच लहान – १४ बस्तीपुरस्थित प्रदिप गिरी आश्रममा आयोजित प्रथम वार्षिकी कार्यक्रमको अध्यक्षता नेता गिरीकी धर्मपत्नी भारती गिरीले गरेकी थिइन् । स्वागत गेटमा प्रधानमन्त्रीसँग दिवंगत श्रीमान् प्रदिप गिरीको फोटो राख्नुपर्नेमा मेयर महेशले आफ्नो फोटो राखेको भन्दै भारतीले कांग्रेसका स्थानीय नेताहरूसँग चित्त दुखाएकी थिइन् ।

प्रधानमन्त्रीसँग फोटो झुण्ड्याउँदा मेयर मख्ख, भारती तीन छक्क

मुलुककै सबैभन्दा ठूलो नगरपालिका हो – सिरहाको लहान नगरपालिका । ०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेसँगै लहान कम्युनिष्ट किल्लामा परिणत भयो । मधेशमा संगठन विस्तारका क्रममा भूमिगत राजनीति गरिरहेको तत्कालीन मालेका नेता मदन भण्डारीले जक्सन बनाएको लहान प्रजातन्त्र स्थापनापछि मनमोहन अधिकारीको आगमनसँगै बनेको नेकपा (एमाले) को गढ बन्यो । स्थानीय तहको चुनावमा लहानमा सधैँ एमालेले जितको झण्डा गाढ्यो । एमालेका मुन्नि साहले लहानमा एकछत्र स्थानीय सत्ताको बागडोर सम्हाले । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा उतै लागेका मुन्नि जनमोर्चा नेपाल हुँदै शान्तिवार्तापछि सशस्त्र युद्धको रापतापबाट मूलधारको राजनीतिमा बलियो शक्तिका रूपमा उदाएको तत्कालीन नेकपा (माओवादी) तिर लागे ।

संविधानसभा चुनाव लडे, लज्जास्पद हार व्यहोरे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै भएको पहिलो स्थानीय तह चुनावको मुखमा फेरि एमालेमा छिरे । एमालेबाट लहान नगरपालिकाको मेयरमा चुनाव लडेका साहले जिते । राजनीतिक परिवर्तनसँगै परिवर्तित नेपाली समाजको प्रतिनिधित्व गर्नबाट ब्यापारिक पृष्ठभूमिका साह चुके । फलस्वरूप पछिल्लो स्थानीय तहको चुनावमा एमालेबाट पुनः मेयरमा उठेका मुन्नि साहले हारे, करिब ६ हजार मतान्तरले नेपाली कांग्रेसबाट महेश चौधरीले जिते ।

अप्रत्यासित महेशको जितले लहानमा नयाँ तरंग ल्यायो । चौधरी समुदायको बाहुल्यता रहेको लहानमा युवा महेशको जितले चौधरी समुदायसँगै युवा पुस्तामा नयाँ आशा सञ्चार गर्‍याे । मधेश आन्दोलनको उर्वरभूमि भएर पनि विकासमा पछि परेको लहानले नयाँ मेयर महेश चौधरीको नेतृत्वमा विकासमा छलाङ मार्नेमा सबै आशावादी बने । महेश मेयर निर्वाचित भएको वर्षदिन बित्यो । 

तर, लहानको समग्र विकास हुने लहानवासीको आशा निराशामा परिणत भएको छ । जनविश्वासमाथि मेयर महेशद्वारा घात भएको छ । महेशले पनि मुन्नि साहपथ नै पहिल्याएपछि लहानको समग्र विकासको सपना देख्ने मतदाता निराश बन्नु स्वभाविकै हो । लहानका पुराना पत्रकार दिनेश देव भन्छन्, ‘मुन्नि साह हुन् कि महेश चौधरी, सबैले पैसा खर्चिएर जितेका हुन् । लगानी त सबैले उठाउनै पर्‍याे । लगानी उठाउने चक्करमा विकास निर्माण ओझेल पर्ने भइगयो । जुनसुकै पार्टीका किन नहुन्, जसले पैसा खर्चिएर चुनाव लड्छ, उसले विकास होइन नाफाको व्यापार गर्छ । लहानको नियति यस्तै छ ।’ 

मेयर महेश विकास र जनताप्रति उत्तरदायी हुनुभन्दा पनि विकासप्रेमी भएको प्रचार गरेर जनतामा भ्रम छरिरहेको बताउनेहरू धेरै छन् । आफूले गरेका सानाभन्दा साना कामलाई प्रचार गरेर चर्चा कमाउन तल्लीन छन् । प्रचारका लागि आधा दर्जन पत्रकारलाई त नियुक्ति नै दिएर नगरपालिकाको जागिरे बनाएका छन् । महेशको प्रचारमोह अपरम्पार छ । उनको प्रचार मोह कतिसम्म छ भनेर कांग्रेसका दिवंगत नेता प्रदिप गिरीको प्रथम वार्षिकीमा छताछुल्ल भयो ।

कार्यक्रमस्थल प्रदिप गिरी आश्रमस्थल प्रवेशद्वारमा राखिएका स्वागत गेटमा सधैँ विवाद र चर्चामा आइरहने लहान नगरपालिकाका मेयर महेश चौधरीले प्रधानमन्त्री दाहालसँगै आफ्नो फोटो पनि राखेपछि कार्यक्रमका सहभागीबीच ठट्टा र हाँसोको बिषय बन्यो । 

मेयर चौधरीले स्वागत गेटमा झुण्ड्याइएको फ्लेक्स प्रिण्टमा प्रधानमन्त्रीको एउटा फोटो राख्दा आफ्नोचाहिँ तीन वटा राख्न लगाएका थिए । प्रधानमन्त्रीकै हारमा नमस्कार गरेको फोटो राख्न लगाएका चौधरीले अर्काे फोटोचाहिँ केपी ओली स्टाइलको हात उठाएको राखिएको थियो । मेयरलाई नजिकबाट चिनेका गेट नियालिरहेका एक जना सहभागी भन्दै थिए, ‘ल हेरौँ महेशको प्रचारमोह !’
 

टिप्पणीहरू