शंकरमार्फत उत्तरले के दियो सन्देश

शंकरमार्फत उत्तरले के दियो सन्देश

पहिला खरो कुरा, पछि मीठो प्रशंसा ! एमाले महासचिव शंकर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको प्रस्तुति हो यो । खरो कुरा, अर्थात् कम्युनिष्टहरू मिल्नुपर्ने प्रसंग आउँदा शंकरमा त्यति स्फूर्ति थिएन । किनभने, आफ्नै अध्यक्षको व्यवहारका कारण भएको एकता पनि टुटेको चिनियाँहरूलाई राम्रोसँग थाहा छ र अहिले एमालेबाहेकको समाजवादी केन्द्र बनाएर कम्युनिष्टहरू अगाडि बढिरहेका छन् । गत हप्ता चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानछाओले बेइजिङमा शंकरसँग भेट हुँदा भने, ‘कम्युनिष्टहरू मिल्दा राम्रो हुने थियो ।’

गत वर्ष जिम्मेवारी सम्हाल्नेबित्तिकै पहिलो भ्रमणका लागि काठमाडौं आएका जियानछाओले नै एकछिनमा भने, ‘नेपालमा कुनै संगठित, व्यवस्थित पार्टी छ भने त्यो एमाले नै हो ।’  कम्युनिष्ट पार्टी जनतासँग जोडिनुपर्छ भन्ने माओको आदर्श स्मरण गर्दै उनले एमालेमा त्यो गुण पाइने चर्चा गरे । ‘अहिले एमाले प्रतिपक्षमा भए पनि कुनै पनि बेला सत्तारुढ हुन सक्छ । अहिले नै पनि प्रतिपक्षीका रुपमा खेल्ने भूमिका मज्जैले खेल्न सक्छ भन्ने हामीलाई लाग्छ’, उनको भनाइ थियो । एमालेले नेतृत्व गरेका विभिन्न स्थानीय तहमा उक्त नेतृत्वलाई सफल पार्न प्राविधिक पनि सहयोग गर्न तयार भएको समेत उनले सुनाए ।

तर, पोलिट्ब्युरो सदस्य तथा चीनकै ठूलो महानगर चोङछिङका पार्टी सचिव युआन जियाजुनले भने राजनीतिक सन्दर्भमा खासै केही भनेनन् । उनी चिनियाँ कम्युनिष्ट पार्टीका २५ पोलिट्व्युरो सदस्यमध्ये प्रभावशाली मानिन्छन् । च्छोङछिङ त्यही शहर हो, जहाँ वर्तमान राष्ट्रपति सि चिनफिङका प्रतिस्पर्धी मानिने बोसीलाई बर्खास्तीमा परेका थिए । बेइजिङको  भेटमा शंकरले नक्साको प्रसंग उठाए । ‘नेपालले जारी गरेको नक्सा सिंगो संसदले पारित गरेको हो । चीनले यसलाई बुझ्नुपर्छ’, उनले भने । यसबारे जियाजुनले सीधै केही भनेनन्, बुझेको भाव झल्काए । स्मरणीय छ, सन् २०१५ मा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ भारत जाँदा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतकै बुझिने गरी सम्झौता भएको थियो । लिपुलेकबाट चीन र भारतले व्यापारिक कोरिडोर बनाउने कुरामा दुई शक्तिकेन्द्र मिलेका थिए । त्यसैबेला नेपालको तर्फबाट चीनलाई डिप्लोम्याटिक नोट पठाइयो । पछि उक्त भूमि समेटेर नक्सा नै जारी भयो । 

त्यस्तै, ३० देशका १ सय ५० प्रतिनिधिसहित छिङ्हाई प्रान्तको राजधानी सिनिङमा आयोजित ‘चिनियाँ आधुनिकीकरणः  मानवता र प्रकृतिबीचको सद्भाव’ विषयक विश्व सम्मेलनमा शंकर प्रमुख अतिथि थिए । च्छोङछिङमा आयोजित स्मार्ट चाइना एक्स्पो–२०२३ मा पनि शंकर विशिष्ट अतिथिको लहरमा थिए । भेटका क्रममा उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तथा राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भएका सन्धि, सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखे । उक्त मागप्रति चिनियाँ पक्षले सकारात्मक चासो राखेको थियो । उनले आफ्नो देशबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा आउन लागेको र त्यसबेला उच्च महत्वका साथ कुरा गर्न अनुरोध गरे । 

भेटका क्रममा चिनियाँहरू नेपालमा भारतभन्दा अमेरिकी गतिविधि बढेकोमा चिन्तित देखिन्थे । हुन पनि, अमेरिकी परियोजना एमसिसीमा दिने भनिएजति पैसा दिन अप्ठयारो पर्ने तर नेपालले लगानी गर्नुपर्ने १३ मिलियन डलरमा बढेर हाल्नुपर्ने भएको छ । सडक, ट्रान्समिशन लाइनहरू भनेजति नबनाउने स्थिति छ । चीनलेचाहिँ एमसिसीभन्दा चार महिनाअघि हस्ताक्षर गरेको बिआरआई अगाडि बढाउनुपर्ने कुरामा जोड दिँदै आएको छ । 
 

टिप्पणीहरू