नेपाल र चीनबीच विश्वास टुटेकै हो त !
शनिबार उन्नाइसौँ एशियाली खेलकुदकोे तामझाम बडो गज्जबसँग हुँदै थियो । औपचारिक उद्घाटन समारोह शुरु हुने हतारो थियो । त्यही मेसोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेट भयो । साँझको पाँच बज्न लाग्दा चच्याङ प्रान्तको राजधानी हाङचौमा डेलिगेसन तहमा उक्त भेट भएको हो ।
सि आफ्ना परराष्ट्रमन्त्री वाङ् यीलगायत सँगै भेटवार्तामा सहभागी थिए । प्रचण्ड स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाललाई हरेक उच्चस्तरीय भेटवार्तामा दायाँपट्टि राखेर परराष्ट्रमन्त्री, सल्लाहकार, मुख्यसचिव, सचिव लगायतसँग बसेका थिए । ताङछी एन्सिएन्ट टाउनस्थित स्टेट गेष्टहाउसमा भएको भेटमा सिले चिनियाँ भाषामा आफ्ना कुरा राख्न थाले । न्यूयोर्कबाट हङकङको १७ घण्टे उडान र त्यहाँबाट हाङचाउ यात्रा गरेर आएका प्रधानमन्त्री थकित देखिन्थे ।
सिसँग हात मिलाउँदाको कस्मेटिक मुस्कानबाहेक अरु अनुहारको कान्ति देखिएन । संबोधन पनि उत्साहित थिएन । अंग्रेजी भाषामा सिको तारिफ गरे । यी दूरदर्शी नेता भएको र नेपाल चीनबीच रणनीतिक सम्बन्ध भएको पनि बताए ।
प्रचण्डले नेपालीमा संबोधन गर्न सक्ने सम्भावना थियो । त्यहाँका आधा दर्जन विश्वविद्यालयमा नेपाली भाषाको पढाइ हुन्छ । चिनियाँ विदेश मन्त्रालयदेखि सरकारी चाइना रेडियो इन्टरनेशनलमा पनि नेपाली भाषाका जानकारहरू छन् । अनुवादै गरेर पनि चीनका आफ्नै मौलिक जनशक्ति छन् । प्रचण्डले १६ सय वर्ष पुरानो बिरासत बोकेका दुई देशमा अनुवादै गरेर अंग्रेजी बोलिरहनुपर्ने थिएन ।
नेपाल–चीन १४१४ किलोमिटर सीमा जोडिएका देश हुन् । दुई देशबीच राज्य तहको सम्बन्ध पाँचौँ शताब्दीबाटै शुरु भएको हो भने जनस्तरको प्रमाणित सम्बन्ध १६०० वर्ष पुरानो देखिन्छ । यत्ति पुरानो बिरासत भएको दुई देशले आफ्नै भाषा बोलेर आफ्ना कुरा राख्न सक्नुपर्ने थियो । प्रधानमन्त्रीले त्यसो गरेनन् । दुई देशको संवाद मात्रै होइन यो पालीको आगमनमा पनि तेस्रो पक्ष नै जोडियो । प्रधानमन्त्रीको रूपमा तेस्रोपटक आउँदा प्रचण्डले सिधा उडान गरेनन् ।
यात्राको सूची सार्वजनिक गरेपछि नेपाली कांग्रेस सरकारको पालामा चीनको राजदूत भएका राजेश्वर आचार्यले यो गलत भएको टिप्पणी गरेका थिए । अमेरिकाबाट नेपाल आएर गएकोे भए राम्रो सन्देश जाने उनको तर्कमा दम थियो । आचार्यले चीनसँग विश्वासको वातावरण हुनुपर्नेमा जोड दिएका थिए ।
शनिबार भएको प्रचण्ड र सि वार्तादेखि नेपाल र चीनबीच भएका १२ बुँदे सम्झौता हेर्दा कुनै देखिने वा कायापलट हुने खालका बुँदा छैनन् । न त बिआरआईमा नेपाली हित हुने परियोजनाहरू जोडिए । न त चीनसँग ऊर्जामा क्रान्ति हुने खालका सम्झौता हुने भनेर विज्ञापन गरेकै कुराहरूले स्थान पाए । सोमबार बेइजिङमा प्रचण्डले पाएको गार्ड अफ अनशरदेखि सिसँग भेटघाटको तह झल्काउने खालका काम सम्झौताका बुुँदामा देखिएका छैनन् । कुनै ठोस र देखिने खालका भन्दा अमूर्तजस्ता बुँदाले नेपाल र चीनमा विश्वासको संकट भएको देखाएको छ ।
टिप्पणीहरू