समयको गतिलाई खै समात्न सकेको
कम्युनिष्ट नेता उत्पादनको कारखाना मानिने मोहनविक्रम सिंहदेखि प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य किरण हुँदै एक जमानाका ज्वाजल्यमान नेता सिपी मैनाली अहिले राष्ट्रिय राजनीतिमा फड्के किनाराको साक्षीजस्तै छन् । सिपीजस्तै झापा आन्दोलनका योजनाकार आरके मैनाली माओवादी, राजावादी हुँदै अहिले लगभग गुमनाम छन् । कुनै समय देशभर क्रान्तिको आवाज घन्काउने हैसियतका नारायणमान बिजुक्छेले भक्तपुरको एक नगरपालिकामा सीमित हुनुपरेको छ । समयको गतिलाई समात्न नसक्दा प्रभावशाली नेताहरू राजनीतिबाट कसरी ओझेलमा पर्छन् भन्ने प्रतिनिधि उदाहरण हुन्, सिंह, वैद्य मैनाली र बिजुक्छे ।
पछिल्लो समय नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि अस्तित्व रक्षाको संकटमा छन् । उमेर, अनुभव र लोकप्रियताले अझै पनि राष्ट्रिय राजनीतिमा सक्रिय भूमिकाको माग गरिएका पात्र थिए उनी । गणतन्त्रको सपना देखाएर आफ्नो यौटा आह्वानमा लाखौँ युवालाई युद्धमा होम्न सक्ने बाबुराम माओवादी जनयुद्धका शीर्ष नेता पनि हुन् । तर, जनयुद्धकै जगमा प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने बेला पार्टी छाडेर हिँडेपछि मूलधारको राजनीतिबाट क्रमशः किनारामा पर्दै गएका उनलाई अर्को संकट आइलागेको चर्चाले राजनीतिक वृत्त गर्माएको छ ।
डा. भट्टराई संविधान बनेपछि माओवादी आन्दोलनको औचित्य सकिएको घोषणासहित आफैँ उपाध्यक्ष रहेको तत्कालीन एकीकृत माओवादीलाई ‘रातो स्टिकर टाँसेको घर’ को संज्ञा दिँदै पार्टी छाडेर हिँडेका थिए । कम्युनिष्ट विचारधारा पुरानो भएको निश्कर्षसहित ‘नयाँ गर्न’ हिँडेका उनले पार्टीको नाम पनि नयाँ शक्ति राखेर प्रारम्भका दिनमा राम्रै तामझाम गरे । तर, लगत्तैको निर्वाचनमा जनताले अस्वीकार गरेपछि नयाँ शक्तिलाई क्षेत्रीय पार्टीमा बिलय गराएका बाबुराम त्यता पनि लामो समय टिक्न सकेनन् । ‘घुम्दै फिर्दै रुम्झाटार’ भनेझैँ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीबाट फुटेर आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरेको वर्ष दिनमै माओवादीसँगको एकतालाई लिएर उत्पन्न मतभेदले फेरि एक्लिने अवस्था बनेको छ ।
जानकार स्रोतले बताएअनुसार नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव र उपाध्यक्ष गंगानारायण श्रेष्ठसहितको ठूलो पंक्ति तत्काल माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा छ । नेसपाले पार्टी एकता गर्ने सहमतिसाथ माओवादीकै चुनाव चिह्नमा आफ्ना उम्मेदवार उठाएको थियो । संघ र प्रदेशमा नेसपाका दुई–दुई जना सांसद छन् । केन्द्रका खानेपानी मन्त्री महिन्द्रराय र बाग्मतीका आन्तरिक मामिलामन्त्री गंगानारायण माओवादीकै चिह्नबाट सांसद चुनिएका हुन् । दुई पार्टीले कार्यदलस्तरमा छलफल गरेर एकता प्रक्रिया थालेको पनि थियो । तर, केही राजकीय पदमा चाहना राखेका बाबुराम प्रचण्डले धोका दिएको निश्कर्षमा पुगेपछि एकता प्रक्रिया रोकिएको सो पार्टीका एक नेताले बताए ।
बताइएअनुसार आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डलाई सुम्पिएर चुनावी राजनीतिबाट बाहिर बसेका बाबुरामलाई विकास प्राधिकरण गठन गरी त्यसको जिम्मा दिनेबारे तत्कालीन पाँच दलीय गठबन्धनमा सल्लाह भएको थियो । तर, चुनावपछि प्रधानमन्त्री भएका प्रचण्डबाट त्यो काम भएन । त्यसपछि बाबुरामलाई राष्ट्रपतिको आश्वासन दिएर थामथुम पारियो । माओवादीको भागमा पर्ने भनिएको उपराष्ट्रपतिमा हिसिला यमीलाई लैजाने बचन पनि पूरा भएन, उल्टै उपेन्द्रको पार्टीलाई उपराष्ट्रपति दिन प्रचण्ड तयार भएपछि बाबुराम थप बिच्किए । परिणामतः समाजवादी मोर्चाबाट बाबुराम बाहिर रहने स्थिति बन्यो भने पार्टी एकीकरणको समग्र प्रक्रिया पनि अन्योलमा प¥यो ।
यसैबीच, हालै बाबुराम देशबाहिर रहेका बेला माओवादी केन्द्रले महेन्द्रराय यादवलाई पत्र पठाएपछि दुई पार्टीको एकतालाई लिएर विभिन्न चर्चा हुन थालेको छ । बाबुराम एकता नगर्ने निर्णयमा पुगेपछि महिन्द्रराय र गंगानारायणकै आग्रहमा पत्र गएको माओवादी स्रोतले दाबी गरेको छ । पत्रमा पार्टीको नाम फेर्न तयार रहेको संकेत माओवादीले दिएको अर्थ पनि त्यही हो भनिँदै छ । जुन महिन्द्रराय र गंगानारायणकै मागअनुसार गरिएको बताइन्छ । ‘पार्टी एकता गर्ने भएपछि हामी माओवादी प्रवेश गरेको अर्थ नलागोस् भनेर उहाँहरूले भन्नुभएको थियो, सोहीअनुसार निर्णय गरेर महिन्द्रजीलाई पत्र पठाइएको हो’, माओवादी केन्द्रका एक नेताले भने ।
लोकप्रियतावादको आवरणमा नयाँ राजनीतिक दलको उदयले राजनीतिक उपलब्धि उल्टिने खतरा बढेको हुँदा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका पक्षधर शक्ति एकजुट हुनुपर्ने र त्यसका लागि माओवादीसँग निःशर्त एकता गर्नुपर्ने मत पनि छ, नेसपामा । विगतमा त्यही पार्टीमा लामो समय काम गरेको र पछिल्लो चुनावमा यौटै झण्डा बोकिसकेकाले माओवादीमै एकताबद्ध हुन अप्ठ्यारो मान्न नहुने तर्क गर्नेहरू पनि छन् । तर, महिन्द्रराय र गंगानारायणले पार्टी प्रवेशको अर्थ नलाग्ने गरी निर्णय लिइदिन आग्रह गरेमुताविक नै प्रचण्ड माओवादीको नाम फेर्न तयार रहेको पत्र पठाएकाले अब ‘नेकपा’ पछाडि समाजवादी फुर्को झुण्ड्याएर एकता हुने सम्भावना बढेको बताइएको छ ।
टिप्पणीहरू