हिमालतिर विदेशीका पछि लाग्नेको हुल

हिमालतिर विदेशीका पछि लाग्नेको हुल

हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटेको घट्यै छ, तर दशैँको मुखमा लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि तालिममा पठाइदिनुपर्‍याे भन्ने कर्मचारीको संख्याचाहिँ बढेको बढ्यै छ !

अघिल्लो आर्थिक वर्ष मनास्लु हिमाल आरोहण गर्न जाने टोली ४१ थिए, यस वर्ष १५ घटेर २६ मा खुम्चिएको छ । यससँगै धौलागिरी, अन्नपूर्ण, पुमोरी, चोओयूलगायत हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्यासमेत ओरालो लागेको पर्यटन विभागले जनाएको छ ।

अस्ति २६ बाट ३१ सेप्टेम्बरसम्म मनास्लु हिमाल आरोहणका लागि २६ वटा टिम त्यसतर्फ लम्किसकेका छन् । २३६ पुरुषसहित ६५ महिलाको टोली ३१ सेप्टेम्बरमा मनास्लु हिमाल आरोहण गरेर फर्किने कार्यक्रम छ । यसरी आउनेमा अष्ट्रेलियाका २ महिलासहित १०, क्यानाडाका १ महिलासहित १४, चीनबाट १८ महिलासहित ६७, फ्रान्सका २ महिलासहित २०, जर्मनीका २०, भारतबाट २४, इरान १३, इटाली ८, जापानका २३, नेपालका ४, पाकिस्तानका ५ छन् । हिमाल आरोहणको मौसम शुरु भएसँगै सम्पर्क अधिकृत बनेर अघिल्लो वर्ष ४१ जना गएकोमा यसपटक एक÷दुई दिन हिमाल आरोहणको रोमाञ्चक अवसर पाइने, तीनदेखि साढे तीन लाख रुपैयाँ हात लाग्ने कुरामा होडबाजी शुरु हुनु स्वाभाविकै हो । 

सोमबार बिहान जनआस्थाकर्मी पर्यटन विभागमा छँदा लिआओ अफिसर बनेर जानका लागि कांग्रेसनिकट कर्मचारी ट्रेड युनियनका उपाध्यक्ष उत्तम कटवालको मान्छे हुँ भन्दै हरिबहादुर क्षेत्री झुल्किएका थिए । उनी वीरेन्द्रनगर नगरपालिकातिर लेखा अधिकृतका रुपमा कार्यरत छन् । यस्तै, पर्यटनसचिव भरतमणि सुवेदीले पठाएको भन्दै रामप्रसाद भुषाल र गणेश कटवालहरु त्यहीँ थपिए । यसरी दैनिक १५ देखि २० जना कर्मचारी हिमाल जान पाऊँ भन्दै त्यता पुग्ने गरेका छन् । विभिन्न मन्त्रालयबाटै नोमिनेसन गरेर पठाइनेको संख्या पनि उत्तिकै छ । एक अधिकृतले जनआस्थालाई बताए अनुसार ‘६ सय हाराहारी कर्मचारीको नाम त्यसरी नोमिनेसन भएर आएको छ । आरोहीको संख्या ६ सय छैन, सम्पर्क अधिकृतका निम्ति ६ सय बढीको मनोनयन आइसक्यो ।’ 

अर्काेतिर मन्त्री, सचिवदेखि ट्रेड युनियनको आडमा हिमाल गएर आधार शिविरसम्म नपुगी फर्कने रोग उस्तै छ । अघिल्लो आर्थिक वर्ष ११५ जना अफिसर गएमध्ये केही त बीचबाटै फर्किएका थिए । स्वयं पर्यटनमन्त्री सुदन किरातीको निजी सचिव डा. डिजन भट्टराई हेलिकप्टर चढेर आधार शिविरसम्म पुगे र मोडलिङ गरेर फर्किए । तलबाट पर्यटकको उच्छृंखल गतिविधि रोक्न नसकेको गुनासो विभागदेखि मन्त्रालयसम्म पुग्यो तर मन्त्रीकै स्वकीयलाई छुने, कारबाही गर्ने हिम्मत कसको  ? 

सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही हुने व्यवस्था छ । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो भिडियो बुझाउनुपर्छ पनि भनिएको छ । कुनै पनि विदेशीले आरोहण गरेको वा नगरेको प्रमाणित गर्ने अधिकार जियाजो अफिसरलाई हुन्छ । तर, विडम्बना जसले हिमाल आरोहण गरेको भनी प्रमाणित गर्छ, ऊ आफैँचाहिँ हिमाल चढ्दैन । यसमा नवनियुक्त महानिर्देशक चक्रबहादुर बूढाले लगाम लगाउन सक्छन् वा उनी पनि ट्रेड युनियन र मन्त्री/सचिवका अगाडि निरीह बन्छन्, हेर्न बाँकी नै छ । 

 

टिप्पणीहरू