मारवाडीहरुका नेताको अन्तर्राष्ट्रिय मुद्रा कोषलाई चेतावनी

मारवाडीहरुका नेताको अन्तर्राष्ट्रिय मुद्रा कोषलाई चेतावनी

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रतिनिधिमण्डललाई नेपालको अर्थतन्त्रमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । मुलुकको अर्थतन्त्रबारे छलफल गर्न पुगेको टोलीलाई अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा अन्य मुलुक वा सिद्धान्तका उपाय हुबहु लागू नहुने भन्दै अनावश्यक दबाब नदिन सुझाएका हुन् ।

नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमार्फत दबाब दिँदै आएका व्यापारी, व्यवसायीहरुले कोषले केन्द्रीय बैंकलाई साथ दिएको बुझेपछि घुमाउरो तरिकाले आफ्ना धारणा राखेका हुन् । मुद्रास्फीति नियन्त्रण गर्न र समग्र माग घटाउन ब्याज बढाउने नीति अवलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको अग्रवालको भनाई छ । कोभिड–१९ पछि कर्जाको दुरुपयोग भएको उनले स्वीकारेको बताइन्छ ।

कोभिड महामारी नियन्त्रणपछि नियामक निकायले दिएको पहिलेका सहुलियतपूर्ण नीतिहरु तत्काल परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनको धारणा थियो । अग्रवालको आशय व्यापारी र व्यवसायीहरुलाई कोभिड प्रारम्भताका दिइएको सुविधा निरन्तर हुनुपर्ने स्वतः बुझ्न सकिन्छ ।

राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरुलाई संरक्षण गर्ने खालको मात्रै भएको उनको आरोप थियो । राष्ट्र बैंक र कोष बीचको सम्झौतामा तरलता समस्या समाधानको निम्ति कर्जाको पुनर्संरचना गर्ने भनिएको तर राष्ट्र बैंकको पछिल्लो नीति यस विपरीत रहेको उनको गुनासो छ ।

परिसंघको कार्यालयमा पुगेको आइएमएफ टोलीमा टिडियन किन्डा, नेपालस्थित कार्यालयका प्रतिनिधि टेरेसा डबान सान्चेजलगायत थिए ।  

परिसंघ नेपाल उद्योग वाणिज्य महासंघबाट छुट्टिएको अर्को संस्था हो । यो प्रारम्भमा मारवाडी समुदायले गठन गरेको थियो । यसका हर्ताकर्ता कुनैबेला विनोद चौधरी थिए ।

टिप्पणीहरू