कृषि ऋणमा एनआईसी एसिया बैंकको मनोमानी, कृषकको नाममा अन्तै लगानी

कृषि ऋणमा एनआईसी एसिया बैंकको मनोमानी, कृषकको नाममा अन्तै लगानी
सुन्नुहोस्

एनआईसी एसिया बैंकले कृषि ऋणको दुरुपयोग गरेको पाइएको छ । सरकारले उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि ल्याएको ‘सहुलियतपूर्ण कर्जा कार्यक्रम’ मार्फत् प्रवाह भएको ऋणको दुरुपयोग भएको तथ्य खुलेको बताइन्छ । 

किसानलाई कम ब्याजदरमा दिइने भनिएको ऋण बैंकले आफुखुसी लगानी गर्दै आएको पाइएको छ । बैंकका प्रबन्धकसहितको मिलोमतोमा राज्यलाई ठग्ने कार्यले प्राथमिकता पाएको कृषकहरुको आरोप छ । उनीहरुका अनुसार घरजग्गा, गाडी खरिदलगायत अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरिएको छ । 

विभिन्न प्रलोभनमा व्यापारीलाई कर्जा प्रवाह नरोकिएको स्रोतको दाबी छ । कृषि ऋणको नाममा व्यापक अनियमितता भइरहेको गुनासो सेवाग्राहीहरुले गर्दै आएका छन् । रौतहटको गरुडामा शाखा रहेको एनआईसीले नक्कली किसानलाई कृषि कर्जा प्रवाह गरेको स्थानीयको दाबी छ ।

मालपोत कार्यालय, चन्द्रनिगाहपुरमा दर्ता कायम रहेको जग्गाको लिखतमा उल्लेखित रकमलाई एनआईसीले केरमेट गरेर कैयौं गुणा बनाएको बताइन्छ । सरकारी कार्यालयमा पेश गरिएको कागजात आफैंले सच्याएर किर्ते गरेको आरोप यतिबेला एनआईसीमाथि लागेको हो । 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ (साविकको जुडिबेला गाविस वडा नम्बर ८) को कित्ता नम्बर ३७५ को आठ कठ्ठा जमिन चिन्टु रायले २०७९ माघ २९ गते २९ लाख पाँच हजार रुपैयाँमा खरिद गरेका थिए । 

सोही जमिनलाई एनआईसीले ऋण स्वीकृत गर्न लिखतमा आफैंले दुई थपेर खरिद मूल्य दुई करोड २९ लाख पाँच हजार रुपैयाँ बनाएको दाबी छ । सोही आधारमा कर्जा प्रवाह गरिएको पाइएको हो । 

मालपोतमा जमिनको खरिद मूल्य १८ लाख १५ हजार रुपैयाँ उल्लेख भएको जनाउँदै स्रोत भन्छ, ‘एनआईसीले ऋण स्वीकृतको लिखतमा अगाडि एक थपेर एक करोड १८ लाख १५ हजार रुपैयाँ बनाएर कर्जा प्रवाह गरेको छ ।’ 

जमिन खरिद गरेको छ महिना नाघेपछि मात्र बैंकले ऋण दिने कानुनी प्रावधान छ । तर, एनआईसीले आफू अनुकूल जमिन खरिदको महिना दिन नबित्दै ऋण दिने गरेको पाइएपछि स्थानीय आक्रोशित भएका हुन् । बैंकबाट सहुलियत कृषि ऋण लिएका राय र गिरी कृषि पेशामा आबद्ध नभएको उनीहरुको भनाई छ । एनआईसीका तत्कालीन प्रबन्धक आमोद गुप्ता आफूलाई उक्त विषयमा केही जानकारी नभएको जनाउँदै पन्छिएका छन् । 

उनले भने, ‘म बैंकसँग आबद्ध छैन । त्यसैले मलाई केही थाहा छैन ।’ सो बैंकबाट रायले अनु कृषि फर्मको नाममा तीन करोड ५० लाख र गिरीले अम्बे कृषि फर्मको नाममा कृषि ऋण स्वीकृत गराएका थिए । यस विषयमा बुझ्न खोज्दा दुवै प्रतिक्रियाविहीन भएका हुन् ।

टिप्पणीहरू