कम्युनिष्टको यात्रामा खल्ती खानी हुनेले हिँडन नपाउने किन ?
नेकपा (एकीकृत समाजवादी) पार्टीको पूर्व–पश्चिम यात्रालाई हाम्रो पार्टीले समाजवादी जागरण अभियान नामकरण गरेको छ । सो अभियानमा म र मजस्ता अन्य धेरैले सहभागी हुने योजना बनाएका थियौँ । तर, १५दिने अभियानमा शुरुदेखि अन्त्यसम्म केन्द्रले तोकेको नेतृत्वबाहेक अरुले सहभागिता जनाउन सक्ने कुरा ब्यक्तिगत चाहना र क्षमतामा निर्भर रहेछ ।
यो अभियानमा सहभागिता जनाउनुहुने पदाधिकारी र केन्द्रले तोकेर पठाएका केहीबाहेक अरुलाई पार्टी र पदाधिकारी कसैले पनि चिन्नेसम्मको अवस्थासमेत नरहेको स्थिति रहेछ । यति बृहत् लक्ष्य बोकेको सामूहिक अभियानमा सरिक हुने सामान्य कार्यकर्ता, समर्थक र शुभेच्छहरुले भने खाने, बस्ने, यातायात, स्वास्थ्य सबै कुराको खर्च स्वयंले व्यहोरे मात्रै सम्भव रहेछ । यस्तो यात्रामा सामेल हुन आफ्नो निजी खर्च जुटाउन सक्ने आर्थिक हैसियत धेरैसँग नहुने कुरा स्वाभाविक छ । यसै कारण यो यात्रा भनेजति र सोचेजति विशाल र भव्य हुन सकेन । अञ्जानबस नै भएको भए पनि यो कुराले हामीमा व्यक्तिवाद कसरी भरिएको रहेछ भनेर सहजै थाहा पाउन सकिन्छ ।
यो रवैयाले यो महान् अभियानमा अन्य तह र तप्काका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको सहभागितालाई शून्यमा झारिदिएको छ । आम जनताको सहभागिता शून्य हुने कुरा त भयो नै ! नाम र नाराको हिसाबले सामूहिक अभियान भनेर बुझिने यो कार्यक्रम सारमा विशुद्ध व्यक्तिगत यात्राजस्तै बन्न पुगेको छ । यति कुरा भन्न छुट छ– सबैलाई सुन्न सक्ने क्षमता पनि सबैमा रहेको हुनुपर्छ ।यो अभियानको नाम जेसुकै राखिए पनि यसको मूल ध्येय भनेको पार्टीका कार्यकर्तामा ऊर्जा भर्ने, जनतामा हामीप्रति आशा जगाउने, हामीले यस्तो नीति लिएका छौँ भनेर जनतालाई बुझाउने र त्यसमा जनताको समर्थन प्राप्त गर्ने भन्ने नै हो । तर, यो अभियानले यो मूल सन्देशलाई त्यो गर्म जोशीका साथ प्रवाह गर्न चुकेको छ ।
यसमा पहिलो कुरा, कार्यकर्ता र जनतालाई उत्साहित गराउने कुरामा हामीभित्र रहेको व्यक्तिवादी अर्थवादले रोकेको छ । यति ठूलो अभियानमा कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता र शुभेच्छुुक जनतालाई खल्तीमा पैसा बोकेर आए मात्रै सहभागी हुन सक्ने, नत्र यात्रामा सहभागी हुन नसक्ने अवस्था बनाउनु विडम्बनापूर्ण नै मान्नुपर्छ । सिद्धान्तले हामी समान हौँ भन्ने र एउटै यात्रामा निस्किएका मानिसमध्ये कोही पार्टीको खर्चमा वातानुकुलित कोठामा बस्ने, निजी गाडीमा हिँड्ने, स्विमिङ पुलमा नुहाउने, मासुभात खाने र कोही भने एक छाक खान साथीभाइ, आफन्त र चिनेकाको दैलो खोज्दै हिँड्नुपर्ने कुरा कसै गरे पनि मिल्दैन । यो समाजवादी चिन्तन र चरित्र होइन– डरलाग्दो विभेद हो ।
एक ठाउँबाट अर्को ठाउँ जान यातायात पनि कसले लिफ्ट देला र जाउँला वा घर फर्किने कसरी भनेर आँखा डुलाउनुपर्ने कुरा लाजमर्दो र डरलाग्दो विभेद हो तर भयो यस्तै । कम्युनिष्ट पार्टी भनेको सर्वहारा श्रमजीवी वर्गको पार्टी हो भन्ने तर यस्तो महान् अभियानमा यो वर्गबाट एक जना पनि सहभागी हुन नसक्ने अवस्था रहने कुरा वास्तवमै बेठीक हो । यो अभियानमा गरिब किसान कसरी सामेल भए त ? मजदुर कसरी सामेल भए ? साना व्यापारी कसरी सामेल भए ? ड्राइभर र खलासी खै कहाँ छन् ? नर्स खै ? डाक्टर खै ? अथवा अरु पेशाका मान्छे खै? पार्टी कसरी बनाउने हो ? यो तरिकाले संगठन बन्दैन, पार्टी निर्माण हुन्न भनेर विचार गरेको खै त ? हामीलाई ठूलो बनाउने, बलियो बनाउने, चुनावमा भोट हालेर जिताउने र मन्त्री–प्रधानमन्त्री बनाउने यिनै शोषित पीडित जनताले नै हो । यिनै जनता हाम्रो महान् यात्रामा सहभागी हुन नपाएपछि तिनीहरूले हामीले भनेको कसरी मान्लान् र हामी ठूलो हुने होला !
हामीले जीवन र जगतलाई कसरी हेर्छौं, यो धेरै महत्वपूर्ण कुरा छ । त्यसकारण यो यात्रा गर्नुपर्नाको कारण पनि धेरै महत्वपूर्ण छ । हामीले स्थापना गर्न खोजेको सादा जीवन र उच्च विचार हो । न्याय र बराबरी हुने भन्ने विचार हो । शोषण र उत्पीडन नहुने भन्ने विचार हो । सबैको आत्मसम्मान स्थापित गर्ने भन्ने विचार हो । र, सारमा भन्नुपर्दा गाँस, बास र कपासको समस्याबाट, शिक्षाबाट, स्वास्थ्योपचारबाट, रोजगारीको अवसरबाट कसैलाई पनि वञ्चित नबनाउने विचार हो । गरिबी, भोकमरी, कुरीति हटाउने कुरा नै हो । हामीले यस्ता विषयमा जनतासँग के संवाद गरिरहेका छौँ ? के सन्देश प्रवाह गरिरहेका छौँ ? के हामीले भन्न खोजेको कुरा जनतासमक्ष पुग्यो र उनीहरुले पत्याए त ? हामीले जनतालाई भनेको कुरा के हो भने हामीले संसद विघटन हुनबाट रोकेर धेरै ठूलो काम गर्यौं होइन भने देश बहुआयामिक द्वन्द्वमा फस्ने सम्भावना थियो । तर, आज र भोलिको रोजीरोटीको समस्या यो सन्देशले समाधान हुन्छ त ? हुन सक्दैन । हामीले भन्नुपर्ने कुरा के थियोे भने हाम्रो नेतृत्वमा यो यो मन्त्रालय छ, यतिवटा उपमहानगर, नगर र गाउँपालिका छन् र यतिवटा वडा छन् । यी सबै निकायबाट यो समयावधिभित्र यो यो काम गर्नेछौँ र यसमा जनताको साथ चाहियो भन्नुपथ्र्यो ।
हामीले लोकतान्त्रिक प्रणालीलाई जोगाउने काम गर्यौँ भन्दै हिँडिरहेका छौँ तर अलिक उताबाट संघीयता खारेज गर भन्दै नारा लागेको सुनिरहेका पनि छौँ । खासमा लोकतन्त्र भनेको के हो र जनताले लोकतन्त्र भन्नाले के बुझ्छन् ? यस विषयमा चुप्प छौं । मैले जाने र बुझेअनुसार लोकतन्त्र भनेको तुइनको ठाउँमा झोलुंगे पुल बन्नु हो । सबैलाई खान, लाउन पुग्ने काम हुनु अथवा खेतीपाती हुनु लोकतन्त्र हो । स्कूल कलेजको फिस तिर्न नसक्दा पनि छोराछोरीको नाम नकाटिनु लोकतन्त्र हो । हामीले के भनिरहेका छौँ जनतालाई भने संसद जोगिएका छौं । अब हामीले आउने चुनावमा भाग लिएर जित्ने हो– जितेपछि जनताको हितमा, समाजवाद ल्याउने काम गर्नेछौं । अहिले नै केही गर्न सक्ने अवस्थामा छैनौं । यस्तो कुराले को आकर्षित हुन्छ त ? आज खान छैन, अर्को चुनावसम्म कसले पर्खिन्छ ? स्कूलबाट बच्चालाई निकालिदियो, अर्को वर्ष फिस घटाउने कुरा गरेर के काम ? यस्तो हुँदैन ।
अन्त्यमा,
अरू कुरालाई केही पनि उल्लेख नगरी भन्दा हामी कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुको निम्ति अत्यन्तै उत्साह जगाउने कुरा झलनाथ खनाल र माधव नेपालको सक्रिय सहभागिता नै हो । उहाँहरू द्वयको सहभागिताले उमेर भनेको फगत संख्या मात्रै हो, मुख्य कुरा भनेको अनुभूति हो र अनुभूतिले नै युवा हुनुको, जोश र जाँगर हुनुको परिचय दिलाउँछ । उहाँहरूमा रहेको उत्साहलाई आत्मसात् गरेर सुविचारत तरिकाले अघि बढेको खण्डमा उद्देश्य प्राप्त गर्ने सफलता हासिल गर्न सकिन्छ नै !
टिप्पणीहरू