कांग्रेसमा नयाँ नेता

कांग्रेसमा नयाँ नेता

अन्ततः कांग्रेसमा मै हुँ भन्ने एउटाको जन्म भएको छ । त्यो पनि कोइराला खेमाबाट । उहाँ हुनुहुन्छ डा. शेखर कोइराला । कांग्रेसमा कोइराला भनेपछि उहाँ त जन्मजातै नेता हुनुपर्ने हो । तर, बीचमा आएको अलिकति प्राविधिक गड्बडीले गर्दा अलि पछि मात्रै नेता बन्न पाउनुभयो । नेता त्यसै बनिँदैन ।

त्यसको लागि केही खुबी देखाउनुपर्ने हुन्छ । उहाँले आफ्नो खुबी भर्खरै देखाउनुभयो । कोशीमा पार्टीका विद्रोही सांसदलाई मुख्यमन्त्री बनाइदिनुभयो । शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री बनाउन लाग्नुभएको थियो । कोइरालाले कांग्रेसकै मुख्यमन्त्री बनाइदिनुभयो ।

पार्टीको संस्थापन पक्षले जे निर्णय गरेको हो, त्यसको विरोधमा अर्कोलाई उठाइदिनुभयो । कांग्रेसमा यसैलाई खुबी भनिन्छ । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले यस्तो खुबीको नमूना स्थापित गर्नुभएको थियो । अब भतिज शेखर कोइराला त्यसलाई निरन्तरता दिँदै हुनुहुन्छ । 

उहाँको यो खुबीले माओवादीलाई चकमा ख्वाइदिएको छ । अब एमालेलाई चकमा ख्वाएपछि त्यो खुबी पूर्ण हुन्छ । आखिर कम्युनिष्टहरूलाई चकमा ख्वाउनु नै कोइरालावंशको खुबी हो नि त ।

टिप्पणीहरू