फोटो एक,अर्थ अनेक

फोटो एक,अर्थ अनेक
सुन्नुहोस्

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंक सञ्चालक चिन्तामणि शिवाकोटीको फोटो सामाजिक सञ्जालमा हालिएको एक घण्टामै अनेक अर्थ लगाइएको छ । बैंकका पूर्व कर्मचारी तथा विगतका डेपुटी गभर्नर शिवाकोटीले साँझ साढे ५ बजे सामाजिक सञ्जालमा ‘आज नेपाल राष्ट्र बैंकमा’ व्यहोराको अंग्रेजी क्याप्सन राखेर सामूहिक फोटो पोष्ट गरेका थिए ।

फोटोमा गभर्नर र सञ्चालक दुवै मन्द मुस्कानमा देखिन्छन् । दुई जना कार्यकारी निर्देशक,एक जना निर्देशक र एक जना उपनिर्देशक उनीहरु खुशी भएपछि गभर्नर र सञ्चालकसँग कुम जोडेर फोटो खिच्न पाएकोमा बेखुश हुने कुरै भएन ।

त्यही फोटोमा केहीले सकारात्मक, केहीले सांकेतिक कमेन्ट गरेका छन् । सिटिईभिटीका पूर्व हाकिम रामहरि लामिछानेले ‘यो फोटोपछि मुलुकको अर्थतन्त्रमा सुधार आउने’ व्यङ्ग्य गरेका छन् । भलै मुलुकको अर्थतन्त्रको मुख्य जिम्मेवारी अर्थमन्त्रालय र अर्थमन्त्रीको हुने गर्छ ।

नेपाल सरकारका सहसचिव तथा चीनको ग्वाङ्चौमा महावाणिज्यदूतको जिम्मेवारीमा रहेका हरिशरण पुडासैनीले ‘कुरा मिले जस्तो पो छ त’ भनेका छन् । पछिल्लो समय गभर्नर अधिकारी र सञ्चालक शिवाकोटीबीच बैंकले सेयर बजार र वित्तीय क्षेत्रमा दिने निर्देशनलाई लिएर विवाद भएको खबर बाहिरिएको थियो । शिवाकोटीले आफ्ना असन्तुष्टि सार्वजनिक गर्दै गभर्नरको कारण सेयर बजार ध्वस्त भएको बताएका थिए ।

त्यस्तै पत्रकार सुदर्शन सापकोटाले ‘कुरो मिल्यो’ भनेका छन् भने बहालरत कर्मचारीले साखुल्ले बनेको शैलीमा ‘महान तस्बिर’ लेखेका छन् ।

टिप्पणीहरू