सहकारीका सञ्चालक र व्यवस्थापकले मङ्सिरभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

सहकारीका सञ्चालक र व्यवस्थापकले मङ्सिरभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

सहकारी विभागले सहकारीका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । 

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझावका आधारमा विभागले मंसिर मसान्तभित्र सम्पत्ति विवरण बुझाउन भनेको हो । 

विभागले आफ्नो नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थालाई सहकारी नियमावली, २०७५ को नियम ७६ (झ) ले दिएको अधिकार प्रयोगगरी चार बुँदे निर्देशन दिएको छ । जसमा सबै सहकारी संस्थालाई मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्तिलगायतका वित्तिय विवरण समेटिएको स्वेतपत्र जारी गरी पेश गर्न भनिएको छ । 

त्यस्तै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थालाई आगामी चैत्र मसान्तभित्र मागअनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना मंसिर मसान्तभित्र पेश गर्न पनि विभागको निर्देशनमा उल्लेख छ । 

विभागले सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकको सम्पत्ति विवरण संकलन गरी त्यसलाई पुष्टि गर्ने कागजातसहित मंसिर मसान्तभित्र विभागमा पेश गर्न उल्लेख गर्दै सबै सहकारीलाई अनिवार्य रुपमा कोपोमिस प्रणालीमा तोकिए बमोजिमका विवरण प्रविष्टी गर्न भनेको छ ।
 

टिप्पणीहरू