चुन ढुङ्गा : अमूल्य वरदान

चुन ढुङ्गा : अमूल्य वरदान

कटारी नगरपालिकाले वडा नम्बर ३ र ४ मा ट्रिपर चलाउन रोक लगाएको छ । स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले ट्रिपर चलाउन रोक लगाइएको सूचना जारी गरेको छ । 

उक्त सूचनापछि अन्य वडाका स्थानीयले व्यापक आलोचना गरेका छन् । मेयर श्रेष्ठले विभेद गरेको भन्दै उनीहरुले प्रश्न उठाएका छन् । सिमेण्ट उद्योगहरुले यहाँबाट चुनढुङ्गा लगेर अर्बौं मुनाफा कमाइरहँदा स्थानीय तह हेरेको हेर्यै छ । 

नाफा कमाउन कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउने भूगोल विकासको प्रतिक्षामा खिसिक्क परिरहेको छ । कम्पनीहरुको पनि यस विषयमा ध्यान जान सकेको छैन । त्यसैले यसतर्फ ध्यानाकर्षण गराउने दायित्व नेतृत्वकर्ताको हो । 

सौर्य, मारूती र तेज सिमेन्टका लाइमस्टोन (सिमेन्ट उत्पादनमा प्रयोग हुने ढुङ्गा) बोक्ने दैनिक करिब छ सय टिपर सिद्धिचरणबाट सगरमाथा राजमार्गमा परिणत भएको मिर्चैया–कटारी सडकखण्डमा चल्छ । 

मारूती सिमेण्टले कटारी नगरपालिकासँगै जोडिएको जिल्ला सिन्धुलीबाट यही बाटो प्रयोग गर्दै ढुङ्गा ढुवानी गरिरहँदा सौर्य र कसमसको तेज सिमेण्टले त कटारीकै पहाडी बेल्ट उत्खनन् गरेर कच्चा पदार्थ लगिरहेका छन् । 

स्थानीय सरकारले चाहने हो भने ती सिमेण्ट कम्पनीहरूबाट नगरका सामुदायिक विद्यालय, सुविधा सम्पन्न भवन निर्माण, निजी स्रोतका आवश्यक शिक्षक, पठनपाठनका अन्य आवश्यक सामग्रीहरू सहजै लिन सक्दछ । 

मुनाफाबाटै उत्खनन्ले विस्थापित घरपरिवारलाई पुनःस्थापित र रोजगारीको प्रबन्ध मिलाउन सक्छ । नगरभरी आधुनिक सिचाइँको प्रबन्ध, कृषि सडक निर्माण र राज्यबाट अनुमतिप्राप्त क्लब, समूहगत सार्वजनिक र सामुदायिक भवनहरूको निर्माण ती उद्योगहरुका लागि सामान्य विषय हुन् । 

सार्वजनिक मठमन्दिर, पाटीपौवा अनि खेलकुद प्रयोजनका लागि मैदान र कवर्ड हलहरू ती उद्योगहरुका लागि ठूला कुरा होइनन् । यसका लागि स्थानीय तहले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर ती कम्पनीहरुलाई प्रस्तावना पेश गर्नुपर्ने हुन्छ ।   

स्थानीय तहको प्रस्तावना कम्पनीहरूले स्वीकार गर्नैपर्छ, नगरे ढुङ्गा उपलब्ध गराउने सम्झौता तोड्नेसम्मको हिम्मत देखाउनुपर्छ । जीर्ण बन्दै गएको सडकमा ढुङ्गा ढुवानी गर्न रोक लगाउनुपर्छ । यतिबेला ठूलै संघर्षको माग हुन सक्छ । मेयरले संघर्षका लागि हिम्मत देखाउन जरुरी छ । 

संघर्षबिना परिवर्तन र विकास सम्भव छैन । जनतामा आधारित विद्रोह र संघर्षको सँधै विजय भएको इतिहास साक्षी छ । १० टन क्षमताको जीर्ण बन्दै गएको सगरमाथा राजमार्गमा तीन वटा सिमेण्ट उद्योगका टिपरहरू ३४ देखि ४० टनसम्म ढुङ्गा बोकेर गुड्छन् । यति हुँदासम्म स्थानीय नेतृत्व आँखा चिम्लेर बस्नु लज्जास्पद विषय हो । 

सडकको क्षमताविपरीत ६ सयदेखि एक हजारसम्म ट्रिपरहरु गुड्छन् । विडम्बना, नेतृत्वले रोक लगाउन सकेको छैन ।

टिप्पणीहरू