उताको यस्तो गति, कहिले सुध्रेला हाम्रो मति ?

उताको यस्तो गति, कहिले सुध्रेला हाम्रो मति ?

आजको चीन त्यसै चीन भएको होइन । निकै हण्डर, ठक्कर खाएर, अपमान, हस्तक्षेप सहेर इखै इखले आजको अवस्थामा आएको हो, त्यो पनि एक शताब्दी नपुग्दै । नेपाललगायत अन्य गणतान्त्रिक मुलुकले जस्तै चीन पनि राजवंशीय शासन व्यवस्था पार गरेर आएको हो । निकै गौरवशाली सांस्कृतिक महत्व बोकेको चीन टुट्दै, फुट्दै, विभाजित हुँदै एकतावद्ध भएर विशाल (९, ७०६९६१ किलोमिटर) भएको हो । उसले युरोपेली शक्तिहरूको द्वन्द्व, अफिम युद्ध र त्यसपछिका विभिन्न असमान सन्धिहरू अनि जापानी हमलाको सामना गर्नुपरेको थियो । 

चीनलाई आधुनिक जनवादी गणतन्त्रमा ल्याउने जग सर्वप्रथम सन् यातसेनले नबसालेको भए सायद ऊ यति छिट्टै आजको अवस्थामा आइपुग्ने थिएन । त्यसलाई थप नेतृत्व दिन माओत्सेतुङ जन्माइन् चिनियाँ धर्ती माताले । नयाँ जनवादी क्रान्ति सम्पन्न हुने बेलासम्म चीन संसारका गरिब देशहरूको पंक्तिमा थियो । सन् १९८० देखि आर्थिक विकासको गतिलाई तीब्र रूपमा बढाउँदै ल्यायो । सन् १९४९ मा चीनको कूल गार्हस्थ उत्पादन (जिडिपी) को पर क्यापिटा इन्कम मुश्किलले ४९.७ युआन थियो । अहिले १२,७३२.५४७ युएस डलर (२०२२, डिसेम्बर) छ । यद्यपि हङकङ, ताइवान, तिब्बतका विषयमा तनावहरू आइरहे पनि यति विशाल भूगोललाई संरक्षण गर्दै अझै विश्वको सर्वशक्तिमान राष्ट्र बन्ने ध्येय बोकेकै छ । 

गत असोज २२ (९ अक्टोबर) गते ग्वाँग्झौ हुँदै चिनियाँ भूमिमा पाइला टेकेदेखि नै विकासमा रेल झैँ कुँदिरहेको चीनको विकासका यस्तै दृश्यहरू देखिए । यी सबै देखेर आँखा रसिला पनि भए । युन्नान प्रान्तको खुन्मिङदेखि बाओसान शहर अनि लोङ्याङ जिल्लाको विभिन्न गाउँका व्यवस्थित विकास देख्दा भावुक –भावुक भयो मन । ईष्या, डाहले होइन, चीनले सक्ने– नेपालले किन नसक्ने भनी आफँैँलाई सम्झेर । 

उनीहरू र हामीचिनियाँहरूले आत्मनिर्भरता र आर्थिक समृद्धिका लागि हरेक सम्भावनामा जोड दिएका छन्् । राजनीतिक स्थिरता, योजना, एकता, इच्छाशक्ति, लगाव, प्रविधि, पैसा, जमीन भएकाले असम्भवलाई सम्भव बनाउन सफल भएका छन्् । हामीमा यी सबै कुराको अभाव छ । कृषि प्रधान भनिने हाम्रो देशका जग्गाहरू बाँझिएर बसेका छन्् । शहरका उर्बर भूमिहरू सहरीकरणले खाइसकेको छ । सामान्य कुरामा पनि परनिर्भर छौँ । हामीकहाँ नयाँ उत्पादन गर्न चाहे पनि राज्य, सरकारले प्रोत्साहन दिँदैन । हरेक कुरामा राजनीति छ । राजनीतिक व्यवस्था फेरिए पनि व्यवहारमा सामन्ती शैली, नातावाद हावी छ । क्षमताको पहिचान र कदर छैन ।

चिनियाँ जनतालाई को आयो– के ग¥यो कुनै मतलव, चियोचर्चो छैन । आफ्नो श्रमलाई प्राथमिकतामा राख्छन् । त्यसमा नै दत्तचित्त हुन्छन् । उनीहरू एक नेतालाई आइकन मानेर अगाडि बढ्छन् । नेतालाई पत्याउँछन्, विश्वास गर्छन् । हामीकहाँ नेता जनताभन्दा उपल्लो वर्गका छन्् । छिनछिनै, दिनदिनै कुरा फेर्छन् । जनताको लागि भन्दा आफ्नो, आफन्तको, गुटको स्वार्थका लागि राज्य शक्ति र संयन्त्रको प्रयोग–दुरूपयोग गर्छन् । त्यही भएर जनताले आइकन मान्ने, टेर्ने, विश्वास गर्ने अवस्थै छैन । अर्कोतिर हामी हाकाहाकी हरेक क्षेत्रमा विदेशी हस्तक्षेपमा पर्दै आएका छौँ । आत्मनिर्भरता र आन्तरिक एकता मजबुत नहुँदा त्यसलाई खुलेआम प्रतिकार गर्ने आँट, विश्वास सत्ता, सरकार सञ्चालक र दलहरूमा छैन । 

कसलाई दोष दिने ? 

नेपाल देखिने उपनिवेशमा नरहेको मात्रै हो । तर यो अर्ध उपनिवेशिक पञ्जा र उत्पादनका सामन्तीतन्त्रबाट अझै मुक्त हुन पाएको छैन । जतिपटक क्रान्ति, आन्दोलन भए पनि चाहेजस्तो अगाडि बढ्न नसकेर दिक्क लाग्दा कहिले त विगतमा चीन, भारतजस्तै प्रत्यक्ष औपनिवेशिक पीडा भोग्नपरेको भए नेपालीलाई पनि त्यो पीडा, इख र भोगाइले छिटो एकता र समृद्धिको बाटोमा लैजान्थ्यो कि भन्ने जस्तो लाग्ने । केही हुँदै नभएको त होइन तर यत्तिका वर्षमा हुनपर्ने जति विकास हुन सकेको छैन ।

लोकतान्त्रिक सङ्घीय गणतन्त्र आएपछि पनि सन्तुष्टि छैन नागरिकमा । किन त, कारण के हो ? हिजो राजालाई दोष दिएर पुग्थ्यो, आज कसैले कसैलाई दोष दिएर, एकअर्काको खिसीट्यूरी गरेर, उछित्तो काढेर, खुच्चिङ भनेर हुनेवाला केही छैन । एउटा माखो पनि मर्ने सम्भावना छैन । सुध्रिएर, मिलेर नजाने हो भने ०८४ को आम चुनावले घरको न घाटको बनाउनेमा कुनै शङ्का छैन । लडेका हौँ, लोकतान्त्रिक गणतन्त्र ल्याएका हौँ भनेर हिङको टालो सुँघाउँदैमा अबको जनताले मान्ने, पत्याउने र पर्खनेवाला छैन

टिप्पणीहरू