भरतपुरमा अखाद्य सामग्रीको बिगबिगी, अनुगमन भएको सरकारी दाबी

भरतपुरमा अखाद्य सामग्रीको बिगबिगी, अनुगमन भएको सरकारी दाबी
सुन्नुहोस्

मिठाई भन्नेबित्तिकै कसको मुख नरसाउला र ? धेरैको मनपर्ने खाद्य परिकार हो, मिठाई । मिष्ठान्न भण्डार वा मिठाई पसलमा सजाएर राखिएका रंगीबिरंगी मिठाई देख्दा जो कोहीलाई खाऊँखाऊँ लागिहाल्छ । तर, धेरै रंगीन मिठाई खानै नहुने विज्ञहरु बताउँछन् । 

गाढा रंगीन मिठाईहरु कृत्रिम रंग प्रयोग गरी बनाइने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका प्रमुख घननाथ अधिकारीले बताए । रंगहरुमा लिड (सिसा) हुने भएकाले त्यसले क्यान्सरको जोखिम निम्त्याउने उनको भनाई छ । 

हाम्रा पर्व तथा उत्सवहरुमा मिठाईको अत्यधिक प्रयोग हुन्छ । हालै तिहारलक्षित अनुगमनका क्रममा भरतपुर महानगरपालिका–३ स्थित पूजा स्वीट्सको जेरीमा अत्यधिक रंग प्रयोग भएको पाइएपछि नष्ट गरिएको थियो । 

‘साँझ भइसकेर होला हामी पुग्दा सामान पनि कम थियो, डेढ किलो जति जेरी जफत गरेर नष्ट गर्न लगायौं’ डिभिजन कार्यालयकी खाद्य निरीक्षक बन्दना पन्त भन्छिन्, ‘उमालेर होस्, पकाएर होस् वा तारेर बेचिने कुनै पनि खानेकुरामा फुड कलर हाल्न नेपाल सरकारले निषेध गरेको छ ।’

अर्काे एउटा मिठाई पसललाई जरिवाना पनि गरिएको छ । तिहारको दुई दिनअघि त्यहाँका वडाध्यक्षको रोहवरमा गरिएको अनुगमनका क्रममा सरसफाइ र होटल पूर्वाधार कमजोर भएको शंकर मिठाई पसललाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको भरतपुर महानगरपालिका उपभोक्ता हित संरक्षण शाखा अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिए । 

मिठाईजन्य परिकारकासाथै पकौडा र कतै समोसामा पनि कृत्रिम रंग प्रयोग भइरहेको देखिन्छ । यस्तै, मासुका परिकारमा रंगको ज्यादै प्रयोग गर्ने गरिएको छ । बजारतिर सडक छेउछाउ ठेलामा पकाएर बेचिने मासुका फ्राइ तथा रोस्ट आइटमहरुमा अत्यधिक रुपमा अखाद्य रंग प्रयोग भइरहेको छ । 

‘यी ठेलाहरुलाई जति भनेपनि लाग्या छैन, अब हामी कानुनअनुसार जफत गर्छौं, नियन्त्रणमा लिन्छौं’, डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने । कतैकतै काँचै मासु पनि खराब बेच्ने गरेको पाइएको उनले जानकारी दिए ।

चाडबाडका बेला दूषित गन्ध आएको मासु बेच्नका लागि डी–फ्रिजमा राखेको पाइएपछि रत्ननगर नगरपालिका–१ को जनता मासु पसलबाट ११ किलो ४०० ग्राम मासु जफत गरी नष्ट गरिएको अधिकारीले बताए । त्यस्तै, सोही स्थानको एउटा बेकरीबाट खान अयोग्य स्ट्रबेरी, लट्टि चकलेट, बोन्टी चकलेट बरामद गरेर नष्ट गरिएको थियो । 

शंकास्पद केही खाद्य वस्तुको नमुना लिएर परीक्षणका लागि पठाइएको छ । मिक्स फ्रुट जुस, बिस्कुट, रामेन टाइपको पीरो चाउचाउ, प्याकिङ अचार र बढी टुक्रिएको चिउराको नमुना गुणस्तर परीक्षणका लागि काठमाडौं पठाइएको कार्यालयको भनाई छ । 

कार्तिक १७ गते भरतपुरका किराना पसलहरुको अनुगमन भएको थियो । भरतपुर महानगरपालिका–१, मेनरोडस्थित नौलो स्टोर्स, आलुमन्डीमा रहेको महेश खाद्य स्टोर्स र भरतपुर–११ को जनसेवा स्टोर्समा चिनीको मौज्दात पर्याप्त थियो ।

‘चाडबाडको बेला चिनीको अभाव हुन्छ कि भन्ने आशंका थियो । चिनीका ठूला व्यापारी र किराना व्यवसायीसँग पर्याप्त मौज्दात देखियो’, जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भने, ‘सरकारबाट चिनीको आयात नभएको र स्वदेशी उद्योगहरु पनि घट्दै गइरहेकाले समस्या त छ तर चाडबाडमा चिनीको समस्या हुन पाएन । अन्डरबिलिङ गरेर बढी मूल्यमा चिनी बेचिएको चाहिँ पाइयो ।’ 

उनले थपे, ‘ठूला मिलहरुले नै त्यो गरे । त्यसैले ११५ रुपैयाँमा पाइनुपर्ने चिनीलाई १२५ तिर्नुपर्ने अवस्था रह्यो ।’ विगतमा झैं म्याद नाघेका, अखाद्य वस्तुहरु भेट्न छोडेको उनले बताए । पुतलीबजारका केही पसलबाट म्याद गुज्रेका फ्रुट ड्रिंक, केचप, डेरी किड्सहरु जफत गरी नष्ट गरिएको थियो । तिहारका बेला रंग राखेका थुप्रै झिलिंगाहरु पनि बरामद गरी नष्ट गरियो । 

जीतपुरमा अखाद्य रंग प्रयोग भएका धेरै झिलिंगा नष्ट गरिएको भरतपुर महानगरपालिकाका अनुगमन अधिकृत बताउँछन् । उनका अनुसार वडा नम्बर १८ को एक चिया पसलबाट खान अयोग्य एक किलो बर्फी नष्ट गरिएको हो । ‘तिहारमा प्लाष्टिकका फूलहरु पनि बेच्न राखिएका थिए, हामीले हटाइदियौं’, उनले भने ।

चितवन र आसपासका बजारमा अझैपनि साइट्रिक एसिड प्रयोग भएका अमिलो लुकीछिपी बेचबिखन भइरहेको पाइन्छ । निषेधित घिउ र लेबल नभएका अमिलोलाई हटाउनुपर्ने बताउँदै उनले भने, ‘दूध डेरीहरुमा बाहिरका घिउहरु आएको पाइएको छ । त्यसको क्वालिटी टेष्ट गर्न हामीले खाद्य प्रविधि कार्यालयलाई भनेका छौं ।’ 

भरतपुर महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका अधिकृत सापकोटा भन्छन्, ‘हामीले अनुगमन, कारबाही र सचेतनालाई सँगसँगै अगाडि बढाएका छौं । नवीकरण नगरेका पसललाई उतिखेरै नवीकरण गर्न लगाएका छौं ।’ 

जनगुनासो बढेपछि र समस्या देखिएपछि पछिल्लो समय एग्रोभेटहरुमा अनुगमन बढाएको उनले जनाए । ‘एग्रो र भेटका सामानहरु सँगसँगै राख्न नहुने भन्ने छ, त्यसमा कडाइ गरेका छौं’,उनले थपे, ‘अब कपडामा जाने तयारी छ ।’

 

टिप्पणीहरू