सैनिकहरू किन भाग्दै छन् सर ?
नेपाली सेनाको तल्लो दर्जाका मानिसहरु हराउने क्रम बढेको छ । हरेक महिना दर्जन बढी सैनिक बेपत्ता हुन्छन् । कोही घर बिदाको बहानामा त कोही तारबार नाघेर भागिरहेका छन् ।
सिपाही भुवन जिटी असार २९ गतेदेखि बेपत्ता छन् । कसैले सुइँको नपाउने गरी गण पेरिमिटरको तारबार नाघेर भागेका उनको अहिलेसम्म पनि अत्तोपत्तो लाग्न सकेको छैन । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बस्ने भाष्करको नाति एवं ताराबहादुर घर्तीका छोरा उनलाई कहीँ–कतै फेला पारेमा पक्राउ गरेर उपस्थित गराउन सेनाले प्रहरीलाई गुहारेको छ । त्यस्तै, सिपाही विनोज गुरुङ तालिम शिविरबाटै भागे । युद्धभैरव गणमा भदौ १८ गतेदेखि सञ्चालित स्नाइपर तालिमको अन्तिम दिन उनी लाइन छोडेर टाप कसेका हुन् । कात्तिक २३ गते भागेका उनी अहिलेसम्म भेटिएका छैनन् । उनी गोरखाको धार्चे गाउँपालिका–२ बस्ने यचबेर गुरुङका नाति हुन् ।
घर बिदामा निस्किएका सिपाही समीर परियार पनि बेपत्ता छन् । ओखलढुंगाको हर्कपुरका कर्णबहादुर दर्जीका नाति एवं नुनबहादुरका छोरा उनी कात्तिक १९ गतेदेखि तीन दिनको बिदामा थिए । श्री नम्बर १ विपद् व्यवस्थापन गणमा अट्याच रहेका उनी कात्तिक २१ गते हाजिर हुनुपर्ने थियो । घरायसी समस्या देखाएर २४ दिन घर बिदामा गएका सिपाही वसन्त नेम्वाङको कुनै अत्तोपत्तो छैन । भदौ २० गतेदेखि असोज १२ गतेसम्म बिदामा रहेका उनी अहिलेसम्म पनि कार्यालय नआएको साथीहरूको गुनासो छ ।
पाँचथरको पौवासाखाप गाउँपालिका–२ बस्ने खड्कबहादुरका नाति एवं कालालिम्बु नेम्वाङका छोरा उनलाई पटकपटक सम्पर्क गर्दा पनि सफल हुन सकेको छैन । सिपाही चन्द्रबहादुर गुरुङ पनि सम्पर्कविहीन छन् । श्री उत्तरपश्चिम पृतना तालिम शिक्षालयमा ड्युटीरत उनी २६ दिन घर बिदामा थिए । असोज २६ गते शिक्षालयबाट निस्किएका उनी कात्तिक २३ गते हाजिर हुनुपर्ने थियो । उनी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने लाक्पाबहादुर गुरुङको नाति एवं सुर्पबहादुर गुरुङको छोरा हुन् । गनर सुनिल घर्तीमगर यसैगरी गायब छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ बस्ने उनी असोज ९ गते दुई दिन घर बिदा मागेर निस्किएका थिए ।
कोही कोहीचाहिँ भागेर पनि फर्किने गरेका छन् । हराएको आठ दिनपछि एक जना अमल्दार फर्किए । उनी हुन्, अमल्दार सिमन राई । घर बिदामा गएका उनी बल्लतल्ल हाजिर हुन पुगे । मकवानपुरका वीरबहादुर राईको छोरा उनी कात्तिक १३ गते बिदामा थिए । उनी कात्तिक २२ गते कार्यालयमा हाजिर हुन आएको सेनाले जानकारी दिएको छ ।
गणपति हेरफेर
विभिन्न गणका लेफ्टिनेन्ट कर्णेलहरूको हेरफेर भएको छ । खड्गदल गणका शशीकुमार कार्की श्री नेपाली सैनिक वार कलेजमा नियुक्त भएका छन् । यता, श्री नम्बर २ सैन्य तालिम केन्द्रका प्रमुख सेनानी विकास अधिकारी उनको ठाउँमा आएका छन् । उनीहरूबीच साउन १० गते सम्पूर्ण जिम्मेवारीको बुझ–बुझारथ भएको हो ।
किर्तेभन्दा डरलाग्दो अर्को कर्तुत
सेनाभित्र हुने गरेको अनियमितताको अर्को बान्की छ, कागजात किर्ते । खासगरी अधिकृत बढुवाका बेला किर्ते काण्ड बाहिर आउने गर्छ । र, यो परम्पराजस्तै भइसकेको छ ।
कागजातमात्र होइन, त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा समेत कुन हदसम्म अनियमितता हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । सेनामा अधिकृतका लागि शैक्षिक योग्यता र उमेरको मापदण्ड प्रष्ट किटान गरिएको छ । १२ पास गरेको र २१ वर्ष ननाघेको अथवा स्नातक गरेको भए २४ वर्ष नकटेकाकाले मात्रै अधिकृत हुन पाउँछ । प्लस टु र स्नातक गरेको भए पनि भविष्यमा स्नातकोत्तर नगरे लेफ्टिनेन्ट कर्णेल हुन पाउँदैन । त्यसबाहेक दर्जाअनुसार विभिन्न तालिम त पूरा गर्नुपर्ने भइहाल्यो । क्याप्टेन वा मेजर भएको ३५ वर्ष ननाघेकाले स्टाफ कलेज गर्न पाउँछ । जुन सैनिक स्टाफ कलेजका नामले परिचित शिवपुरीस्थित जंगलको डाँडोमा अवस्थित छ । त्यहाँ सेनाका आन्तरिक हतियार र व्यवस्थापन, उच्च कमाण्डलगायत रणनीतिक तालिमका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विषयको पनि पढाइ हुने गर्छ ।
अर्कातिर बढुवाका लागि विभिन्न किसिमका आन्तरिक परीक्षा पनि सेनामा चलिरहेको प्रक्रिया हो । जसमध्ये भक्तपुरको खरिपाटीस्थित सैनिक शिक्षालय अत्यन्त प्रख्यात छ, जहाँबाट सैनिक अधिकृतहरूको उत्पादन गरिन्छ । त्यहाँ स्नातक तहको ४ वर्षे (पहिले ३ वर्षे) वा ८ सेमेष्टरको परीक्षा हुन्छ । त्रिविअन्तर्गत सेनाले नियुक्ति दिएका प्राध्यापकहरूले नै अध्यापन गराउँछन् भने नियमित तथा पूरक परीक्षा पनि उनीहरूबाटै सञ्चालन गराइन्छ । त्यो परीक्षामा यतिधेरै अनियमितता हुन्छ कि भुक्तभोगीबाहेक अरुले सायदै पत्याउला ।
यता, सैनिक स्टाफ कलेजको अवस्था पनि त्यस्तै छ । अर्कोतिर नियमित पास हुन नसकेर विभिन्न युनिटमा पोष्टिङ भएका अधिकृतलाई देशैभरका पृतना हेडक्वार्टरमा परीक्षा दिने व्यवस्था मिलाइएको हुन्छ । अधिकृत र जवान भर्ना छनोटमा समेत अंग्रेजी, नेपाली, गणित, आइक्यु, सामान्य ज्ञानलगायत विषयको जाँच लोकसेवाले लिने गर्छ । परीक्षा लिन लोकसेवा र त्रिविबाट एक–एक जना प्रतिनिधि खटाइएको हुन्छ तर सेनाको छायामा पर्ने उनीहरूले अनुगमन गर्न सक्दैनन् । त्यस्तो वातावरण पनि बनाइएको हुँदैन । परीक्षार्थीलाई मनमौजी छोडिन्छ मात्र होइन चिट चोराउने, गाइड र गेसपेपर पुर्याइदिने कामसमेत सेटिङ मिलाएर उनीहरूबाटै गरिन्छ । यसरी परीक्षा दिएर पास भएका सैनिक अधिकृत कस्ता होलान् ?
शिक्षण पक्ष भन्ने अर्को एउटा संस्था छ, त्यहाँ सबैभन्दा माथिल्लो तहको पढाइ एसएलसी/एसईई हुनुपूर्व लिइने टेष्ट वा सेन्टअप टेष्टसरह हुन्छ । लेखा, जिन्सी, सैनिक ऐनसहित अंग्रेजी, नेपाली, गणित र विज्ञानको परीक्षा पास गरेपछि एसईई दिन पाइन्छ । त्यहाँको अवस्था पनि त्यस्तै छ । सेनामा भर्ना आह्वान गर्दा ५/८ वा टेष्ट र एसएलसी, प्लस २ पास एउटा रिक्वायरमेन्ट मात्रै हो । थप पढाइ गर्न चाहनेले भित्रै पढ्न पाउँछ । अहिले त नर्सिङदेखि डाक्टर र इञ्जिनियर, पाइलटसमेत भित्रै पढ्न पाइन्छ । तर, पढाइ र परीक्षा देख्ने जो–कोही चकित पर्छ । यो कुरा सेनाका मान्छेलाई थाहा छ भने त्रिवि र लोकसेवाका कर्मचारी र सम्बन्धीत प्राध्यापकहरूलाई पनि राम्रै जानकारी छ । विडम्बना ! तिनीहरू चुइँक्क बोल्दैनन् यो मामलामा । किनकि उनीहरूले पनि सेनाको जुठोपिठो भेट्टाएका हुन्छन्, खाएपछि त पोल्छ । अब फेल भए पनि पास गराइने भएपछि जर्नेलहरूका किर्ते कागजका कुरा गरेर के जगत हँसाउनु ? सैनिक नेतृत्वलाई सुझाव छ, परीक्षामा कसरी अनियमितता भयो भनेर प्रमाण खोज्नतिर नलाग्नुहोला बरु अब निगरानी र नियन्त्रण गर्नतर्फ ध्यान दिनुहोला ।
– भूतपूर्व सैनिक
टिप्पणीहरू