मध्यपहाडी लोकमार्गमा भूकम्पका चिरा
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुमपश्चिम र जाजरकोटका ग्रामीण सडक र मध्यपहाडी राजमार्गका विभिन्न स्थान भासिनुका साथै चिरा परेका छन् । ती सडकखण्डमा अहिले दुर्घटनाको जोखिम बढेको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिम खण्डको चौरजहारीदेखि मुसीकोटसम्मको क्षेत्रमा दर्जन बढी स्थानमा सडक चिरा परेको छ । राजमार्गको विभिन्न स्थानको छेउको भाग बढी मात्रामा भासिएको छ भने बीचमा चर्किएको छ । चौरजहारी नगरपालिका –१ का सागर आचार्यले चिरा परेको सडकखण्डमा मोटरसाइकल चलाउँदा डर लाग्ने गरेको बताए । उनले जिल्ला सदरमुकाम मुसीकोट जानेआउने क्रममा विभिन्न भागमा सडक चिरा परेकोले दुर्घटनाको जोखिम बढेको उल्लेख गरेका छन् ।
गाडी चालक खड्कबहादुर रानाले ठाउँ ठाउँमा भूकम्पको कारण सडक नै चिरा परेकोले दुर्घटनाको जोखिम रहेको उल्लेख गरेका छन् । चिरा परेको सडकको भाग हरेक दिन भासिँदै गएको समेत रानाको भनाई छ । भूकम्पले क्षति पुर्याएका सडकको मर्मत तथा सुधार गर्न आवश्यक रहेको बताइन्छ ।
यस विषयमा मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख कुशलता न्यौपानेका अनुसार क्षति पुगेको राजमार्गको विवरण संकलन भइरहेको छ । उनले इञ्जिनियरसहितको टोली फिल्डमै रहेकाले क्षतिको यथार्थ विवरण चाँडै आउने र समस्या समाधानका लागि लागिपर्ने प्रतिबद्धता जनाएका छन् । राजमार्गका केही क्षेत्रमा आफैँ पुगेर भासिएको, चिरा परेको र पहिरो गएको क्षेत्रको अनुगमन गरिएको र अन्य स्थानको क्षतिको विवरण संकलन हुँदै गरेको उनले बताए ।
ठेकेदारले हस्तान्तरण गरिसकेको सडकखण्डमा क्षति पुगेकाले मर्मत तथा सुरक्षाको निम्ति बजेटमा समस्या भइरहेको समेत योजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार समस्या समाधानको निम्ति सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको छ ।
भूकम्पको कारण पहिरोबाट अवरुद्ध भएका ग्रामीण सडकहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारको समन्वयमा सुचारु गरिएको छ । चिरा परेका र भासिएका ग्रामीण सडकहरुको विवरण संकलन गरेर मर्मत तथा निर्माणको निम्ति सम्बन्धित निकायलाई पत्राचार गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
भूकम्पमा रुकुम पश्चिममा मात्र ५३ जनाको मृत्यु भएको थियो । हजारौ घरबारविहीन सर्वसाधारण अहिले टेन्ट र त्रिपालमा गुजारा गरिरहेका छन् । भूकम्पले पुर्याएको व्यक्तिगत तथा सार्वजनिक स्थानको क्षतिको पूर्ण विवरण स्थलगत रुपमै संकलन भइरहेको बताइन्छ ।
टिप्पणीहरू