बोराभित्र पुरुष र महिलाको लास, पहिचानको निम्ति प्रहरीको अनुरोध

बोराभित्र पुरुष र महिलाको लास, पहिचानको निम्ति प्रहरीको अनुरोध
सुन्नुहोस्

तपाईंको परिवार, छरछिमेक, आफन्त वा इष्टमित्र कोही हराइरहनु भएको छ ? वा लामो समयदेखि सम्पर्कविहीन हुनुहुन्छ भने तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ । 

चितवनमा केही दिनअघि दुईवटा लास भेटिए । एउटी महिला र अर्काे पुरुषको । लिंग पहिचान बाहेक पारिवारिक पहिचानलगायत अन्य कुरा खुल्न नसक्दा अनुसन्धानमा समस्या भइरहेको छ । भरतपुर–१२ मिलनचोकस्थित कल्भर्टमा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फ्याँकिएको अवस्थामा गत मंसिर ६ गते एकसाथ दुई लास फेला परेका थिए ।
 
अनुहार चिन्नै मुश्किल हुनेगरी सडेगलेको हालतमा शव फेला परेको हुँदा सनाखतमै समस्या परेको छ । यसले घटनाको अनुसन्धान एवम् दोषी पत्ता लगाउन कठिन भइरहेको बुझिन्छ । त्यसैले कसैको आफ्ना वा चिनेजानेकाहरु कोही लामो समयदेखि हराइरहनुभएको छ वा सम्पर्कविहीन हुनुहुन्छ भने तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरिहालौं ।

कल्भर्टमुनि बोराभित्र भेटिएका दुवै लास तीन–चार दिनअगाडि नै अन्यत्र हत्या गरी त्यहाँ ल्याएर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र सीमावर्ती भारतीय जिल्लाहरुमा समेत हुलिया परिपत्र गर्दापनि अझैसम्म सनाखत हुन सकेको छैन । 

चितवन प्रहरीबाट उपलब्ध हुलिया अनुसार झट्ट हेर्दा उनीहरु तराई मूलका जस्ता देखिन्छन् । मझौला शरीरका दुबैजना श्याम वर्णका छन् । ३०÷३५ वर्षको पुरुष र २५÷३० वर्षकी महिला जस्तो लाग्छन् । प्रहरीका अनुसार पुरुषको उचाइ ५ फिट ७ इञ्च र महिलाको ५ फिट ३ इञ्च उचाइ छ । 

पुरुषले सुपर ड्राइ लेखिएको नीलो रंगको कट्टु, ड्युरो ८० डबल लेखिएको कलेजी रंगको अन्डरवेयर, रुपा फ्रन्टलाइन साइज ८० सीएम लेखिएको सेतो रंगको सेन्डो लगाएको बताइन्छ । महिलाको शरीरमा साइज एल लेखिएको प्याजी रंगको लेगिन्ज, ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको टप्स, रातो र पहेंलो रंग मिसिएको र रातो रंगको सल, एकापट्टि दुर्गामाता र अर्काेपट्टि मन्दिर जस्तो देखिने फोटो भएको रातो डोरासहितको माला, कलेजी रंगको पेन्टी, सेतो बुट्टा भएको पहेंलो रंगको ब्रा थियो । 

महिलाले कानमा पहेंलो धातुको झुम्का लगाएकी प्रहरीको भनाई छ । उनको बायाँ हातमा एस (स्पष्ट) अनि ए, एम, वाइ (अस्पष्ट) अक्षरको र चित्र आकारसमेत भएको ट्याटु छ । यस्तो हुलियाका मानिसबारे जानकारी भएमा जोसुकैले नजिकैको प्रहरी कार्यालय वा फोन नं. ९८५५०९०१३३ मा सम्पर्क गरी अनुसन्धानमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोध छ । 

 

टिप्पणीहरू