राजनीतिक दल दर्ताको म्याद मंसिर अन्तिमसम्म

राजनीतिक दल दर्ताको म्याद मंसिर अन्तिमसम्म

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको क्याबिनेट बैठकले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचनको मिति तोकेपछि आयोगले आज कार्यतालिका सार्वजनिक गरेको हो । 

जसअनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम छ । 

आयोगले राजनीतिक दल दर्तापछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेर पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने बताएको छ ।

त्यस्तै, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने जनाइएको छ । 

माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म राष्ट्रियसभा निर्वाचन मतदान हुने छ ।
 

टिप्पणीहरू