विमानस्थलको जिम्मा विदेशीलाई दिनुपर्ने मन्त्रीको धारणा,पूर्व अख्तियार प्रमुखद्वारा ठाडै आलोचना
विभागीय मन्त्रीले केही कर्मचारी र तिनका गलत प्रवृत्तिलाई दोष लगाउँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमलाई पुनर्संरचना गर्नुपर्ने धारणा अघि सार्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमलाई पुनर्संरचना गर्नुपर्नेवारे हिजो साँझ सामाजिक सञ्जालमा लेख्नुभएको हो ।
संस्थाको नाम नलिई कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्र गर्ने प्रवृत्ति र परिणाम नदिने संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आएको निश्कर्ष मन्त्रीको छ । उहाँको सामाजिक सञ्जाल पेजमा लेखिएको छ, ‘नेपाल वायुसेवा र त्रिभुवन विमानस्थललाई व्यवस्थापन करार गरेर सिंगापुरलगायत विश्वका चर्चित एअरपोर्टहरु जस्तै सञ्चालन गर्दा कसो होला ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्रतिस्पर्धाको नाममा अन्य कम्पनीलाई दिने सरकारी प्रयासको खबर बाहिर आएको सन्दर्भमा मन्त्री किराँतीको उक्त धारणा आएको हो । उता मन्त्रीको धारणा र सरकारको हालैको निर्णयबारे कडा प्रतिक्रिया जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख तथा भूतपूर्व गृहसचिव नवीन घिमिरेले भने राष्ट्रिय ध्वजाबाहक कम्पनीको इज्जत जोगाउने जिम्मा सरकारको रहेको सुझाव दिएका छन् ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी पूरा गर्दै आएको निगमबाट उक्त कार्य झिकेर प्रतिस्पर्धामा लैजाने समाचारलाई उनले सैद्धान्तिक दृष्टिकोणबाट राम्रो भए पनि उक्त संस्था राष्ट्रिय ध्वजाबाहक भएकोतर्फ ध्यान दिन उनले आग्रह गरेका हुन् ।
‘जहाज सञ्चालनको व्यवस्थापन र ग्राउण्ड ह्याण्डलिङको व्यवस्थापन पृथक विषय हुन् । दुवै व्यवस्थापनका आ–आफ्ना कमजोरी होलान् । समस्यालाई एउटै बास्केटमा हालेर मूल्याङ्कन गर्नुभन्दा दुवै पक्षको अलग अलग मूल्याङ्कन र समीक्षा गर्न उपयुक्त हुनेछ,’ उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, तदनुरूप सुधार गर्दै जानुु पर्दछ । आलुका बोरामा एउटा आलु कुहिए त्यहि आलु फाल्ने हो, बोरा नै फाल्ने त होइन ।’
अन्यथा निगमको कमजोर आर्थिक स्थितिले झन् भयावह अवस्था आउने घिमिरेको भनाई छ । ओरालो लागेकालाई तलतिरै लखेटेको अवस्थामा खाल्डामा पुग्ने उनले निश्कर्ष निकालेका हुन् । लेखिएको छ, ‘ओरालो लागेकालाई पुच्छर ठाडो पारेर म्याराथुन कुद्ने गरि तलतिरै लखेटेर खाल्डोमा पुर्याए जस्तो हुनेछ । त्यसपछि त के को सुधार ? के को रिइञ्जिनियरिङ ? किन व्यवस्थापकीय कुशलता देखाई रहनुपर्ने दुःख ? नरहे बाँस, नबजे बाँसुरी !
मन्त्रीलगायत जिम्मेवार पक्षलाई उनले संस्था र निकाय सुधार्न सुझाव पनि दिएका छन् । भैरहवा र पोखरा विमानस्थललाई क्षमताअनुरुप सञ्चालन र प्रतिफल प्राप्तिको बाटोतिर अग्रसर गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सल्लाह दिँदै लेखेका छन्, ‘अहिलेको अवस्थामा यो नै महत्वपूर्ण कदम हुनेछ ।’
टिप्पणीहरू