जनता तीन करोड, लाइटर ४५ करोड

जनता तीन करोड, लाइटर ४५ करोड

नेपालको जनसंख्या दुई करोड ८५ लाख हाराहारीमा छ । तर, यति जनसंख्या भएको मुलुकमा त्योभन्दा १५ गुणा बढी चुरोट सल्काउने लाइटर आयात गरिन्छ । हुन तः काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनिन्थ्यो भने नेपाललाई देवभूमि अर्थात् ३३ करोड देवीदेवताको बासस्थान मान्ने गरिएको छ ।

हिजोआज हातमा चुरोट र लाइटर बोकेर हिँड्ने जमात कम छ । अन्य काममा पनि लाइटरको खासै आवश्यकता पर्दैन । तर, यहाँ चालु आर्थिक वर्षको पहिलो चार महिनामै झण्डै १४ करोड थान चुरोट सल्काउने साइजका ग्यास लाइटर आयात गरिएको छ । व्यापारीले साउनदेखि कात्तिक मसान्तसम्म १३ करोड ७५ लाख ३४ हजार थान लाइटर चीनबाट मगाएका छन् ।

भन्सार विभागका अनुसार औसत दैनिक चारदेखि पाँच कन्टेनर ग्यास लाइटर नेपाल भित्रिने गरेको छ । एउटा कन्टेनरमा १० लाख थान लाइटर अटाउँछ । यस हिसाबले वर्षको कम्तीमा ४५ करोड थान लाइटर आयात हुने अनुमान लगाउन सकिन्छ । सामान आयातले भन्सार राजश्वमा वृद्धि हुन्छ । सरसर्ती हेर्दा यो सकारात्मक नै होला तर त्यति धेरै लाइटर प्रयोग गर्छ कसले ? जान्छ कहाँ ?

त्रिपुरेश्वरस्थित भन्सार विभागले जनआस्थालाई उपलब्ध गराएको विवरणअनुसार ती सबै लाइटर चीनबाट रसुवागढी र तातोपानी नाकाका साथै वीरगञ्जको सुख्खा बन्दरगाहभएर भित्रिएका हुन् । ‘चाइनाबाट पैठारी गरिएका लाइटर अर्कै बाटोबाट भारत लगिन्छ,’ एक जना भन्सार अधिकृतले बताए । लाइटरको व्यापारमा ठूला व्यापारी नै संलग्न भएको उनको दाबी छ । ‘केराउ, मरिच, सुपारी, पामआयलको नेपालबाट तस्करी भएझैँ अहिले ठूला व्यापारी लाइटर तस्करीमा संलग्न छन्,’ उनले भने, ‘तर आयात गर्ने फर्मको नाम अरुकै नाममा खोलिएको देखिन्छ ।’

उनका अनुसार एक कन्टेनरबाट कम्तीमा १५ देखि २० लाख फाइदा हुने गरेको छ । भारत सरकारले ‘एन्टी डम्पिङ ड्युटी कष्टम’ लागू गरेपछि ग्यास लाइटरको माग पारिको बजारमा बढेको हो । साउनदेखि कात्तिकसम्म भन्सार विभागले लाइटर आयातबाट २२ करोड ५३ लाख ९२ रुपैयाँ राजश्व बटुलेको छ । एक जना व्यापारीका अनुसार सबै खर्च जोडेर नेपाल आइपुग्दा त्यस्तो लाइटरको मूल्य जम्मा नौ रुपैयाँ पर्छ । भारत पुर्‍याउँदाभने कम्तीमा ५० रुपैयाँ प्राप्त हुन्छ । यसअघि चीनबाट विद्युतीय चुरोट आयात गरेर भारततिर तस्करी हुुँदै आएकोमा उता प्रतिबन्ध लगाइएपछि अहिले यसको आयात र कारोबार शून्य भएको छ ।

टिप्पणीहरू