१० वर्षपछि डाक्टर दम्पतीको पद घटुवा

१० वर्षपछि डाक्टर दम्पतीको पद घटुवा

– यदुनाथ बञ्जारा

मापदण्ड र कानुनी प्रक्रिया पूरा नगरी १० वर्षअगाडि पद प्रमाणीकरण बढुवा भएका डाक्टर दम्पती यतिखेर घटुवाको कोशेली बोकेर हिँड्न बाध्य भएको छ । 

गण्डकी मेडिकल कलेज पोखराका दुई जना चिकित्सकलाई यो भाउतो आइपरेको हो । रवीन्द्रप्रसाद श्रेष्ठ र टुमाया घले श्रीमान्श्री/मती हुन् । श्रीमान्  गण्डकी मेडिकल कलेजका प्रिन्सिपल हुन् भने श्रीमती अस्पताल प्रमुख । कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालको विश्वास जितेर दुबै जनाले जिएमसिको बागडोर सम्हाल्दै डाक्टरको अगाडि प्राध्यापक लेख्दै आएका छन् । 

यसरी प्राध्यापक लेख्न थालेको पनि १० वर्ष भैसक्यो । चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २०७१/०४/०४ देखि लागू हुने गरी प्राध्यापक पदमा प्रमाणीकरण गरेको पत्र छ । तर, पद पाएको झण्डै ९ वर्षपछि चिकित्सा शास्त्र अध्ययन संस्थानमा उजुरी पर्न गयो र मिति २०७९/५/२२ गते प्राध्यापक पद खारेज भई सिधै उपप्राध्यापक घटुवा गरिदियो । 

पद घटुवामा परेका अर्थोपेडिक रवीन्द्रप्रसाद श्रेष्ठ र एनेस्थोलोजी टुमाया घलेले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । छुट्टाछुट्टै मुद्दा दायर गरेको भए पनि अदालतले दुवैको पद बढुवा गर्ने गरी २०७२/०३/३० गते संस्थानका डीन प्राडा राकेशप्रसाद श्रीवास्तवले १६ जनाको नाममा गरेको निर्णय त्रुटिपूर्ण रहेको भन्दै सच्याउने निर्णयलाई सदर गरिदिएको छ । त्रिभुवन विश्वविद्यालयले यस प्रकरणमा सहायक डिन प्रेमराज ज्ञवालीलाई छानबिनको जिम्मा दिएको थियो । अन्ततः त्यही छानबिनको आधारमा श्रेष्ठ र घलेको पद घटुवा सदर भएको छ ।
 

टिप्पणीहरू