देश विदेशमा घरीघरी कुरा फेर्न मजा हुन्छ र माननीय ?

देश विदेशमा घरीघरी कुरा फेर्न मजा हुन्छ र माननीय ?
सुन्नुहोस्

निराशाको पसल थापेर स्वार्थको व्यापार बिक्ने नेपाली राजनीतिमा बेलाबखत थरिथरिका पात्रहरुको उदय हुने गरेको छ । यसको पछिल्लो उदाहरण हुन् - सञ्चारकर्ममा रहँदा वाककलाको प्रभावले लोकप्रियता हासिल गरेका र त्यसैको जगमा पार्टी खोलेर छोटै समयमा सत्ताको स्वाद चाखेका रवि लामिछाने ।

पुराना पार्टीहरुको विकल्पको रुपमा आफूलाई प्रस्तुत गर्दै राजनीतिमा होमिएका रविको उदय बिदेश गएकालाई देश फर्काउने गफबाट शुरु भएको थियो । त्यसका लागि उनले विदेशबाट फर्किने नेपालीहरुलाई आफ्नै पहलमा देशमै जागिर दिने मीठो सपनासमेत बाँडेका थिए । सोहीअनुसार केही महिनाअघि एक सय जनाका लागि विभिन्न पदमा तलबसमेत खुलाएर विज्ञापन आह्वान गरियो । 

तर,सुन्दा आकर्षक लाग्ने त्यो नारा गफमै सीमित भएको छ । रविले विदेशबाट नेपालीलाई फर्काएर देशमै रोजगारी दिन त सकेनन्  नै बिडम्बना !,अहिले स्वयं पार्टीको संगठन बनाउन विदेश दौडाहामा निस्किएका छन् । केही दिनअघि श्रीमतीसहित मलेसिया हुँदै लण्डन पुगेका उनी अहिले त्यतै नेपाली समुदायसँग चन्दा संकलनको भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन् ।

"पुराना राजनीतिक दल र नेताहरुलाई नैतिकता सिकाउने रवि आफैं राजनीतिमा पाइला सारेको एक वर्ष नपुग्दै क्रमश: नाङ्गिदै गरेको यो यौटा दृष्टान्त हो ।" 

रविको बेलायत भ्रमण र त्यहाँ हुने भनिएको एउटा कार्यक्रमको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल तातेको छ । उनको हातबाट रिबन काटेर त्यहाँको स्थानीय एक निजी सडक उद्घाटन गराउने योजनाअनुसार कार्यक्रम तय गरिएकोमा अवलोकन मात्रै गराइएपछि यसलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको छ । जानकारहरुका अनुसार बिरोधपछि पूर्वनिर्धारित कार्यक्रम नै परिवर्तन गरिएको हो ।  

सामाजिक सञ्जालमा भाइरल भएको यौटा भिडियोमा रविका पिए प्रकाश सिग्देलले भनेका छन्, 'अहिले हामी बेलायतको सिन्डन सिटीको ग्रीनविच भन्ने ठाउँको अन्नपूर्ण प्राइभेट रोडमा छौँ । यहाँ २९ वटा घर तयार भएका छन्,यो आवासीय क्षेत्र हो । यसको डिसेम्बर १० तारिखमा नेपाल सरकारका पूर्वगृहमन्त्री माननीय रवि लामिछाने, जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत हुनुहुन्छ उहाँले उद्घाटन गर्दै हुनुहुन्छ ।'

नेपाली नेताले विदेशको बाटो उद्घाटन गर्ने कुरा बाहिर आएपछि त्यसबारे चर्चा शुरु भयो । धेरैले उक्त कुरामा विश्वास गरेनन् । र,भयो पनि त्यस्तै । कतिसम्म भने सडक उद्घाटन गर्नका लागि होइन हेर्न मात्रै आएको हुँ भनेर रवि आफैँले प्रष्टीकरण दिनुपर्ने अवस्था आइलाग्यो । सो भिडियोमा उनले भनेका छन्, 'कहाँ उद्घाटन गर्ने र हामीले,विदेशमा हामीले उद्घाटन गर्न न बनाएको हो न कुनै योगदान छ हाम्रो । हामीले त गौरवान्वित महसुस गरेर अवलोकन गर्न आएको हो ।' 

रविले त्यसो भने पनि उक्त बाटो उद्घाटन गर्ने भन्दै प्रचार प्रसार व्यापक पारिएको थियो । 'देशदेखि प्रदेशसम्म सबैको मन मनमा रवि, मिशन चौरासी सफल बनाई पार्नु छ देशको उच्च छवि' लेखिएको नारामुनि दुई हात जोडेर नमस्कार गरिरहेको उनको फोटो मुनि 'अन्नपूर्ण सडक वे उद्घाटन समारोह' लेखिएको ब्यानर बनाइएको थियो ।  सडक उद्घाटनको चाँजोपाँचो मिलाउन रवि बेलायत पुग्नुअघि नै उनका स्वकीय प्रकाश सिग्देल त्यता गएका थिए ।  

पुराना राजनीतिक दल र नेताहरुलाई नैतिकता सिकाउने रवि आफैं राजनीतिमा पाइला सारेको एक वर्ष नपुग्दै क्रमश: नाङ्गिदै गरेको यो यौटा दृष्टान्त हो । त्यसैले त नागरिक तहमा टिप्पणी हुन थालेको छ - लोकप्रियतावादमा उदाएको राजनीतिक दल र त्यसले जन्माएको नेता टिकाउ हुँदैन ।

टिप्पणीहरू