राजनीतिमा यसरी पनि फेरिन्छ रंग

राजनीतिमा यसरी पनि फेरिन्छ रंग

शक्तिकेन्द्र लाग्यो भने कसरी मान्छेलाई ‘बिगारिँदो’ रहेछ भन्नका लागि वीर अस्पतालबाट गत हप्ता कार्यकारी निर्देशक सन्तोष पौडेल मन्त्रालयमा तानिएको घटना नै काफी छ । 

एवं रीतले मन्त्री फेरिँदा त आयल निगमको प्रबन्ध निर्देशक उमेश थानी पनि ‘राजनीतिक दलको सदस्य नै हो’ भन्ने आधारमा फालिन सक्ने नजिर कायम भयो । भनिन्छ, राजनीतिक नियुक्ति वा आस्थाका कारणले कुनै जिम्मेवारी पाएका व्यक्तिहरुलाई पदमुक्त गर्नका लागि यस्तो काइते बाटो अपनाइँदा ‘काल पल्किने’ खतरा बढेको छ । सन्तोष नौ महिनाअघि, अर्थात् गत वर्ष फागुनमा वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनलाई त्यहाँबाट निकालेर अरुलाई नियुक्त गर्ने भाउँतोमा लागेका मोहनबहादुर बस्नेत नेतृत्वको स्वास्थ्य मन्त्रालयले कोही व्यक्ति लगाएर उनी एमाले हुन् कि होइनन् भन्ने कुराको खोजीका लागि निर्वाचन आयोगलाई दुःख दिएको रहेछ ।

जबकि आयोगले कुनै पनि नागरिकको राजनीतिक आबद्धता भए, नभएको, भए कहाँ, कुन दलमा छ विवरण अद्यावधिक गर्ने जिम्मा पाएको छैन । निर्वाचनमा भाग लिन चाहेर दल दर्ता गरिएको स्थितिमा सम्बन्धित दलको पनि मात्रै केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको सूची ऊसँग हुन्छ । त्यसबाहेक एउटा दल दर्ताका निम्ति निश्चित संख्यामा सदस्य रहेको भनी नामावली पेश गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य मन्त्रालयद्वारा सोधिएका सन्तोष पौडेलका बारेमा ती दुईमध्ये कुनै पनि अभिलेखमा आयोगले भेट्ने कुरै भएन । त्यसमाथि कोही कर्मचारी कुनै राजनीतिक दलको सदस्य रहेछ नै भने पनि निजलाई कारवाही गर्ने अख्तियार निर्वाचन आयोगसँग छैन ।

तर, सोधखोजका लागि पुगियो त्यहीँ । निजामती सेवा नियमावली, स्वास्थ्य सेवा ऐनदखि विभिन्न विभाग, कार्यालय र निकायसम्बन्धी ऐनहरुमा कर्मचारी नियुक्तिको अयोग्यताभित्र ‘राजनीतिक दलको सदस्य रहेमा...’ वाक्यांश राखिएकै हुन्छ । त्यसैले त्यस्ता कर्मचारी यदि दलका सदस्य छन् भन्ने कुरा प्रमाणित भएमा उनीहरुकै ऐन र नियमावलीले कारवाही हुन सक्छन्, त्यसका लागि निर्वाचन आयोग धाउनु भनेको ‘नजाने गाउँको बाटो सोध्नु’ जस्तै हो । यसबीच, स्वास्थ्य मन्त्रालय मात्रै हैन, अरुले पनि निर्वाचन आयोगमा त्यस्तो ताकेता लगाए । तर, आयोगले जुन निकायबाट सोधखोज गरिएको छ, तीसँग सम्बन्धित मन्त्रालयलाई सक्कल प्रति नै पठाइदिने गरेको छ ।

जस्तो, केही प्राध्यापक राजनीतिक दलका सदस्य हुन् कि होइनन् भनेर सोधिएको एउटा पत्र आयोगले त्रिभुवन विश्वविद्यालयलाई नै पठाइदियो । सोधिएका मध्ये चार प्राध्यापक नेपाली कांग्रेसका सदस्य हुन् भन्ने पुष्टि भएपछि अख्तियारलाई लेखेर पठायो । पुष्टि नभएकाको हकमा त्रिविमा पत्राचार भयो । आयोगले अख्तियारलाई लेखिसकेपछि फेरि अर्को पत्र आयो, ‘उनीहरु पहिला राजनीतिक दलको सदस्य भए पनि अहिले हैनन्, छोडिसके’ भनेर ।

यस्तो झमेलामा निर्वाचन आयोग पर्न थालेपछि अब उसले विभिन्न राजनीतिक दललाई एउटा पत्राचार गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन, दफा १४ को २ (ग) मा कुनै पनि दलले नेपाल सरकारको संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह वा त्यसको स्वामित्व र नियन्त्रणमा रहेको कुनै पनि संस्थाको कर्मचारी सदस्य हुन नपाउने व्यवस्था भएकोले त्यस्ता व्यक्तिहरुलाई चाहिँ सदस्यता नदिनुहोला भनेर अर्थात्, पार्टीले सदस्यता दिने, नदिने कुरा अर्को हो । आयोगले चाहिँ नदिनु भनेर एकपटक औपचारिकता पूरा गर्ने बुझिएको छ ।

आयोगले गत वर्ष नै नेपाल सरकारलाई ‘यस्तो यस्तो व्यवस्था भएको हुनाले यसको कार्यान्यवन गरिदेऊ’ भनेर लेखेको थियो । त्यसपछि कतिपय कर्मचारीले कि दल छाड्ने, कि जागिर छाड्ने गर्न थाले । जस्तो कि, एमालेकै कर्मचारी नेता पुण्य ढकालले गत वर्ष जागिर छाडेर, पार्टी रोजे ।  नेपालमा पार्टी सदस्य नभएका कर्मचारी जम्मा २० प्रतिशत होलान् । यदि त्यही नाममा कर्मचारीका जागिर खाँदै जाने हो भने आधी कर्मचारी कानुन लागेर घर फर्किन्छन् । मुख्यतः कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीले आफ्ना दलमा कर्मचारीका विभिन्न कमिटी, संगठन र विभाग बनाउने गरेका छन् । 

वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोषका हकमा आयोगले एमालेसँग पत्राचार गरी सोध्यो । जवाफ आयो, ‘होइन’ भन्ने । कसैले ‘तेरो छोरो चोर हो ?’ भनेर सोध्यो । बाबुआमाले आफ्नो छोरो चोर हो नै भने पनि होइन भन्ने गर्छन् ।

स्वास्थ्यका कोही कर्मचारी वा बाहिरका मान्छेले उनलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघको महासचिव भनी उजुर हाले । आयोगले मंसिर ७ गते कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाको तर्फबाट स्वास्थ्य मन्त्रालयलाई ‘यसरी निवेदन आएको हुनाले तहाँ पठाइएको छ’ भनी उजुरीसहित पत्र लेख्यो । त्यो चिठी लिन वीर अस्पतालकै कर्मचारी युनियनका कोही मान्छे बहादुर भवन पुगेका थिए ।

उजुरीमा सन्तोषको सदस्यता क्रम संख्या भनी २००४ (जनसंगठन) उल्लेख गरिएको थियो, जसमा उनको स्थायी ठेगाना अन्नपूर्ण– ३, कास्की र राष्ट्रिय स्वास्थ्यकर्मी संघको सदस्यता नं. १४०९३६ उल्लेख छ । उनी एमाले महाधिवेशन प्रतिनिधि परिषद् सदस्य रहेको कुरा पनि उजुरीमा लेखिएको छ । सँगै उनीबारे राष्ट्रिय सतर्कता केन्द्रको पनि कात्तिक १ को पत्र रहेको छ । यति गरेर वीर अस्पतालको निर्देशकलाई फाल्ने काम भयो । उनीहरुले सतर्कता केन्द्रबाट चिठी ल्याइसकेपछि त्यही खाले चिठी चाहियो भन्दै आयोगबाट समेत चिठी लगेका हुन् । 

खासमा यो निर्वाचन आयोगले गर्ने काम नै हैन । उसको काम त निर्वाचनताका निर्वाचन कानुन उल्लंघन गरेमा कारवाही गर्नेमात्रै हो । त्यो पनि आयोगले सीधै गर्ने होइन, सम्बन्धित विभागमा विभागीय कारबाहीको लागि लेख्नुपर्ने हुन्छ । कि त सोधिएका व्यक्तिले स्थानीय, प्रदेश वा संघीय संसदको चुनाव लडेको हुनुप¥यो । सन्तोषको हकमा त्यस्तो पनि होइन । उनलाई कसरी त्यहाँबाट निकाल्ने भन्ने भाउँतोमा निर्वाचन आयोगमा उजुर ‘पारियो’ र ‘त्यहाँ उजुरी परेको देखिएको हुँदा...’ टिप्पणी लेख्नका निम्तिमात्रै काम गर्ने भयो । आयोगमा यस्ता उजुरीका चाङ छन्, सबै खोलेर हेर्ने गरिँदैन ।

कतिसम्म गरिन्छ भने कोही व्यक्ति कर्मचारी संघ, संगठनको सदस्य हुन्छन् । तिनलाई उक्त संघ वा संगठन कुन दलसँग सम्बन्धित छ भन्ने आधारमा ‘फलानो पार्टीकै सदस्य हो’ भनी किटान गर्ने गरिन्छ । कर्मचारीका ऐन, नियमावलीअनुसार शाखा अधिकृतसम्मका कर्मचारीले पेशागत संघसंस्थाको सदस्य बन्ने छुट पाएका छन् । राजनीतिक दलले तिनलाई सदस्यता दिएछन् भने पनि वास्तविक नाममा दिँदैनन् ।

जस्तो कि, कर्मचारीको नाम ‘दिनेश’ हो भने पार्टी सदस्यतामा राखिने नाम ‘रमेश’ हुन्छ । ‘रमेश’ लेखेको देख्दादेख्दै यो मान्छे ‘दिनेश’ नै हो भनेर कारवाही गर्नु भनेको प्राकृतिक न्यायको सिद्धान्तले पनि नमिल्ने कुरा हो । र, त्यसरी कारवाही गर्न थालियो भने नेपालका आधा कर्मचारी सकिन्छन् भनिन्छ । 
 
 

टिप्पणीहरू