यस्तो छ बोराभित्र भेटिएको लासको सम्भावित अनुहार, ट्याटु पनि हेरौं

यस्तो छ बोराभित्र भेटिएको लासको सम्भावित अनुहार, ट्याटु पनि हेरौं
सुन्नुहोस्

चितवनको भरतपुरमा बोराभित्र भेटिएका लासको अझै सनाखत हुन सकेको छैन । भरतपुर १२ स्थित मिलनचोकको सडक कल्भर्टमुनि गत मंसिर ६ गते जुटको बोरामा पोको पारी फ्याँकिएका महिला र पुरुषको दुईवटा लास फेला परेको थियो । केही दिन अगाडि नै अन्यत्र हत्या गरी पछि त्यहाँ ल्याएर फालेको जस्तो देखिने दुवै लास सडीगलिसकेको हालतमा भेटिएको हुँदा अनुहार चिन्न सक्ने अवस्था थिएन।

चितवन प्रहरीले उनीहरुको हुलिया र लगाएको कपडाको तस्बीर सतहत्तरै जिल्ला र सीमावर्ती भारतीय इलाकामा समेत परिपत्र गरेको थियो । लामो समयसम्म शवको पहिचान खुल्न नसकेपछि विशेषज्ञद्वारा डिजीटल्ली मनिपुलेटेड इमेज (स्केच) तयार पारिएको छ । झट्ट हेर्दा महिला पुरुष दुवै तराई मूलका जस्ता छन् । पछिल्लो समय अनुहारको स्केचसँगै महिलाको हातको ट्याटु पनि सार्वजनिक गरेर चितवन प्रहरीले सनाखतको भरमग्दुर प्रयास गरिरहेको छ  ।

 

शवको पहिचान नखुल्दा अनुसन्धानमा समस्या भइरहेको बताइन्छ । कोही कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा, कोही कसैको घर कोठामा डेरा गरी बस्ने मानिसहरु सम्पर्कमा नआएको भएमा, कुनै उद्योग, कलकारखाना, कम्पनी, पसल, कार्यालयलगायतमा काम गर्ने मानिस/कामदार वा सँगै काम गर्ने साथी संगीहरु सम्पर्कमा नआएको भएमा अथवा यस घटना सम्बन्धमा कोही कसैलाई केही जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय चितवन, प्रहरी नियन्त्रण कक्ष १०० वा ९८५५०९०१३३ वा ९८५५०९०४२२ मा जानकारी गराइदिनु हुन चितवन प्रहरीको अनुरोध छ ।

प्रहरीका अनुसार पुरुषको उचाइ ५ फिट ७ इञ्च र उमेर अन्दाजी २४/२५ वर्ष जस्तो देखिन्छ । महिलाको अन्दाजी ३०/३१ वर्ष र उचाइ ५ फिट ३ इञ्च हाराहारी छ । उनीहरु दुवै श्याम वर्ण र मझौला शरीरका हुन् । ठूलो निधार भएको र दाहिने नाडीमा रातो, पहेंलो पूजाको डोरो बाँधेका पुरुषले सुपर ड्राइ लेखिएको नीलो रंगको कट्टु, ड्युरो ८० डबल लेखिएको कलेजी रंगको पेन्टी र रुपा फ्रन्टलाइन साइज ८० सीएम लेखिएको सेतो रंगको सेन्डो लगाएका थिए ।

 

महिलाको पनि दाहिने हातमा रातो पहेंलो रंगको पूजाको डोरो थियो । एकापट्टी दुर्गामाता र अर्काेपट्टि मन्दिर जस्तो देखिने फोटो भएको रातो डोरोसहितको माला पनि उनले लगाएकी थिइन् । बायाँ गोडामा कालो रंगको डोरो बाँधिएको थियो । कानमा झुम्का लगाएकी थिइन् । हातखुट्टामा गुलाबी रंगको नेलपोलिस लगाएकी उनले एल आकारको प्याजी रंगको लेगिन्ज (सुरुवाल), ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको टप्स लगाएकी थिइन् । महिलाको पेन्टी रातोकलेजी रंगको थियो । सेतो बुट्टा भएको पहेंलो रंगको ब्रा अनि रातो पहेंलो रंग मिसिएको सल पनि महिलाको शरीरमा थियो । महिलाको बायाँ हातमा एस स्पष्ट लेखिएको र त्यसपछिको अक्षर ए, एम वा वाइ जस्तो देखिने अस्पष्ट अक्षरको र चित्र आकार समेत भएको ट्याटु छ ।

टिप्पणीहरू