सहकारीमा खटपट, पैसाजति सञ्चालकले लटपट

सहकारीमा खटपट, पैसाजति सञ्चालकले लटपट

अचेल जताततै सहकारीको खेलो छ । शहर–बजारतिर व्यापारिक क्षेत्रहरुमा झन् चोक–चोक र गल्लीपिच्छे खुलेका छन् सहकारी । ठ्याक्कै व्यापार–व्यवसाय जस्तो ! त्यसमाथि ठगी ! अब त सहकारीको नाम सुनेरै डराउनुपर्ने भएको छ । सबै सहकारीमा आँखा चिम्लेर पैसा हाल्न हुने अवस्था छैन । सदस्यहरुले दुःख गरी कमाएर अलिअलि होला कि भनी जम्मा गरेको बचत तथा लगानी लटपट पारेर सञ्चालकहरु टाप कसेका घटना बग्रेल्ती छन् । 

भरतपुर–३ स्थित नेपाल सहकारी वित्तीय संस्था लि. का अध्यक्ष बसन्तमोहन अधिकारी अझै भेटिएका छैनन् । सहकारीको लगभग तीन करोड रुपैयाँ ठगेर बसन्त १३/१४ महिनादेखि बेपत्ता छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा ठगी मुद्दा छ । तर अहिलेसम्म बसन्त पक्राउ नपर्दा पीडित उजुरकर्ताहरु प्रहरीसँग असन्तुष्ट छन् । प्रहरी पनि हैरान छ । लोग्ने–स्वास्नीको झगडादेखि लिएर अनेकौं मुद्दा कार्यालयमा आउँछन् । सहकारीको ठगी पनि एक–दुईवटाको भए पो !

नेपाल सहकारी वित्तीय संस्था लि. का केन्द्रीय कोषाध्यक्ष लोकनाथ गौतम र नारायणगढ शाखा संयोजक बसन्तमोहन अधिकारी मिलेर झण्डै आठ करोड रुपैयाँ हिनामिना गरेको देखिन्छ, जसमा कोषाध्यक्ष गौतम समातिए र आफूले तिर्नुपर्ने रकम मिलाएर उनी उतिबेलै उम्किए । गौतम अहिले अमेरिकामा रहेको गाइँगुइँ भरतपुरतिर छ । भरतपुरकै त्रिचोकमा घर भएका बसन्तमोहन अधिकारी भने यतै लुक्दै हिँडिरहेको सुनिन्छ । हालै केही अघिमात्र उनलाई कसैले देवघाटतिर देखेको भने । त्यसअघि चनौलीमा गुम्बामा बसेको भन्ने पनि सुनियो । 

नारायणगढको हिमालयन बैंकनिर छोराको व्यवसाय छ । श्रीमती घरमै छिन् । फरार भइसकेपछि मोबाइलमा श्रीमान्–श्रीमतीको टिकटकसमेत देखेको भन्नेहरु छन् । श्रीमती वा घरकाले मेरो मान्छे÷श्रीमान हरायो भनेर प्रहरीमा उजुरबाजुर पनि गरेका छैनन् । बरु उल्टै पैसा फसेर सोधखोजका लागि घरमा आएकाहरुलाई नै अधिकारी परिवारले प्रहरीमा मुद्दा हालेको बुझिएको छ । सहकारीको रकम रु. दुई करोड ८१ लाख ८५ हजार गोलमाल पारी लुकीलुकी, भागीभागी हिँडेका बसन्तमोहनले व्यक्तिगत सापटी पनि थुप्रैको तिर्नुछ । बुझिएअनुसार नारायणगढमा २०७८ असोजबाट शाखा सञ्चालन गरिएको यस नेपाल सहकारी वित्तीय संस्था लि. विनोद चौधरीका भाइ बसन्त चौधरीहरुले चलाएको संस्था हो । हेडअफिस काठमाडौंको बानेश्वरमा छ । 

संस्थाको रकम लटपटाएर सञ्चालकहरु लापता हुने सहकारीमध्ये नारायणगढकै सनराइज बचत तथा ऋण सहकारीमा त तालाचाबी नै लागेको छ । भरतपुरकै वडा नं. १० स्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको पनि १३ जना विरुद्ध ठगी मुद्दा चलेकोमा अध्यक्ष केदारनाथ शर्मा, उनकै श्रीमती गीता शर्मा, पुष्कर मल्ल र अमिशराज भण्डारी गरी चारजना कारागारमा र अन्य फरार रहेको बताइन्छ ।

शिवशिखरको चितवनमा मात्रै रु. ९३ करोड जति हिनामिना भएको देखिन्छ, देशभरि त १६ अर्बको अपचालन रहेको प्रहरी स्रोतले जनायो । भरतपुरकै मुना बचत तथा ऋण सहकारी, परिचय बचत तथा ऋण सहकारीमा पनि यस्तै आर्थिक अनियमितताको लफडा पाइएको छ । भरतपुरको सहारा चितवन नामको सहकारीमा पनि झमेला छ । यसैगरी ना.गढकै समाजकल्याण सहकारी पनि डुबेर निक्षेपकर्ताहरु समस्यामा परेको बुझिन आएको छ । गत बुधबार नारायणगढमा भेटिएका मास्के पुस्तक भण्डारका कामदार भन्दै थिए, ‘हाम्रो साहुको पनि ५–७ वटा सहकारीले पैसा खाइदिए । अहिले त खोज्नै छोडिदियौं ।’

– अजय गोर्खाली        

 

टिप्पणीहरू